पाकिस्तानमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

पाकिस्तानमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो


पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी आएको मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका एएफपीले जनाएको छ ।

मंगलबार (७ असोज) अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तानप्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति पुगेको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत उक्त भूकम्पको झड्का महशुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । मिरपूरबाट करिब २२ किलोमिटरमा रहेको ग्रामिण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु रहेको मिरपुरमा सबैभन्दा बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख गरिएको छ । भूकम्प र त्यसपछि पराकम्पन आउनसक्ने भयका कारण हजारौँ पाकिस्तानीहरू घर छोडेर खुला आकासमुनि सडक र खाली जमिनमा बसेका छन् । भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूलाई क्षति पुगेको छ ।