सुरक्षित निर्वाचनको लागि हवाई आक्रमण

सुरक्षित निर्वाचनको लागि हवाई आक्रमण


अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् । घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको बताइएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान र फार्याब प्रान्तमा मङ्गलबार राति आक्रमण भएको एक सैनिक प्रवक्ताले बुधबार जनाएका छन् ।

सेनाका उत्तरी क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार तालिवान लडाकूहरुले अखडा बनाएर राखेको थाहा पाएर सुरक्षाकर्मीहरुले ती ठाउँमा आक्रमण गरेका हुन् ।

सारी पुलको क्वाशक्वारी क्षेत्र, फर्याबको क्वारामक्वाल जिल्ला र जावज्वान प्रान्तको गार्डानमा सुरक्षा कारबाही गरिएको हो ।

सैन्य अधिकारीहरुका अनुसार आक्रमणमा परी ५० भन्दा बढी लडाकूहरु घाइते भएका छन् भने सुरक्षाकर्मी र आम नागरिकतर्फ कोही घाइते भएका छैनन् ।

अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा अवस्थालाई मजबुद गराउने उद्देश्यले सुरक्षा कारबाही आक्रामक गराइएको जनाइएको छ ।