बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने

बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने


भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान भर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

कोलकाता उडान शुरु गरेको ६ महिनामै रु. १० करोडभन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मंसिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको संख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको संघारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने व्यवस्थापक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटीआर ७२–५०० विमानबाट काठमाडौं–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।
rss