ह्याकरद्वारा एयरबस कम्पनीमाथि शृंखलाबद्ध साइबर आक्रमण

ह्याकरद्वारा एयरबस कम्पनीमाथि शृंखलाबद्ध साइबर आक्रमण


युरोपको भीमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरूले शृंखलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए ।

एयरबसका सुरक्षा विज्ञहरूका अनुसार आक्रमणकारी चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङबारे अनुसन्धानरत दुईजना सुरक्षाविज्ञले एयरबसमाथि १२ महिनाको अवधिमा चारपटक आक्रमणको प्रयास भएको बताएका छन् ।

तर, एयरबसको सुरक्षा प्रबन्ध निकै शक्तिशाली र अद्यावधिक रहेका कारण ह्याकर कम्पनीको मुख्य प्रणालीमा प्रवेश गर्न नसकेको एयरबसले जनाएको छ । एयरबसले आममानिसका लागि विमान निर्माण गर्नुका साथै सैनिक प्रयोजनका सामग्री पनि बनाउने गर्दछ ।

ह्याकरले पछिल्लो समय बेलायती इन्जिन निर्माता रोल्स–रोयस र फ्रान्सेली प्रविधि कन्सल्टेन्सी एक्स्प्लेओमाथि साइबर आक्रमण गर्ने प्रयत्न पनि गरेका थिए । एएफपीका अनुसार एयरबसका निम्ति कार्य गर्ने दुईवटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो ।

हवाई सुरक्षासँग सम्बन्धित बुस्टएरोस्पेस कम्पनीका विशेषज्ञ रोमाइन बोटानले साइबर आक्रमणकारीले एयरबसको कम्प्युटर प्रणालीको कमजोर हिस्सा पहिचान गरी मुख्य प्रणालीमा प्रवेश गर्न चाहेको बताए ।

‘ठूला कम्पनीको सुरक्षा प्रबन्ध निकै राम्रो हुन्छ र त्यसलाई सहजै तोड्न सकिन्न । त्यसैले ठूला कम्पनीकै साना साना हिस्साभित्र आक्रमणकारी छिर्ने प्रयत्न गरिरहेका हुन्छन्,’ उनले भने ।