विद्युत कार्यालयको दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

विद्युत कार्यालयको दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु


सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार मध्येरातको समयमा सेउतीपुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको गाडी अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १६ बस्ने ४९ वर्षीय सुमन आचार्यको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरानमा) राति १२ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सवारीचालक राई विद्युत् वितरण केन्द्र धरानको करार चालक कर्मचारी रहेको र सुमन आचार्य धरान विद्युत्त वितरण केन्द्रको हेल्परको रुपमा कार्यरत रहेको बताइएको छ ।

त्यस्तै, घाइते धरान उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय पवन राई विद्युत् वितरण केन्द्र धरानको करारको कर्मचारी रहेका र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ । तीव्र गतिका कारण सवारी दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।