अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा


बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबारै जापानको ओसाका पुगेका छन् । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरूका बीचमा मतान्तर कायम रहेकै समयमा विश्वका ती औद्योगिक राष्ट्रहरूको उक्त समूहको सम्मेलन शुरु भएको हो ।

जापानी प्रधानमन्त्री आबेले यस सम्मेलनका लागि जापान पुग्ने विभिन्न देशका नेताहरूलाई स्वागत गरेका छन् । नेताहरू हिजोदेखि नै जापान पुग्ने क्रम जारी छ । यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्दाहरू, महिला सशक्तीकरण तथा स्वास्थ्यका साथै विविध विषयहरूमा छलफल हुने बताइएको छ ।

यसका साथै सम्मेलनको पूर्वसन्ध्यामा विश्वबजारमा दुई मुलुक चीन र अमेरिकाबीचको करसम्बन्धी विवाद कायमै रहेकोले यसबारे वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ ।

त्यसैगरी विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएकोले यसबारे ती दुई देशलाई वार्ताको माध्यमबाट समस्या सुल्झाउन विश्वका नेताहरूले सुझाव दिने अपेक्षा पनि गरिएको छ । यस जी–२० सम्मेलनमा औपचारिक सम्झौता हुने सम्भावना भने नरहेको अधिकारीहरू बताउँछन् । उनीहरूले दुबै मुलुकबीच जारी व्यापार वार्तासमेत केही समयदेखि अवरुद्ध रहेकाले यस विषयले गति लिन सक्ने अनुमान गरिएको बताएका छन् ।

समसामयिक विश्वका विषय जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ । विश्वका शक्तिसम्पन्न र औद्योगिक राष्ट्रहरू नै यस समूहका सदस्य रहेकोले जी–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ ।

त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ । सो सम्मेलनको पहिलो दिन मन्तव्य राख्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू पछिल्लो समयमा विश्वमा उठेको व्यापारिक विवादबाट गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।

उनले यसै सम्मेलनबाट स्वतन्त्र तथा भेदभावरहित व्यापारका लागि वातावरण सिर्जना भएको सन्देश जानुपर्ने आफ्नो धारणा रहेको बताएका थिए । सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि जापान पुगेका छन् । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए ।

अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरू देशहरूलाई पनि असर पारिरहेको बताइन्छ । त्यसैले जी–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ । जी–२० को शिखर सम्मेलनमा सहभागी नेताहरूले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरू व्यक्त गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापान प्रस्थान गर्नुअघि बिहीबार अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै अमेरिकी बजार खुम्चिएको र यसबाट चीनको अर्थतन्त्रमा पनि गिरावट आएको दाबी गरेका थिए । जापानी प्रधानमन्त्री आबेले विश्व अर्थतन्त्रका लागि पनि यिनै जी–२० का राष्ट्रहरू बढी जिम्मेवार हुनुपर्ने अवस्था रहेको भन्दै यसका लागि सबै नेताहरूलाई असल र सौहार्द औद्योगिक तथा व्यापारिक वातावरण निर्माण गर्न सबै नीतिहरू अपनाउन आह्वान गरे ।

उनले विश्वमा व्यापारिक वातावरणको निर्माण गर्न, विश्व व्यापार संगठनमा सुधार गर्न र अहिलेको असहज परिस्थितिको छिटो निराकरण गर्न आफूले नेताहरूसँग वार्ता गर्ने पनि बताए ।

यस समूहमा विश्वका औद्योगिक राष्ट्रहरू र युरोपेली युनियन सदस्य रहेका छन् । विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरू समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो ।

समूहमा अर्जेटिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् ।

रासस–एएफपी