बिहेमा दुई अर्ब भारु खर्च, निम्तालु ओसार्न हेलिकोप्टरको प्रयोग

बिहेमा दुई अर्ब भारु खर्च, निम्तालु ओसार्न हेलिकोप्टरको प्रयोग


भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरूका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

जोशीमठ नगर निगमका सफाइ कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो । गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए । निकै भव्य रूपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन आदेश दिएको एएनआईले जनाएको छ ।

विवाह समारोहमा मुख्य मन्त्रीहरू, नायिका कट्रिना कैफ, योगगुरु बाबा रामदेवसमेतका विशिष्ट पाहुना सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुईघन्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिका लागि हेलिकोप्टरको समेत व्यवस्था गरिएको थियो ।