माओवादी नेतृत्वको सरकार गठनका लागि छलफल

माओवादी नेतृत्वको सरकार गठनका लागि छलफल


काठ्मान्डौ – एकिकृत नेकपा माओवादीले आफ्नो नेतृत्वको सरकार गठनका लागि छलफल तीब्र पारेको छ। साथै एमाले नेतृत्वको सरकार बाहिर रहेका दश साना दलहरुले आज माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन नगर्ने जनाएको माओवादीले साना १० दलसँग छलफल गरेको छ। १० दलले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको बाबुराम भट्टराईले बताए।

‘बैठकमा सहभागी दलहरुले माओवादीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्’, बैठकपछि भट्टराईले भने- ‘गणतन्त्र र संघीयताको पक्षमा वकालत गर्नेलाई सहमति दिने कुरा भयो। यो धर्म निरपेक्षता, संघीयता र जनतन्त्रका पक्षधरको एउटा मोर्चा हो’ उनले भने, ‘यसले माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमा जोड दिएको छ ।’

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा सहभागी थिए

गणतन्त्र, संघीयताको पक्षमा वकलात गर्दै आएका साना १० दलले सहमतिको सरकार गठनको समयमा पनि माओवादीलाई समर्थन गर्ने जनाएका थिए।

माओवादीले आइतवार नै मधेसवादी चार दलसंग छलफल गर्दैछ । मधेसवादी दलहरुसंग यसअघि काँग्रेसले छलफल गरेको थियो । -मेस