दीपराज दक्षिण एसियाकै विशिष्ट

दीपराज दक्षिण एसियाकै विशिष्ट


विश्व तेक्वान्दो महासङ्घ कोरियाले नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ मुख्य प्रशिक्षक दीपराज गुरुङलाई तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय निर्णायकको विशिष्ट श्रेणीमा हालै बढुवा गरेको छ । विश्व महासङ्घ तेक्वान्दोमा जम्मा दुई सय राष्ट्र छन् । तीमध्ये ताइवान तीन, हङकङ दुई, इरान एक, कोरिया तेह्र, मेलेसिया दुई, नेपाल एक, सिङ्गापुर एक, फ्रान्स एक, जर्मनी एक, इटाली एक, नेदरल्यान्ड एक, र्टर्की एक, रसिया एक, क्यानडा तीन, मेक्सिको दुई, पानामा एक, अमेरिका आठ, लिबिया दुई, इजिप्ट दुई र अस्टे्रलिया एक विशिष्ट प्रशिक्षक रहेका छन् । हालसम्म विश्वका २० राष्ट्रका ४८ जना मात्र विशिष्ट श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक रहेका छन । ती विशिष्ट प्रशिक्षकमध्ये गुरुङ ३१ नम्बरमा परेका छन् ।
वरिष्ठ मुख्य प्रशिक्षक गुरुङ दक्षिण एसियामा एक मात्र विशिष्ट श्रेणीको अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक बन्न सफल भएका छन् । तेक्वान्दो खेलमा अन्तर्राष्ट्रिय निर्णायकलाई विशेष महत्त्वका साथ हेरिने गरिन्छ । तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय खेलको वर्गीकरण ‘पी’ श्रेणीबाट सुरुवात भई तेस्रो, चौथो प्रथम श्रेणी र विशिष्ट श्रेणी अन्तिम श्रेणीमा रहेको छ । विशिष्ट श्रेणी हुनका लागि नियमित रूपमा लगातार उत्तीर्ण हुँदै गएमा करिब ३५ वर्ष लाग्छ । यो अवधिमा विश्व तेक्वान्दो महासङ्घको मापडण्डअनुरूप विभिन्न परीक्षा र सेमिनारमा उत्तीर्ण हुनुका साथै विभिन्न बृहत् अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिकाको अनुभव र तोकेको मापडण्ड र समयावधिसमेत पार गर्दै जानुपर्ने प्रावधान रहेको छ । गुरुङको बढुवापछि मुलुकको तेक्वान्दो खेलको विकासमा अझ टेवा पुग्ने विश्वास गरिएको छ । गुरुङको बढुवा तेक्वान्दो खेलसँग मात्र सम्बन्ध नरही आमनेपाली र देशकै लागि गर्वको कुरा भएको तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले बताएका छन् ।

विश्वविद्यालयको नेतृत्वमा ओझा
विश्वविद्यालय खेलकुद सङ्घ नेपालको अध्यक्षमा खगेन्द्रप्रसाद ओझा चार वर्षका लागि निर्विरोध चुनिएका छन् । हालै सम्पन्न भएको सङ्घको पहिलो साधारणसभाले ओझाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको थियो । उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षमा प्रदीप जोशी -टेकराज) तथा उपाध्यक्षहरूमा डा. ज्ञानेन्द्र पौडेल, डा. लालमणि पाण्डे, डा. कन्हैया झा, सानु घले तथा विनय भट्टराईलाई चुनेको थियो । त्यस्तै पूर्णसिंह बोहोराले महासचिव, दीपक विष्टले सचिव तथा अजिता शर्माले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । नवनिर्वाचित कार्यसमिति सदस्यमा उदयकिशोर तिवारी, धर्मराज ओझा, डा. ध्रुवप्रसाद गौचन, विमला शर्मा तथा देवराज पनेरु सदस्यमा चयन भएका थिए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य देवकुमार लामाले उद्घाटन गरेका थिए । पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत एवम् खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।

मिसन साग- २०१२, खेलाडीका लागि कार्यशाला
भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद
-साग) लाई मध्यनजर राखी सञ्चालन गरिएको मिसन साग- २०१२, विशेष प्रशिक्षणमा सहभागीलाई लक्षित गरी खुराक, पौष्टिक आहार, स्पोर्टस् साइकोलोजीलगायत विविध पक्षबारे जानकारी गराउने उद्देश्यले हालै कार्यशाला आयोजना गरिएको छ । डाइट, न्युटि्रसन एन्ड स्पोर्टस् साइकोलोजी फर एथलेटिक्स विषयक एकदिने कार्यशाला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भएको थियो ।
१२औँ सागको पूर्वतयारीलाई लक्षित गरी राखेपले भदौ २२ गते ‘मिसन साग- २०१२’ विशेष प्रशिक्षणको घोषणा गरेको थियो । एकवर्षे उक्त विशेष प्रशिक्षण खेलकुदको इतिहासमै सबैभन्दा लामो समयको प्रशिक्षण हो । पहिलो सत्रमा राखेप सदस्य-सचिव युवराज लामाले परम्परागत प्रशिक्षणको अन्त्य गरी वैज्ञानिक प्रशिक्षण विधिमा जोड दिई शारीरिक रूपमा मात्र नभई मानसिक हिसाबले खेलाडीलाई प्रतिस्पर्धाका लागि तयार गर्न आवश्यक रहेकोले कार्यशालाको आयोजना गरिएको बताउनुभयो । लामाले आवश्यकताको सिद्धान्तअनुसार विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई अझ कसरी दक्ष बनाउन सकिन्छ भन्नेमा छलफल गरी अगाडि बढ्ने बताउनुभएको थियो । उहाँले प्रशिक्षणमा सहभागीलाई राष्ट्रलाई सम्झेर मिसन साग- २०१२ लाई सफल बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यसअघि सदस्य-सचिव लामाले आठ खेलका प्रशिक्षकलाई प्राथमिक उपचारका सामग्री हस्तान्तरण गर्नुभएको थियो । सुनील राजवंशी र दिवाकरलाल अमात्यले खेलाडीको खुराकका बारेमा जानकारी गराउनुभएको थियो ।
निलेन्द्रराज श्रेष्ठले मानसिक प्रशिक्षणका बारेमा प्रकाश पार्दै मानसिक प्रशिक्षणले खेलाडीको प्रदर्शनमा धेरै सुधार ल्याउन मद्दत पुग्ने बताउनुभएको थियो । उहाँले यस्तो कार्यशाला पहिलोपटक आयोजना गरेकोमा राखेपप्रति आभार व्यक्त गर्नुभयो । त्यस्तै डा. सरोजकृष्ण श्रेष्ठले डोपिङका बारेमा अवगत गराउँदै डोपिङ संवेदनशील विषय भएको हुँदा खेलाडीले औषधि सेवन गर्दा डाक्टरको सल्लाह लिएर मात्र सेवन गर्नुपर्ने बताउनुभयो । डा. सुदर्शन नरसिंह प्रधानले स्पोर्टस् साइकोलोजीका विषयमा अवगत गराउनुभएको थियो ।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भोलिदेखि
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजना भोलि बिहीबारदेखि शुभारम्भ हुँदै छ । असोज ५ गतेदेखि सात गतेसम्म दशरथ रंगशालाको कवर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा १३ राष्ट्रले सहभागिता जनाएका छन् । जसमा आयोजक नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, भुटान, काजिकिस्तान, दक्षिण कोरिया, मलेसिया, हङकङ, क्यानडा, संयुक्त राज्य अमेरिका र अस्ट्रेलिया रहेका छन् ।
नेपालमा पहिलोपटक आयोजना हुने यस अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यो च्याम्पियनसिपमा नेपालले पुरुष र महिलातर्फका सबै तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । एक सय ६० पुरुष र एक सय २० जना महिला खेलाडीले सहभागिता जनाउने यो प्रतियोगितामा नेपालका १४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ ताराकुमार रायमाझी, रोहित तामाङ, सुजन जोशी, आशिष महर्जन, अनोज पुजारी, दीपेन्द्र थापा, बद्रीनाथ बस्नेत र राम गिरी रहेका छन् भने महिलातर्फ यामकुमारी चौलागाईं, अप्सरा कार्की, आयशा शाक्य, ज्ञानी चुनारा, प्रतिज्ञा भण्डारी र मनिता शाही छन् ।
प्रतियोगिताबारे प्रतिक्रिया दिँदै तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले यो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप समग्र तेक्वान्दो खेलको विकासका लागि कोसेढुङ्गा सावित हुने बताएका थिए । राणाले पहिलोपटक सङ्घले यति महत्त्वपूर्ण प्रतियोगिताको आयोजना गर्न गइरहेको बताउँदै यो प्रतियोगितामा नेपाली खेलाडीको अग्निपरीक्षा हुनेसमेत बताएका थिए । वर्तमान अवस्थामा प्रतियोगितालाई सफलताको मूर्तरूप दिन सङ्घका पदाधिकारी दिनरात खटेर लागेको र प्रायः सम्पूर्ण तयारी भइसकेको बताएका थिए ।