केयूका उपकुलपति, रजिस्ट्रार र डिनको कार्यालयमा तालाबन्दी

केयूका उपकुलपति, रजिस्ट्रार र डिनको कार्यालयमा तालाबन्दी


धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति, रजिस्ट्रार र डिनका दुईवटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज संघले उपकुलपति र रजिस्ट्रार तथा गत बिहीबार स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका डिनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो ।

संघका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निक्लन आग्रह गर्दै आइतबार मध्याह्न १२ बजे तालाबन्दी गरेका हुन् । उपकुलपति प्रा.डा. रामकण्ठ माकाजू श्रेष्ठ संघले तालाबन्दी गर्नु दुई मिनेटअघि आफ्नो कार्यकक्षबाट बाहिरिका थिए । काठमाडौं विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैं छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको संका अध्यक्ष डा वेदमणि दाहालले जानकारी दिए । संघ पदाधिकारी तथा केही कर्मचारीले हिजोदेखि विश्वविद्यालयमा सञ्चालित परीक्षासमेत बहिष्कार गरेका छन् ।

काठमाडौं विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार–अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत संगठनलाई मान्यता दिई विश्वविद्यालय संगठनात्मक ढाँचामा समावेश गर्नेलगायतका विषयमा विश्वविद्यालय प्रशासनसँग सम्झौता भएको संघले जनाएको छ ।

यही साउन १७ गते संघसँग छलफलका क्रममा रजिस्ट्रार डा. सुबोध शर्माले छलफल गरी १० दिनभित्र कार्यकारी परिषदमा प्राध्यापक प्रतिनिधि छनोट गर्ने आश्वासन दिएको तर सोही दिन अर्का व्यक्तिलाई छनोट गरेकाले संघलाई बेवास्ता गरेपछि विरोधस्वरूप तालाबन्दी गरेको डा. दाहालले बताए ।

साथै संघले यही साउन २३ गते विज्ञप्ति जारी गरी विश्वविद्यालयमा हुने सबै प्रकारका परीक्षामा सहभागी नहुन संघमा आबद्ध प्राध्यापक तथा कर्मचारीलाई आग्रह गरेको छ । ‘हामीले परीक्षा सञ्चालन समिति र विश्वविद्यालय प्रशासनलाई तोकिएको मितिमा परीक्षा सञ्चालन गर्न तालाबन्दी गर्नुअघि नै वैकल्पिक व्यवस्था गर्न भनिसकेका छौँ,’ संघका महासचिव अध्यक्ष डा. विकास अधिकारीले भने ।

स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका डिनले प्राध्यापक र कर्मचारीमाथि दबाबमूलक परिस्थिति सिर्जना गर्नु सार्वजनिक पदको दुरुपयोग भएको संघले जिकिर गरेको छ । सम्बन्धित डिनले परिषद सदस्य छनोटका विषयमा सार्वजनिक रूपमा प्रस्ट नपारेसम्म र माथि उल्लिखित सार्वजनिक पदको दुरुपयोगका विषयमा माफी नमागेसम्म तालाबन्दी जारी रहने संघले जनाएको छ ।

स्कुल अफ साइन्सका डिन एवं विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्राडा कन्हैया झाले आफूहरूले प्राध्यापक र कर्मचारीलाई कुनै पनि विषयमा दबाब नदिएको बताए । उनले सम्झौता गरेका विषय कार्यान्वयन गराउने सम्बन्धमा छलफल गरी समस्या समाधान गर्न प्राध्यापक संघका पदाधिकारीसँग आग्रह गर्दै आएको पनि जानकारी दिए । उनले भने, ‘ऐेन त विश्वविद्यालय प्रशासनले परिवर्तन गर्न सक्दैन, तर अन्य विषयमा छलफल गर्न प्रशासन तयार नै छ ।’

विश्वविद्यालयमा आइतबार उपकुलपति र रजिस्ट्रारको कार्यालयमा कर्मचारीसमेतलाई बाहिर निकाली तालाबन्दी गर्दै विभिन्न संकायका सेमेस्टर परीक्षा सञ्चालन भइरहँदा संघका प्राध्यापक र कर्मचारी संलग्न नहुनु गलत भएको डा. झाले बताए । उनका अनुसार विश्वविद्यालयमा शनिबारदेखि सेमेस्टर परीक्षा सञ्चालन भइरहेको छ ।

रासस