शैक्षिक विस्तार र पर्यटकीय स्थल निर्माण गर्न महायज्ञ

शैक्षिक विस्तार र पर्यटकीय स्थल निर्माण गर्न महायज्ञ


उत्तरी मकवानपुरको थाहा नगरपालिका–२ फाँटबजारस्थित मत्स्यनारायण माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन तथा पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसर धार्मिक पर्यटकीय स्थल निर्माणको लागि श्रीमद्भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ लगाइने भएको छ । विद्यालय र पाथीभरा क्षेत्र विकास समितिको संयुक्त आयोजनामा उक्त सप्ताह विराट ज्ञानमहायज्ञ हुने भएको हो ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ढकालका अनुसार मत्स्यनारायण माविमा कक्षा ११ र १२ का साथै प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ लगाउन लागेको हो । कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरी आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृमोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मूल समितिका संयोजक नवराज विष्टको भनाइ छ ।

साथै, स्थानीय स्तरमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न, प्राचिन कला, सँस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न समेत संयुक्त रूपमा महायज्ञ गर्न थालेको पाथीभरा क्षेत्रविकास समितिका अध्यक्ष माधव कार्कीले बताए ।

२०७६ असार १९ गते देखि २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन हुनेछ । महमयज्ञ मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा सञ्चालन हुनेछ ।

महायज्ञमा १ हजार १ सय ११ ओटा शालिग्राम दर्शन गर्न सकिने छ । साथै, आयेजकका अनुसार नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।