धर्मका व्यापारीहरू र सनातन संस्कृति

धर्मका व्यापारीहरू र सनातन संस्कृति


■ स्वयम्भुनाथ कार्की

मुलुक धर्मनिरपेक्ष भएदेखि हिन्दू, हिन्दुत्व आदिका नाममा धर्मका व्यापारीहरू फस्टाएका छन् । हिन्दू अधिराज्यमा यो विकृति पटक्कै थिएन भन्ने दाबी होइन । विजारोपण त हिन्दू अधिराज्यको अन्तिम प्रहरतिर नै भएको हो । धर्मको विश्वासबाट सोच्दा सम्भवत यही ‘पाप’ले नेपाल र नेपालीले कष्ट भोग्नुपरेको हो । यो कुरालाई यसरी भन्दै गर्दा कति महानुभावहरूको मुख चिलाइसकेको होला, अन्धविश्वासी कुरा गरेको भन्न । तर, रोचक कुरा के छ भने ती मुख चिलाउने महिला तथा सत्जनवृन्दहरूले आफ्नो घरमा ‘वास्तु’ मिलाउन वास्तुविज्ञसँग सल्लाह गर्नुभएको होला शुल्क तिरेर । कति बिरालोले बाटो काटेमा अर्को नजाउञ्जेल रोकिएर बस्नु पनि भएको होला । कति धर्मव्यापारीहरूको आयोजनमा दान दिएर मान पाउन लामबद्ध हुनुभएको होला ।

हो, अन्धविश्वास भनेको यो हो । पङ्क्तिकारको सोचमा सम्भवतः अन्धविश्वासको लेस मात्रा होला । तर, यो अन्धविश्वासले समाजलाई कुबाटो लाग्नबाट रोक्छ । श्री पशुपतिनाथ पुजारी काण्डपछि केही साथीहरूले निराशा व्यक्त गरेका थिए । श्री पशुपति धामजस्तो ठाउँमा जथाभावी गर्नेलाई केही भएन, खै त कुकर्मको सजाय ? एक प्राध्यापक साथीले भरोसा र विश्वासपूर्वक भन्नुभयो, ‘श्री पशुपतिनाथ सजाय दिन आफैं त्रिशूल लिएर आउने होइन । केही न केही ‘निमित्त’ बन्छ । हेर्नुहोला, प्रचण्डले भोग्नुपर्छ, माओवादीको अस्तित्व समाप्त हुन्छ ।’ बहुमतले सरकार बनाएको, जनतामा व्यापक प्रभाव भएको माओवादीलाई केही होला भन्ने कल्पनासम्म दुभर थियो त्यो बेला । तर, उहाँको यो अटल विश्वास खेर गएन ।

कटुवाल काण्डमा घुर्कीको रूपमा दिएको राजीनामा अनपेक्षित रूपमा स्वीकार भयो । त्यसपछि नभन्दै माओवादीको प्रभाव सकिँदै गयो । वर्तमानमा त्यो पार्टी नै छैन । नेकपा (नेकपा)मा विलय भए पनि रोड्याई (रोइलो) गरेर आफ्नो भूतपूर्व पार्टीको निमित्त स्थान लिनुमा सीमित हुनुपरेको छ । जसले विद्रोहमा काँधमा काँध गरेर साथ दियो त्यसले नै उनीहरूविरुद्ध हतियार उठाएको छ । पद, शक्ति र पैसाको अभाव नदेखिए पनि मानसिक अशान्तिको छटपटाहट अब प्रस्ट देखिन थालेको छ । त्यसैले यो धर्मका व्यापारीहरू र उनीहरूले सनातन संस्कृतिमाथि गरेको अत्याचारको सजाय पनि भोग्नु नै पर्ने हुन्छ । धर्मको व्यापार गरेर गरेको सबै किसिमको कमाइ समाप्त हुने मात्र होइन थप परिणाम पनि भोग्नुपर्ने हुन्छ ।

सनातन संस्कृतिमा मात्र होइन सबै आध्यात्मिक संस्कृतिमा दानको महिमा भेटिन्छ । यो निःसर्त भने होइन ससर्त महिमा हो । त्यो सर्त हो आफूले गरेको दानको प्रचार गरिनुहुन्न । तर, धर्मका व्यापारीहरूले विभिन्न सामाजिक काम गर्ने नाममा धनको घमण्ड भएकाहरूलाई दान गर्न उत्प्रेरित गर्ने गरेका छन् । उनीहरूलाई गरिएको कथित सम्मानको तामझाममा लोभिएर नसक्नेले पनि लाजगाल दान गर्न पुग्छ । यस्ता आयोजनबाट उठाइएका धनले के काम भयो वा भएन त्यो न चासोको कुरा हुन्छ न लेखा परीक्षणको सवाल नै उठ्छ । केही प्रतिशत काम पनि यस्ता कर्मबाट नभएका होइनन्, तर निस्वार्थ कर्म गरेको भए धर्मका व्यापारीहरूको सम्पत्ति किन हरेक आयोजन पछि थपिँदै जान्छ ?

तर्क आउन सक्छ– यस्ता आयोजनाहरूले सामाजिक काम पनि भएका छन् त ? तर प्रतिप्रश्न केही दशक पहिलेसम्म चन्दाबाट भएका कामहरूको निमित्त त यस्ता आयोजनाबेगर नै रकम सङ्कलन हुने गर्दथ्यो । गिरानचौरमा बिना कुनै धर्मका व्यापारीको साथ सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) ले बस्ती बनाएर देखाइदिए त । अब कसैले यो उनीहरूको व्यक्तिगत सम्पत्तिबाट बनाइएको थियो भन्छ भने त्यसको बुद्धिलाई दया मात्र गर्न सकिन्छ । धर्मको व्यापार गरेर यस्ता काम गर्नले सनातनप्रति वितृष्णा फैलाउन मद्दत पुगेको छ । भगवान् भनेका दीनदुःखीहरूको, तन्नम हरिकङ्गालको पनि उत्ति नै हुन जति सुखी–सम्पन्न धनपतिको । दिएको दानको आधारमा भेदभाव गर्ने अधिकार यी व्यापारीहरूलाई कसले दियो ?

यस्तै एक आयोजनाको उद्घाटन गर्न पुगेका उपराष्ट्रपति उद्घाटन नै नगरी फर्केको घटना सामुन्ने आएको छ । उद्घाटन नगर्नु ठीक काम थियो भने तम्सेर उद्घाटन गर्न जानु त्यति नै गलत थियो । यस्ता आयोजनाहरूमा पदधारकहरूको उपस्थिति केवल मानको निमित्त हुन्न । यस्ता उपस्थिति धर्मको व्यापारीको व्यापार विज्ञापन हो । जति तामझाम ग¥यो त्यति नै ज्यादा रकम झर्छ । यस्तो रकमको हिसाबकिताब नै हुन्न । यिनै व्यापारीहरूले पेस गरेको हिसाबमा चित्त बुझाउनुपर्छ ।

अन्तमा, भनिएको छ– सुपात्रलाई दिएको दानको फलिफाप हुन्छ कुपात्रलाई दिएको भने पाप हुन्छ । यस्ता आयोजनाहरूमा दान दिँदा एकपटक सोच्नुस् कतै कुपात्रलाई त दान दिनुभएको छैन । हो, कुनै सामाजिक कार्यलाई दान दिनुहुन्छ सीधा रसिद काटेर त्यसैलाई दान दिनुस् न किन धर्मको नाममा दिनुप¥यो । अस्तु ।