चीनले सञ्चालनमा ल्यायो विश्वकै ठूलो विमानस्थल

चीनले सञ्चालनमा ल्यायो विश्वकै ठूलो विमानस्थल


सबभन्दा ठूलो हाइड्रो प्रोजेक्ट, सबभन्दा लामो पुललगायत विभिन्न भव्य निर्माणका लागि संसारभर चर्चामा रहेको चीनले फेरि यस्तै अर्को विशाल निर्माण कार्य सम्पन्न गरेर विश्वलाई नै चकित तुल्याएको छ ।

कम्युनिस्ट शासनको ७० वर्ष पूरा भएको अवसरमा चीनले एक चामत्कारिक विमानस्थल सञ्चालनमा ल्याएको छ । बेइजिङमा बुधबार उदघाटन गरिएको दाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको छ ।

जम्मा पाँच वर्ष अवधिमा निर्माण सम्पन्न भएको दाक्सिङ विमानस्थलको राष्ट्रपति सी जीनपिङले बुधबार (८ असोज) औपचारिक रूपमा उद्घाटन गर्दै सञ्चालन शुभारम्भ भएको घोषणा गरेका हुन् ।

उक्त विमानस्थल बेइजिङबाट ४६ किलोमिटरको दूरीमा दाक्सिङमा अवस्थित छ । करिव ७ लाख वर्ग मिटरमा बनेको उक्त विमानस्थल सय वटा फुटबल मैदानबराबर एरियामा फैलिएको छ । यो विमानस्थलको निर्माणमा चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

उदघाटनकै दिन घरेलु तथा अन्तर्राष्ट्रिय एयरलाइन्सका विमानहरूले सो विमानस्थलमा उडान शुरु गरेका छन् । आकृतिका दृष्टिले अन्तरिक्ष यान जस्तो देखिने उक्त विमानस्थलमा वर्षेनी १० करोड यात्रुले आवतजावत गर्ने अनुमान गरिएको छ । विमानस्थलमा घरेलु र अन्तर्राष्ट्रिय यात्रीको लागि भिन्नाभिन्दै टर्मिनल निर्माण गरिनुको साथै आकर्षक बँगैचालगायतको व्यवस्था गरिएको छ ।

यो विमानस्थलको टर्मिनलतल एउटा टे्रन स्टेशन र मेट्रो लाइन पनि छ, जसले यात्रीलाई केवल २० मिनेटमा मुख्य शहरको केन्द्रसम्म पुऱ्याउन सक्छ । यो विमानस्थलमा सन २०४० सम्ममा आठ रन वे सुरु गरिने योजना छ ।

दाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन ब्रिटिस वास्तुकार जाहा हदीदले तयार पारेका हुन् । हदिदको सन २०१६ मा मृत्यु भैसकेको छ ।