सिरहा र सप्तरीमा पाँच प्रतिशत रोपाइँ

सिरहा र सप्तरीमा पाँच प्रतिशत रोपाइँ


सिरहा र सप्तरीमा करिब पाँच प्रतिशत जग्गामा मात्र रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएका कारण ती दुवै जिल्लाका ९५ प्रतिशत जग्गामा अझै रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा नभएको तथा सिँंचाइको सुविधासमेत नभएका कारण हालसम्म करिब पाँच प्रतिशत जग्गामा मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा रोपाइँ हुन सकेको केन्द्रका प्रमुख भगीरथ यादवले जानकारी दिए ।

असारको १५ सम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे प्रतीक्षामा छन् ।

यस्तै कृषि मजदुरको अभावमा पनि वर्षेनी धानखेती प्रभावित हँुदै आएको छ । एकातिर सिँचाइको अभाव अर्काेतिर आवश्यकताअनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । सिरहा र सप्तरीमा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

सिरहामा कुल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टरमध्ये ६० हजार ७५७ हेक्टरमा धान खेती हुँदै आएको छ । सप्तरीमा भने कुल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।