एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार (३१ वैशाख) हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।

पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ । पार्टीको आज आइतबार सम्पन्न हुने स्थायी कमिटीका निर्णयउपर पनि भोलको बैठकमा छलफल हुनेछ । बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने नेत्री पन्तको भनाइ छ ।