छेकिएनन् यिनीहरू -बबिता बस्नेत

छेकिएनन् यिनीहरू -बबिता बस्नेत


एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको समाचार सुनेपछि हाम्रा एक साथी उनकी श्रीमतीले एक्कासि ला…अब के हुन्छ ? भनेको सुनेर छक्कै परेछन् । कहिल्यै राजनीतिमा चासो नराख्ने श्रीमती झस्किएको देखेर उनले अचम्म मान्दै सोधेछन्, किन ? त्यस्तो अनौठो के भयो र ? श्रीमतीले भनिछन्, प्रधानमन्त्रीले राजीनामामा दिएपछि ऊर्जामन्त्री गोकर्ण विष्ट पनि त हट्छन् होला नि ! प्रधानमन्त्री फेरिएपछि अब के होला ? या संविधानको यात्रा पुनः अवरुद्ध होला कि भन्ने नभएर ऊर्जामन्त्री गोकर्ण विष्ट हटेपछि फेरि लोडसेडिङको समय बढ्ला कि ? विद्युत् चुहावटमा रोक, बिजुलीको पैसा नतिर्नेको लाइन काट्ने कार्यलगायत उनले सुरु गरेका सुधारोन्मुख कामहरू अब कसले अघि बढाउला ? भनेर उनलाई पीर परेको रहेछ । नितान्त गृहणीबाट पाएको यसप्रकारको प्रतिक्रिया मन्त्री विष्टका लागि आफू पदमा हुँदा गरेको कामको सफलताको सूचक हो । यो मुलुकमा बिजुलीमन्त्री धेरै भए, विद्युत् प्राधिकरणलाई दुहुनो गाई बनाए, विद्यु्त उत्पादन गर्न चाहनेहरूबाट कसरी बढीभन्दा बढी पैसा असुल्न सकिन्छ भनेर सम्बन्धित कर्मचारीका सुझाबअनुरूप काम गरे, पैसा कमाए, केही समयका लागि नै सही आफन्तलाई जागिरको बन्दोबस्त गरे, धेरै गरे जे गरे आफ्ना लागि गरे । तर, इतिहासकै असफल प्रधानमन्त्री (अहिलेसम्मका, भोलि अरू पनि हुन सक्छन्) झलनाथ खनालको कार्यकालमा एकजना यस्ता मन्त्री देखापरे जसले यो मुलुकमा गरे त पक्कै केही हुन्छ भन्ने कुरा प्रमाणित गरे । ऊर्जामन्त्रीको जिम्मेवारी पाएकै दिन हिंसात्मक जत्थाबाट आक्रमणको सिकार बनेका गोकर्ण विष्टले आफ्ना लागि नभएर मुलुक र जनताका लागि सोचिदिँदा सम्बन्धित क्षेत्रमा परिवर्तन सुरु भएको थियो । धेरै मानिसको मुखमा अहिले गोकर्णको नाम छ, उनी मन्त्री पदबाट हट्दाको चिन्ता छ, शायद कुनै मन्त्री पदबाट हट्दा जनस्तरमा यति धेरै चासो र माया पाउने मन्त्री पनि उनै हुन् । नत्र हाम्रो मुलुकमा मन्त्री पद यति सस्तो भइसक्यो कि को आयो, को गयो भन्ने कुरासँग मानिसलाई मतलब नै हुन छोडिसकेको छ ।
कहिलेकाहीँ नसोचेको कुरा हुन्छ, माओवादी नेता कृष्ण महराको सवालमा त्यस्तै भएको थियो । सुरुमा माओवादीले गृह मन्त्रालय लियो भने प्रलय नै हुन्छ झैं गरिएको थियो, गृह मन्त्रालयकै कारण लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेन । माओवादीले सुरक्षाक्षेत्रलाई व्यापक दुरुपयोग गर्न सक्ने ठानी विभिन्न प्रतिक्रियाहरू उत्पन्न भएका थिए । तर, महराको कार्यकालमा दुरुपयोग नभएर सुधारका केही कामहरू भए । खर्च घटाउने, पूर्वमन्त्रीहरूले सुविधामा लिएका गाडी फिर्ता गर्नेलगायतका कामहरू धमाधम हुँदै मात्र के थिए, मन्त्रिमण्डलबाट उनी आफैं बाहिरिनुपर्ने वातावरण बन्यो । आफ्नो कार्यकालमा नेता महराले प्रहरीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुराका लागि लामो समयदेखि प्रतीक्षा गरिएको प्रहरी आयोगको गठन गर्ने सम्भावना थियो तर ती सब काम हुन पाएनन् । त्यसप्रकारको आयोग बन्न सकेको भए, प्रहरीको सरुवा, नियुक्ति, बढुवालगायतका कुराहरूले गृहमन्त्रीको खल्तीबाट मुक्ति पाउने थिए । महराले गृह मन्त्रालयमा एउटा छुट्टै प्रणालीको विकास गर्न खोजे पनि उनकै दलका अर्का नेता नारायणकाजी श्रेष्ठले भने त्यसलाई निरन्तरता दिन सकेनन् । सम्बन्धित ठाउँमा एक वर्ष पनि काम गर्न नदिएर डीआईजीहरूलाई यताबाट उता, उताबाट यता पारिएको छ । अचम्म त के छ भने आफैंले गरेको सरुवालाई लिएर गृहमन्त्रीले आफू सन्तुष्ट नभएको र आफूमाथि दबाब आएको बताएका छन् । गृहमन्त्रीलाई प्रहरी अधिकृतको सरुवा गर्न कहाँबाट दबाब आयो होला ? त्यो भने बुझ्न सकिएको छैन । पहिला भए सीधै दरबारबाट होला भन्ने अर्थ लगाइन्थ्यो, अहिले त खै कहाँबाट आयो होला र ? मन्त्रीको कुरालाई जनताले खासै पत्याएका छैनन्, शायद आफ्नै पार्टीबाट दबाब आयो होला, सर्वसाधारणको बुझाइ यस्तै छ ।
भनिन्छ, नेपाल सतीले सरापेको देश हो । काजी भीम मल्लकी श्रीमतीले आफू सती जानुअघि ‘यो मुलुकमा भलो गर्नेहरूको कहिल्यै राम्रो नहोस्’ भनेर श्राप दिएकी थिइन् रे । काजी भीम मल्ल तिब्बतसँगको लडाइँ जितेर नेपालीको शिर उच्च बनाएपछि वडो गर्वका साथ काठ्माडौं खाल्डोमा फर्किएर राजालाई भेट्न जाँदै गर्दा बाटोमै मारिएका थिए । आफ्नो जीतको कुरा सुनेर राजा कति खुसी होलान्, कति मान-सम्मान देलान् भनेर सोच्दै अधिर भएर राजालाई भेट्न घोडा चढेर जाँदै गर्दा उता राजालाई कसैले भीम मल्लले तिब्बत जितेर अब आफू राजा हुनका लागि हजुरलाई मार्न आउँदै छ भनेर लगाइदिएपछि राजाले तत्काल उनलाई मार्ने आदेश दिएका थिए । आफ्नो पतिले मुलुकका लागि राम्रो काम गर्दा मारिनुपरेको पीडाले सती जानुअघि भीम मल्लकी पत्नीले ‘यो देशमा भलो गर्नेको राम्रो नहोस्’ भनेर श्राप दिएकी थिइन् रे । त्यसैले हाम्रो देशलाई सतीले सरापेको देश भनिन्छ । विभिन्न सन्दर्भलाई हेर्दा यो कुरा सहीजस्तो पनि लाग्छ । इतिहासका पात्रहरूतर्फ नगई अहिलेकै सन्दर्भको कुरा गरौँ, माओवादी भए पनि कृष्णबहादुर महराले केही राम्रो गर्न खोजेका थिए, उनी गृहमन्त्रीका रूपमा लामो समय टिक्न सकेनन्, ऊर्जामन्त्रीका रूपमा गोकर्ण विष्टले सुधारका अनेक कार्य सुरु गरेका थिए, मन्त्रिमण्डल नै परिवर्तनको सङ्घारमा पुग्यो, भोलि उनी पुनः त्यही ठाउँमा आउलान्-नआउलान् यसै भन्न सकिन्न । काठमाडौंको अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि डीआईजी विज्ञानराज शर्माले जथाभावी पार्क गर्नेलाई जरिवानादेखि लिएर सुधारका विभिन्न कार्यहरू गरेर ट्याक्सी, माइक्रो तथा अन्य सवारीसाधनका चालकहरूबाट गाली खाए पनि जनस्तरमा प्रशंसा कमाउँदै थिए उनलाई अठात सरुवा गरियो । न्यूनतम एक वर्षका लागि ट्राफिक प्रमुख भएर खटिएका डीआईजी शर्माले जम्मा आठ महिना मात्रै काम गर्न पाए । उनले आफूले गरेको राम्रो कामको सजाय गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट पाए । राजधानीको ट्राफिक व्यवस्थापन सुधारका लागि थप खाकाहरू बनाएको कुरा उनले सञ्चारमाध्यमलाई बताएका थिए, केही समय पाएको भए उनका ती सपनाले मूर्तरूप प्राप्त गर्ने थिए । जुन कुरा अहिले राजधानीको सडक प्रयोग गर्ने आमनेपालीको चाहनासँग जोडिने थियो । तर, सर्वसाधारणको चाहना र आवश्यकतासँग राजनीतिक नेतृत्वको सरोकार हुने कुरै भएन, विज्ञान शर्माको विषयलाई लिएर अहिले मानिसहरू भनिरहेका छन्- सरकारले पुरस्कृत गर्नुपर्नेमा काम गर्नका लागि केही समयसमेत दिएन । यी प्रसङ्गहरूबाट बुझ्न सकिन्छ, मानिसले प्राप्त गर्ने पदभन्दा त्यो पदमा बसेर काम गर्ने मानिसको ‘भिजन’, प्रतिबद्धता र इमानदारीचाहिँ महत्त्वपूर्ण रहेछ ।