नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रथम महाधिवेशन

नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रथम महाधिवेशन


स्थापनाको उद्देश्य

समयको परिवर्तनको साथै संसारको प्रत्येक कुरामा ठूलो परिवर्तन भइसक्यो । दुनियाँको आचार–विचार, रहनसहन, हिँडाइडुलाई हिजोसम्म कस्तो थियो, आज छैन– भोलि के–कस्तो हुन्छ भन्न सकिन्न । तर, हाम्रो देश, हाम्रो समाज, हाम्रो बसाइ–उठाइ, हाम्रो धार्मिक, आर्थिक, बौद्धिक र राजनीतिक विचार जडवत्, जस्तो आजभन्दा सय–दुई सय वर्षअघि थियो, आजको जमानामा पनि उस्तै छ । कतै केही परिवर्तन, केही विकास देखिए पनि त्यो नगन्य छ । आज, जब संसारका अरू अरू देश आफ्ना देशमा रहेका सयकडा एक–दुई अशिक्षित व्यक्तिलाई पनि आफ्नो निमित्त अपमान र कलङ्क सम्झन्छन्, हाम्रो देश र समाजमा समयानुकूल शिक्षा पाएका युवक दुई हातका औँलामा गनिनेभन्दा अधिक छैनन् । जब संसारका अन्य राष्ट्र विज्ञान बलले असम्भव पनि सम्भव बनाइरहेछन्, हाम्रो देशका अनेक नरनारीले संसारको अति साधारण सवारी रेलसम्म देखेका छैनन् । उनीहरू आफ्नै च्याप्रा, गोठ, गुन्द्रुक, मस्यौरा, ढिँडो, डोको, नाम्लो र आफ्नै क–क–न–नमा कुहिरहेका छन् । दुर्गाकवच र चण्डी शिक्षाको सीमा छ । धरा गाँसेका गुन्यू–फरिया शरीरका आभूषण छन् ।

यो कुरा कदापि होइन कि नेपाली जाति कुनैभन्दा हीन छ । उसका वीर पुत्रहरूले आफ्नो देशका पराक्रमको गौरवमय इतिहास फ्रान्स, बेल्जियम, ट्युनिसिया, लिविया, बर्मा आदिका मैदानमा आफ्नो अमूल्य रक्तले लेखेका छन् । संसारमा ‘नेपाली’ अथवा ‘गोरखाली’ शब्द बहादुरी र मर्दानगीको पर्याय छ । कस्मिरको छेउदेखि भुटान, सिक्किम तथा रहस्यमय देश तिब्बतका साधारण–साधारण पसले पनि नेपाली साहुहरूले अगम्य बाटो पार गरी ल्याएका देशी–विदेशी मालको व्यापार गरी आफ्नो जीविका चलाउँछन् । संसारको मुकुटमणि हिमालयले माया गरी आफ्नो काखमा बसाइराखेको हाम्रो यस देश नेपालमा कुन कुराको अभाव छ । हिन्दुस्तानको भकारी तराई हाम्रो हो, अगणित सुन, चाँदी, फलामका खानीहरू हाम्रै छन् । अनेक बहुमूल्य रत्नका खजाना प्रकृतिमाताले आफ्नी दुलारी छोरी नेपाललाई दिएकी छिन् । हाम्रा अगम्य जङ्गलबाट निस्किने वस्तुले देश–विदेशका अनेक कारखाना चल्दछन्, हाम्रा देशको छाँगिला नदीहरू अपार विद्युत् शक्ति उत्पन्न गर्न सक्तछन् । किन्तु, तैपनि हामी गरिब छौँ, अशिक्षित छौं परवश छौँ । हाम्रो वीरता देश–विदेशका महाजनहरूको ढोका कुकुरझैँ कुर्नमा खर्च हुन्छ । हाम्रो व्यापार कुशलता आफ्नो र आफ्ना छिमेकी देशको सम्पत्ति विदेशका उद्योगधन्दालाई पुष्ट गर्न खर्च हुन्छ । अनेक युद्धस्थलमा जितेर फर्कंदा आफ्ना देशका अनेक दिदीबहिनीको वैधव्यदेखि बाहेक हामीलाई पुरस्कार नै के मिल्दछ र ? हामी मर्दछौँ– तर अर्काको राज्य बचाउन । अगणित बहादुरको ज्यानको मोलमा हाम्रो समाजले पाएकै के छ ?

यसमा दोष कसको, अपूर्व साधनसम्पन्न हुँदाहुँदै पनि हाम्रो देश र समाजलाई अशिक्षा, दरिद्रता र अधोपतनको अँध्यारो कैदखानामा सडाउनमा दोषी को ? निश्चय नै हाम्रा शासकहरू । हेर, एकातिर काठमाडौंका नयाँनयाँ युरोपियन छाँटका राजमहल, दरबार, युरोप र अमेरिकाबाट लाखौँ रुपैयाँका मोलमा झिकाइएका महाराजका सालिकहरू । हेर, अर्कोतिर पत्थरझैँ साह्रो भूमिमा कुटोकोदालो गरी बस्ने ढिँडे–पाखे–नेपाली । कस्तो लाज मर्नुपर्ने अन्तर छ । के यिनै हुन् पारसमणि भएको भनी प्रख्यात हुने नेपालका अधिकांश बासिन्दा ! लाजले मस्तक निहुरिन्छ । नेपालबाट आएका महाशयहरूले देश–विदेशका जुवाखाना, रण्डीखाना र घोडदौडमा पानीझैँ बगाएको धन, देशविदेशबाट झिकाएका करोडौँ रुपैयाँका विलासिताको सामग्री देखेर कुनचाहिँ भन्ने नेपालका अधिकांश बासिन्दा गरिब छन्, भोका छन्, नाङ्गा छन् ? कस्तो लुट, कस्तो अन्याय, जनताको पैसाको कस्तो अपव्यय ! हामी सोध्दछौँ । यस विलासी शासकवर्गसित के उसले कहिल्यै आफ्ना प्रजाको सुख, उत्थान र अभ्युदयतिर सपनामा पनि विचार गरेको छ ? तब उठ्नुप¥यो जनताले नै आफ्नो अधिकार लिन, अन्यायी शासकसित खोस्न । परमात्माले कहिले पनि कुनै विशिष्ट वर्गलाई आफ्ना दाजुभाइहरूमाथि अत्याचारपूर्वक शासन गर्न उत्पन्न गरेको छैन । ‘ईश्वरको अंश नभई राजा हुन्न’ भने पाखण्डको जमाना गइसक्यो । आफ्नो कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो । त्यससित आफ्नो अधिकार नखोस्नु प्रजाको नपुङ्सकता हो ।

(नेपाली काङ्ग्रेस ऐतिहासिक दस्तावेजहरू)