अदालतले ‘सेल्फी’ नठान्दा देखियो अर्कै सङ्केत

अदालतले ‘सेल्फी’ नठान्दा देखियो अर्कै सङ्केत


सञ्चारकर्मी रवि लामिछानेविरुद्ध षड्यन्त्र भएको सङ्केत चितवन जिल्ला अदालतले रविलाई जमानत लिई रिहा गर्ने आदेशमा उल्लिखित व्यहोराले दिएको छ । आदेशमा लेखिएको छ, ‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना वृद्ध बाबुआमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चात्ताप बोध गरी क्षमायाचना गर्दै प्रणाम दण्डवत् गरेको देखिने अवस्थाले सो भिडियो निज आफैँले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन ।’

आदेशमा अगाडि भनिएको छ, ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’

अदालतले यसरी स्पष्ट रूपमा शालिकरामको ‘सुसाइड भिडियो’ अर्कै कसैले रेकर्ड गरेको देखिन्छ भनिसकेपछि उक्त घटना आत्महत्या नभएर हत्या हुन सक्ने सङ्केत मिलेको छ । शालिकराम पुडासैनीलाई आतङ्कित बनाउँदै उक्त भिडियो कसले रेकर्ड ग¥यो ? यदि ती व्यक्ति नै हत्यारा थिएनन् भने शालिकरामलाई बचाउने प्रयास तिनले किन गरेनन् र समयमै प्रहरीलाई खबर किन गरिएन ? हत्यालाई आत्महत्या पुष्टि गर्न प्रहरीबाट जुनस्तरको प्रयास भयो, यो हत्या पनि हुन सक्छ भन्नेतर्फ समयमै किन अनुसन्धान सोझिएन ? प्रहरी नियन्त्रणमा रहेको भिडियो कुन उद्देश्यले सार्वजनिक गरियो र रवि लामिछानेलाई पक्राउ गर्न किन ज्यादा उत्साह देखाइयो भन्नेलगायतका प्रश्नहरूमा विचरण गर्ने हो भने शालिकरामको आत्महत्या नभई हत्या नै भएको भन्ने सङ्केत गर्दछ ।

हत्या गर्नुअघि रवि लामिछानेका कारण आत्महत्या गर्नुपऱ्यो भन्ने व्यहोराको भिडियो रेकर्ड गराउने र सो भिडियो सार्वजनिक गरी हत्याराहरूले आफ्नोअनुकूल र रविको प्रतिकूल वातावरण बनाउने प्रयास गरेको देखिन्छ । नेपाल प्रहरी अपराध अनुसन्धानमा राम्रो मानिन्छ र प्रहरीले साँच्चै चाह्यो भने हत्यारासम्म पुग्न उसलाई धेरै समय लाग्ने देखिँदैन । शालिकरामले भिडियो आफैँले नखिचेको ठहर हुनेबित्तिकै त्यहाँ अन्य व्यक्ति संलग्न भएको स्पष्ट हुन्छ र भिडियो रेकर्ड गर्ने व्यक्ति नै हत्यारा या हत्याराहरूको मतियार भएको स्वतः बुझ्न सकिन्छ ।

भिडियोमा देखिएको शालिकरामको मुखाकृति तथा भावको मनोवैज्ञानिकहरूद्वारा विश्लेषण गराउने, भिडियो खिच्ने व्यक्तिहरूको पहिचान गर्ने र होटेल सञ्चालकलाई समेत अनुसन्धानको दायरामा ल्याउने हो भने घटनाको रहस्य खुल्न मुस्किल देखिँदैन । तर, ठूलै शक्तिकेन्द्रको प्रायोजनमा यो घटना भएको हो भने अनुसन्धान राम्रोसँग गर्दै नगरीकन घटनालाई त्यत्तिकै बिर्साउँदै लगिने सम्भावना छ ।