अशोक राईले दिए सरकार छोड्ने चेतावनी

अशोक राईले दिए सरकार छोड्ने चेतावनी


■ सुरज घिमिरे, बुटवल

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।

बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता राईले आफ्नो पार्टीले पूर्वमाओवादीले उठाएका अपूरा एजेण्डाहरु पूरा गर्न संविधान संशोधनको माग गरिँरहँदा पनि सरकार मौन बसेको आरोप लगाउँदै संविधान संशोधनमा आलटाल गरी अल्मल्याइरहने हो भने आफ्नो पार्टीले सरकार छाड्ने चेतावनी दिए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचानसहितको संघीयता लगायतका विषयहरु संविधानमा संशोधन गरेर पूरा गरिनु पर्छ भनेर प्रधानमन्त्री ओलीसँग लिखित सहमति गरेर आफ्नो पार्टी सरकारमा गएको उनले स्मरण गराए ।

वर्तमान सरकार परिपक्क नदेखिएको आरोप लगाउँदै नेता राईले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेक स्वीकार्य नभएको र सरकारले राज्यनियन्त्रित प्रेस बनाउन खोजेको आरोप समेत लगाए ।

राईले जनताको चाहनाअनुकूल सरकार सञ्चालन हुन नसकेको भन्दै गणतन्त्र पक्षधरको आलोचना गरी हिँडेका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएकोप्रति नेता राईले विरोध जनाए। भ्रष्टाचार, घुसखोरी यो सरकारका पालामा बढेको भन्दै उनले त्यो नरोकिँदा जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी दिए ।

उनले आफ्नो पार्टी सरकारमा रहेको भए पनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव पटकपटक विदेश भ्रमण गएको कुरामा आलोचना हुन थालेपछि यसको विरोध नगर्न उनले आग्रह गरे । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका राईले मन्त्रीहरु विदेश भ्रमणमा जानु आवश्यक रहेको तर्क गर्दै आलोचना नगर्न आग्रह गरेका हुन्।

स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार अमेरिका गएका छन् ।