रेन्जर गण खारेजी प्रस्तावभित्र गम्भीर षड्यन्त्र !

रेन्जर गण खारेजी प्रस्तावभित्र गम्भीर षड्यन्त्र !


राजनीतिक दलका नेताहरूले नेपाली सेनाको रेन्जर गण खारेज गर्ने प्रलाप गर्न थालेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालको पालामा पुष्पकमल दाहालले नेपाली सेनाको सङ्गठनमा खेल खेल्न धेरै प्रयास गरे तर सकेनन् । कतै नेपाली सेना कमजोर त भएको होइन ?

वि.सं. २०७६ भदौ ९ गते नेपाली सेनाको रेन्जर गण खारेज गर्ने या सेनाको/देशको विरोधमा बोल्ने आँट कहाँबाट आयो ? नेपाली सेनामा खेल खेल्नकै लागि माओवादीले एमालेसँग एकता गरेको रहेछ, अब प्रस्ट भइरहेको छ । पूर्वमाओवादीका अध्यक्ष दाहालले जुन काम आफूले गर्न सकेनन्, त्यसलाई एमालेका प्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र ईश्वर पोखरेल आदि जस्ता पात्रहरूबाट गराउन खोजेको देखिन्छ । नेपाली सेनाको सङ्गठनमा कदापि आँच आउन नदिनका लागि राष्ट्रवादी नागरिकहरू अब एकजुट हुन जरुरी छ ।

सांसद वा नेताहरूले आज नेपाली सेनाको सङ्गठनको रेन्जर गण हटाउने भन्लान्, भोलि भैरवनाथ गण हटाउने भनिन्छ र पर्सि देवी–देवताहरूको नामबाट राखिएको गुल्म, गण र पृतनाको नाम सबै हटाउने भनेर निर्णय गर्लान्, यिनीहरूको कुनै ठेगान छैन । किनकि, मुलुकमा धर्मनिरपेक्ष गर्ने बेला केही एमालेका नेताको प्रयोग गरी झुक्याएर देशलाई जबर्जस्ती धर्मनिरपेक्ष घोषणा गरेका हुन् ।

नेपाली सेना भनेको मुलुकको खम्बा, प्रतीक र धरोहर हो । यसकारण नेपाली सेनाको सङ्गठनलाई चलाउने दुस्साहस कसैले नगरेको बेस हुनेछ । नेपाली सेनाको सङ्गठनलाई कमजोर बनाउनेबित्तिकै मुलुकको स्वाधीनता, अखण्डता र राष्ट्रियता समाप्त हुन्छ भन्ने कुरा सम्पूर्ण नेपाली नागरिकहरूले बुझ्न जरुरी छ ।

सांसदहरू र राजनीतिक दलका नेताहरूले काम पाउँदैनन् कि ? फुर्सदमा छन् क्या हो ? कहिले गुठीजस्ता धर्म, संस्कार र संस्कृति मेटाउन खोजेका छन्, कहिले ज्ञानेन्द्र शाहीलाई मार्न खोजेका छन्, कहिले रवि लामिछानेलाई फसाउन खोजेका छन्, कहिले सेनाको रेन्जर गण खारेज गर्नुपर्छ भन्छन्, अब हुँदाहुँदै फेरि नेपाली सेनाको सङ्गठनभित्र हात हाल्न लागे नेपाली सेनालाई पनि हेपेकै छन् ?

प्रधानसेनापति रुक्मांगद कटवालको पालादेखि नै राजनीनिक दलका नेताहरूले नेपाली सेनाको सङ्गठनलाई सिध्याउन धेरै प्रयास गरेका हुन् । हालसम्म मुलुक जोगिनुमा नेपाली सेनाहरू नै बाधक भएकोले नेपाली सेनालाई जिस्काईजिस्काई नेपाली सेनाको सङ्गठनलाई बिस्तारैबिस्तारै सखाप पार्ने रणनीति हो । नेपाली सेना होसियार होसियार होसियार !

विगतमा देशभरका सशस्त्र प्रहरीको सङ्गठनको गुल्म, गण र बाहिनीको नाम देवी–देवताको नामबाट राखिएको थियो । राजनीतिक दलका सांसदहरू र नेताहरूले सशस्त्र प्रहरीको सङ्गठनमा राखिएको देवी–देवताको नामसमेत हटाए । अब नेपाली सेनाभित्र चलखेल गरिँदै छ ।

वास्तवमा नेपाली सेनाको सङ्गठनमा रहेको रेन्जर गणको महत्व यति छ कि यसलाई खारेजी होइन बरु यस्तै गुल्म, गण र पृतनाहरू थप गर्नुपर्छ । अति गर्नु अत्याचार नगर्नु भन्ने नेपालीमा उखान छ । ०५२ सालदेखि त अति नै भयो, हुँदाहुँदा आफ्नै राष्ट्र सिध्याउन नेता भनाउँदाहरूले ‘रेन्जर गण खारेज गर्नुपर्छ’सम्म भन्न थाले । के सुनिरहेको, सोचिरहेको र हेरिरहेको छ नेपाली सेना ? बोल र आवश्यक एक्सन लेऊ ।

■ राकेशकुमार शर्मा
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२