राजपालाई विलय गराउने उपेन्द्रको प्रयास असफल

राजपालाई विलय गराउने उपेन्द्रको प्रयास असफल


राष्ट्रिय जनता पार्टी (राजपा)लाई फोरम उर्फ समाजवादी पार्टीमा विलय गराउन उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेको प्रयास असफल भएको छ ।

जातीयता र क्षेत्रीयताको भावना भड्काउन प्रयत्नशील देखिने यादव– भट्टराईको टोली जातिवाद र क्षेत्रीयतावादमा विश्वास गर्ने सबै समूह तथा व्यक्तिलाई एउटै मोर्चामा ल्याउन प्रयत्नशील रहँदै आएको छ ।

मधेसकेन्द्रित राजनीतिमा क्रियाशीलमध्ये बलियो मानिने राजपालाई आफ्नो समूहमा विलय गराउन सक्दा आगामी निर्वाचनपछि शक्तिशाली बन्ने विश्वासका साथ केही समययता यादव र भट्टराईले निकै ठूलो कसरत गर्दै आएका थिए । उनीहरूले महेन्द्र यादव, राजेन्द्र महतो र शरत्सिंह भण्डारीलाई आफ्नो पक्षमा मिलाई पनि सकेका थिए । तर, राजपा अध्यक्ष राजकिशोर यादव र नेता महन्थ ठाकुरका कारण उपेन्द्र यादवको रणनीति असफल भएको छ ।

देशलाई जातिवाद र क्षेत्रीयतावादभन्दा माथि उठाउनुपर्छ भन्ने अडानमा रहेका राजकिशोर यादव र नेता महन्थले पार्टी विलय गराउन नमानेपछि अन्ततः राजेन्द्र महतो, महेन्द्र यादव र शरत्सिंह भण्डारीको टोेली निराश बनेको बताइन्छ । राजकिशोरले कसैलाई राजपामा बस्नु छैन भने पार्टी फुटाएर जानु भन्दै चुनौती दिएको, तर पार्टी विभाजन गर्न सक्ने स्थिति नभएकोले महतो र भण्डारी अन्ततः राजपाकै पक्षमा उभिन बाध्य भएका छन् ।

प्रतिनिधिसभामा १८ सदस्य रहेको राजपालाई विलय गराएर आगामी निर्वाचनमा जाने र मुलुकको तेस्रो ठूलो एवम् निर्णायक दल समाजवादी बन्ने सपना यादव र भट्टराईले देखेको बुझिन्छ । त्यस्तो अवस्थामा दुई ठूला मानिएका दलहरूसँग समदूरीमा रही बार्गेनिङ गर्ने र देशको प्रधानमन्त्री नै बन्ने योजना उपेन्द्र यादवको हो । तर, राजपाले आफ्नो अडान नछोडेपछि उपेन्द्र र बाबुरामको सपना चकनाचुर हुन पुगेको छ ।

यसअघि अध्यक्ष राजकिशोर यादव, नेता महन्थ ठाकुर र अनिल झा एकातिर तथा राजेन्द्र महतो, शरत्सिंह भण्डारी र महेन्द्र यादव अर्कोतिर हुन पुगेका थिए । यस प्रकरणमा राजकिशोर यादवले उपेन्द्र यादवलाई आफ्नो हैसियत राम्रैसँग देखाइदिएका छन् ।