स्तरोन्नति र सुधारको चरणमा गोरुसिङे-सन्धिखर्क सडक

स्तरोन्नति र सुधारको चरणमा गोरुसिङे-सन्धिखर्क सडक


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

लामो समयदेखि अलपत्र अवस्थामा रहेको अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने गोरुसिङे–सन्धिखर्क सडक यतिबेला स्तरोन्नतिको क्रममा रहेको छ । महेन्द्रराजमार्गको गोरुसिङ चोकदेखि ६८ किलोमिटर लम्बाई रहेको यो सडकको ११ किलोमिटर खण्ड कपिलवस्तुमा पर्दछ । कपिलवस्तु र अर्घाखाँचीको सीमानामा रहेको पत्थरकोटदेखि ५७ किलोमिटर पहाडी यात्राबाट सदरमुकाम सन्धिखर्क पुग्न सकिन्छ ।
२०३७ सालदेखि कच्ची बाटो सञ्चालनमा आएको यो सडकखण्ड सडक विभाग तौलिहवा शाखा, गोरुसिङे–सन्धिखर्क सडक योजना ठाडा, गोरुसिङे–सन्धिखर्क सडक योजना कार्यालय गोरुसिङे, पश्चिमान्चल डिभिजन सडक कार्यालय नं ५ शिवपुर हुँदै हाल सडक डिभिजन, शिवपुर कपिलवस्तुको मातहतमा रहेको छ ।

विश्व बैकको सहयोगमा आजभन्दा एकदशक अगाडि यो सडकमा पाइलट योजनाका रूपमा वोटासिल कालोपत्रे गरिएको भएपनि यातायातको चापलाई मध्यनजर गरी मोड सुधार र सडक चौडा गर्ने कार्यहरू अघि बढेका छन् । सदरमुकाम सन्धिखर्क आवतजावत गर्ने यो महत्वपूर्ण सडकबाट अनुमतीविना जथाभावी शाखा सडकहरू खोलिनाले सडकमा खाल्डाखुल्डी मात्र नभई कालोपत्रेलाई समेत नकारात्मक प्रभाव पारेको सडक डिभिजन, शिवपुर कपिलवस्तुका डिभिजन प्रमुख ईश्वर बहादुर रिजालको भनाई छ ।

डिभिजन प्रमुख रिजालका अनुसार यो सडकखण्डबाट शाखा सडक खोलिनु हुँदैन भन्ने आसय नभई सडक खोल्नुपूर्व सम्बन्धित सरोकारवालाले सडक डिभिजन कार्यालयसँग अनुमति लिएमा दुवै पक्षलाई असर नपर्ने गरी विभागले मार्गनिर्देशन गर्नेछ । कपिलवस्तुको गोरुसिङे चोकदेखि साढे ६ किलोमिटर सडकलाई चौडा गरिसकिएको यो सडकखण्डको पत्थरकोटदेखि ठाडाबजारसम्मको करिव २५ किलोमिटर सडकमा रहेका अप्ठ्यारा घुम्टीहरू फराकिला भइसकेका छन् ।

साथै पत्थरकोटदेखि पिडापानीसम्मको सडक चौडा गर्ने लक्ष्यका साथ निर्माणाधीन अवस्थामा रहेको छ । यो सडकको यात्राबाट ठाडामा रहेको मनमोहक डम्मरु दह अवलोकन गर्न सकिनुको अलावा सुपामा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गर्न सकिन्छ । सुपादेउरालीमा आउने भक्तजनहरूको चापलाई व्यवस्थित गर्न केही समय पहिला सुपादेउराली मन्दिर अगाडी सडक चौडा गरिनुको साथै करिव १० किलोमिटर सडकलाई रि–सिलिङ गरिसकिएको छ । कुनै समय, पक्की पुलको अभावमा सास्ती खेप्नु परेको सुपाखोलामा पक्की पूल निर्माण भई सञ्चालनमा आएयता आवतजावत गर्नेहरुका लागि सहज भए पनि जिल्लाको नरपानी देखि सन्धिखर्क बजारसम्मको सडकलाई जतिसक्दो चाँडो स्तरोन्नति गर्नेतर्फ सडक डिभिजन, शिवपुर कपिलवस्तुले विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

ढिलोचाँडो दोहोरो यातायात चल्ने गरी निर्माणा कार्यलाई तदारुकताका साथ अघि बढाइएको यो सडकखण्डको मध्यभागदेखि दुवैतर्फ १५–१५ मिटर छाडेर पक्की संरचना बनाएमा भविष्यमा फेरि स्तरोन्नतिसम्बन्धी कुनै झमेला ब्यहोर्नु नपर्ने सम्बद्ध जानिफकारहरूको धारणा रहेको छ ।