गणतन्त्रका सहोदर दाजुभाइ -बद्रीनरसिंह केसी

गणतन्त्रका सहोदर दाजुभाइ -बद्रीनरसिंह केसी


अर्को हिंसात्मक द्वन्द्वका लक्षण पार्टीहरूमार्फत सतहमा देखापर्दै छन् । तीन ठूला दलभित्र यसैको रिहर्सल भइरहेको छ । नेपाली काङ्ग्रेसमा भ्रातृ सङ्गठन विघटन गर्ने/नगर्ने सवालमा शेरबहादुर देउवा पक्षबाट विमलेन्द्र निधिले हालै पार्टी सभापति सुशील कोइरालालाई उनकै निवासमा पार्टी फुटाउन लागेको आरोप लगाउँदै ‘तँ-तँ र म-म’ को तहमा दुर्व्यवहार गरेको, एमालेमा माधव-केपी गुट र झलनाथ गुट बनेर ‘तँ-तँ र म-म’कै स्तरमा फुटका सम्पूर्ण गतिविधि गरिसकेको र माओवादीमा वैद्यपक्षले आफ्नै सरकारलाई ‘राष्ट्रघाती सम्झौतामा घुँडा टेकेर बनाएको सरकार’ भन्दै सत्ता बहिस्कार र आन्तरिक द्वन्द्वलाई तीव्र बनाइसकेका छन् ।
गत जेठको अन्त्यतिर भएको माओवादी बैठकमा वैद्यपक्षले प्रचण्डलाई लगाएका १८ बुँदामध्येका तीनवटा आरोप, ‘प्रधान अन्तर्विरोध भारतीय विस्तारवादको दलाल पुँजीपति वर्गसँग भनिए पनि व्यवहारमा त्यसको बिलकुल कार्यान्वयन नगरिएको (तेस्रो बुँदा)’, ‘संयुक्त मोर्चा- वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूसँग गर्ने भनिए पनि व्यवहारमा भारतीय विस्तारवादपरस्त र तिनका दलाल वर्गसँगको सहकार्यमा जोड दिने गरेको (पाँचौँ बुँदा),’ र ‘पार्टीको अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई निषेध गरेको र वर्ग-दुश्मन- विशेषगरी भारतीय विस्तारवादी खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिएको (सोह्रौँ बुँदा) ले प्रचण्डलाई भारतीय दलालको रूपमा किटानी आरोप लगाएकोबाट र्छलङ्ग भइसकेको छ । विगतमा प्रचण्डले अन्य पार्टी र बाबुराम भट्टराईलाई जुन आरोप लगाउँथे, ती आरोप अहिले उनैतिर आफ्ना ‘गुरु कमरेड’ले भिराइदिएका छन् । पार्टीहरूभित्रको अन्तहीन कचिङ्गल सैद्धान्तिक होइन, जुँगाको लडाइँ हो र सामन्ती चरित्रको विशेषता हो । जसरी हुन्छ आफूमात्र बलियो बनूँ, मेरो एकछत्र राज चलोस्, नियम, नैतिकता र अनुशासन मलाई नलागोस् भन्ने प्रवृत्ति सामन्ती रूप हो । ठूला पार्टीहरूमा यो प्रवृत्ति गणतन्त्रको एक भाइ भइसकेको छ ।
राजा ज्ञानेन्द्रलाई ‘एक्लै हिँड्न खोजेको’ भनी आरोप लगाउने पार्टीहरू नै आज एक्लै हिँड्ने अचाक्ली रुचि देखाइरहेका छन् । ‘नयाँ नेपाल बनाउने’ ‘क्रान्तिकारी’ भनाउँदा पार्टीहरू जस्तोसुकै फोहोरी सम्झौता पनि गर्छन् भन्ने प्रमाण मधेसी मोर्चासँग माओवादीले गरेको चारबुँदे तमसुक हो । ठूलो गणतन्त्रवादी पार्टी भनिएको माओवादीसमेत सामन्ती चरित्रको सत्तालिप्साबाट कति ग्रसित भइसकेको रहेछ त । राष्ट्रहितविपरीतको यस्तो सम्झौता ‘गणतन्त्र’को अर्को विशेषता हो ।
आपैले ‘गर्ने’ भनेर बारम्बार प्रतिबद्धता जनाए पनि पूरा नगर्ने आवारा शैली पनि गणतन्त्रकै दाजुभाइ हो । कामै नगरी पालिने अखडा र राज्यदोहनको बहानामात्र बनेको छ संविधानसभा । गणतन्त्रको यो पनि सहोदर दाजुभाइ हो ।
आँट गर्नेले जे गरे पनि हुन्छ भन्ने आपराधिक मान्यता समाजमा व्यापारीको भेषमा, उद्योगीको अवतारमा, ब्युरोक्रेट्सको झाँकीमा, नेताको बहुरङ्गी चेहरा र चरित्रमा, रक्षकले भक्षक भएको यथार्थमा र शिक्षकले विद्यार्थी बर्बाद गरेको रूपमा प्रकट भइरहेको छ । राजनीति सडिएको हुनाले सडिएको खानेकुरा, विषादी हालेको तरकारी, फोहोरी पानी, मिति सकिएको र नक्कली औषधि खाने बाध्यता आइलागेको हो । अपराधका निम्ति आँट र आँटिलालाई नेताको आड गणतन्त्रको विशेषता हो ।
गणतन्त्रको सबभन्दा जेठो दाजु राष्ट्रियताविरुद्धको षड्यन्त्र हो । राष्ट्रका प्रत्येक खम्बा ढाल्दै जाने यो षड्यन्त्रअन्तर्गत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई बद्नाम गर्ने, सालिक ढाल्ने, नेपाली भाषालाई विवादमा घिसार्ने, राष्ट्रिय पोसाकलाई उपेक्षा, तिरस्कार र अवमूल्यन गर्ने, राष्ट्रिय झन्डा जलाउने तथा झन्डा फेने बकवास गर्ने इत्यादि सारा हर्कत गणतन्त्रका चर्तीकला हुन् । नेपाली सेनाको सुसङ्गठन र व्यावसायिक छवि ध्वस्त बनाउने यतिबेला ठूलो गणतान्त्रिक षड्यन्त्र चलिरहेको छ । बाहिर हेर्दा लोकतान्त्रिक गणतन्त्र, भित्रभित्रै राष्ट्रघाती षड्यन्त्र नै यसको सक्कली अनुहार हो ।
प्रधानमन्त्री बाबुराम भट्टराई अमेरिका (राष्ट्रसङ्घ) जाने दिन नै मुलुकमा भुँइचालो आउनु एउटा दुःखद् संयोग हो, तर बुद्धिजीवीहरूले यसलाई ठूलो अपशकुन मानेका छन् । जसरी २०४५ सालको ५, भदौ महिनाको ५, गतेको ५ र बिहानको ५ बजे गएको यस्तै शक्तिशाली भुइँचालोले मरिचमानको पञ्च सरकार र पञ्चायतमा भुइँचालो ल्याएको थियो । त्यही वर्षको चैत १० गतेदेखि भारतले नेपालमा नाकाबन्दी लगाएपछि के-के भयो, भन्नु नपर्ला । परिस्थिति त्यस्तै आउन लागेको सङ्केतका रूपमा आइतबारको भुइँचालोलाई लिए बुद्धिमानी नै होला ।