पाकिस्तानमा भूकम्पमा परी मृत्यु हुने २८ पुगे

पाकिस्तानमा भूकम्पमा परी मृत्यु हुने २८ पुगे


पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको प्रहरीले बताएको छ ।

भूकम्पका कारण कम्तीमा ४ सय ७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चारमाध्यमले बुधबार बिहान जनाएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको थियो ।

मंगलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित कस्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्पको झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) विभागले जनाएको छ ।