काङ्ग्रेसको गाईजात्रा कहिलेसम्म ?-श्रीधर शर्मा

काङ्ग्रेसको गाईजात्रा कहिलेसम्म ?-श्रीधर शर्मा


आफूलाई लोकतन्त्रको पर्याय ठान्ने नेपाली काङ्ग्रेसमा आन्तरिक लोकतन्त्रको जहिले पनि अभाव नै रह्यो । सधैं नै टिकेप्रथाले प्राथमिकता पायो । ‘सहमतिमा अघि बढ्ने’ भनिए पनि त्यसरी चल्नेभन्दा आफूले चाहेजस्तो ‘जसरी पनि’ गरेरै छाड्ने नेतृत्वको प्रवृत्ति रह्यो, जसले गर्दा काङ्ग्रेस विभाजित मात्र भएन गुट-उपगुट बन्ने क्रम पनि प्रारम्भ हुन पुग्यो ।
अहिले भ्रातृ सङ्गठन विघटनको विवादले नेपाली काङ्ग्रेस गाईजात्रामय भएको छ । काङ्ग्रेसमा जबजब भ्रातृ सङ्गठनहरूको कार्यकाल समाप्त हुन्छ तबतब आफ्ना अनुकूल परिस्थिति निर्माण गर्न एउटा पक्षले विघटन गराउने अर्कोले विरोध गर्ने अभ्यास देखिन्छ । यो परम्परा यसपटक पनि दोहोरियो । तर, गुट-उपगुटमा विभाजित भएर रमिता देखाउनुभन्दा एकजुट भएर अघि बढ्नुपर्ने र मुलुक नै सङ्कटमा रुमल्लिइरहेको अवस्थामा यो झगडा झिक्नु पार्टीको गौरव र गरिमालाई रछ्यानमा मिल्काउनु हो भन्ने कुरा नबुझी बेमौसमी बाँसुरी बजाउने दुस्साहस नेताहरूले किन गरे, आर्श्चर्यको विषय छ । यसो गर्दा काङ्ग्रेसप्रति आशावादी बनेका तथा मानवाधिकार र वैयक्तिक स्व्ातन्त्रताको पक्षमा रहेको लोकतान्त्रिक दल भएकाले यसप्रति आस्थावानहरूमा यसले नराम्रो सन्देश दिने र यसबाट काङ्ग्रेसलाई नाफा होइन नोक्सान नै हुनेछ भन्ने कुरा पनि हेक्का नराखिनु गम्भीर विषय हो ।
परिवर्तित सन्दर्भ र पुरानो पुस्ता अर्थात् पार्टीका संस्थापक नेताहरूबाट दोस्रो पुस्ताका नेताहरूमा जिम्मेवारी हस्तान्तरण भएपछि यसमा नयाँपन आउने र नयाँ ऊर्जाका साथ पार्टी अघि बढ्ने अपेक्षा गरिए पनि पुरानै र्ढराबाट यो किञ्चित पनि फेरिन सकेन । उही पारा, उही शैली, त्याग र योगदानको बेवास्ता, आफ्नो र अर्काको विभेद, बहुमत र अल्पमतका कुरा नै दोहोरिइरहेको छ र पटकपटक क्रान्ति गरेको गौरवमय इतिहास भएको पार्टीले यथास्थितिवादीको आरोप खेपिरहनुपरेको अवस्थामा छ ।
भ्रातृ सङ्गठनको चुनावका लागि वर्तमान समितिहरू विघटन गर्ने विषयमा उत्पन्न विवाद, असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा सुरु गरेको अनशन, पार्टी सभापतिले अनशन तोडाउने प्रयत्न गर्दा अनशनकारीले ‘अनशन तोडाउने कोसिस गर्ने होइन मर्‍यौँ भने झन्डा ओढाउन आउनुहोला’ भनेर दिएको जवाफ आदिलाई हेर्दा र परिस्थितिलाई विश्लेषण गर्दा काङ्ग्रेस सबैका सामु गाईजात्रे पार्टीको रूपमा मात्र देखिन नपुगी बाह्रौं महाधिवेशनपछि भावनात्मक रूपमा एक भएको भनिएको पार्टी यस्तो स्थितिमा पुग्नु काङ्ग्रेसको पतनकै प्रारम्भ हो भन्दा अत्युक्ति हुने छैन ।
मुलुकमा वामपन्थी र त्यसमा पनि उग्रवामपन्थीहरू लोकतन्त्रका विरुद्ध सक्रिय रहेका, मुलुकको परिचय र गौरवहरूलाई एकपछि अर्को गर्दै ध्वस्त पार्ने तथा लोकतन्त्रका आधारशिलाहरूलाई कमजोर बनाउने षड्यन्त्रमा लागेका बेला आफूलाई लोकतन्त्रको पहरेदार भनेर गर्व गर्ने ऐतिहासिक पार्टीभित्र आन्तरिक कलह उत्पन्न गरिनु नै ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ चरितार्थ हुनु हो । मुलुक कुन बाटो जाँदै छ, कुन दिशा लिँदै छ भन्नेप्रति चिन्ता र चासो हुनुपर्ने लोकतान्त्रिक दल आफ्नै कलहमा रुमल्लिनु निश्चय नै अत्यन्त ठूलो र्भाग्य हो ।
फुटेको दल के कारणले जुट्नुपर्‍यो ? सबैलाई जानकारी भएको कुरा हो । यसतर्फयतिबेला विचार नै गरिएन । वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै एकजुट भई अघि बढ्नुका अलावा वामपन्थीकरणको जुन जोखिम छ त्यसका विरुद्ध एकताबद्ध भई लोकतान्त्रिक शक्तिहरूलाई सङ्गठित गरी सशक्त रूपमा प्रस्तुत हुनु पनि अत्यावश्यक देखिएको छ । यसविपरीत तेरो मेरो, यसको र उसको भन्दै गुटबन्दीको झमेलामा अलमलिनु एउटा जिम्मेवार राजनीतिक दलका हैसियतमा कुनै हालतमा सुहाउँदो र स्वाभाविक कुरा होइन । आफूलाई लोकतन्त्रको पर्याय पनि ठान्ने अनि लोकतन्त्र खतरामा पर्दा आन्तरिक कलहमा अल्झेर गाईजात्रा देखाउने ? अर्काको झगडा हेरेर यिनकै आन्तरिक झगडाले गर्दा देश बर्बाद भयो भन्ने अनि आफूहरू त्यही झगडा गर्दा अरूले के भन्लान् भन्ने काङ्ग्रेसले सोच्नैपर्ने हो ।
काङ्ग्रेसका सामु थुप्रै चुनौती छन् । उसले लिएको प्रजातान्त्रिक समाजवादको पक्षमा उभिने ऊबाहेक अरू कुनै दल छैनन् । सत्ताको नेतृत्व गरिरहेको एनेकपा माओवादी जसरी पनि जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ अघि बढेको छ । आफूलाई लोकतन्त्रवादी बताउनेहरू नै सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर भएका र अप्राकृतिक गठबन्धन बनाएर सत्तामा पुगि पनि सकेका छन् भने काङ्ग्रेसले आफ्नो गृहकलह साम्य पारी एकढिक्का भई एउटा सच्चा राष्ट्रवादी लोकतान्त्रिक पार्टीको आफ्नो पहिचान कायम राख्ने कि आन्तरिक किचलोको गाईजात्रा देखाइरहने ? दलका शीर्ष नेताहरूल नै विचार गर्नुपर्ने कुरा हो ।
अरू दलमा गुट-उपगुटको गाईजात्रा देखिँदा जुँगामा ताउ लगाएर बस्ने अनि आफैंले त्यही स्वभाव र चरित्र देखाउँदा लाज नमान्ने हो भने त्यस्ता नेताहरूले आफूलाई काङ्ग्रेस हुनुमा गौरव गर्न छाडे हुन्छ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भनेर गर्व गर्दागर्दै अलोकतान्त्रिक शक्तिहरूले एकपछि अर्को गर्दै आफ्ना अनुकूल परिस्थिति निर्माण गर्न अलोकतान्त्रिक निर्णयहरू गरिरहेको टुलुटुलु हेर्नुबाहेक केही गर्न नसकिरहेको यो निरीहपनलाई नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ पर्दैन ? क्षेत्रीय पार्टीलाई चारा हालेर सत्ताको नेतृत्व गर्न पुगेको माओवादी तिनकै बुइ चढेर राष्ट्रघाती तथा लोकतन्त्रविरोधी कामहरू, निर्णयहरू लिने दिशामा अग्रसर छ, के यस्तो अवस्थामा काङ्ग्रेस घर-झगडामा अल्मलिनु उचित हुन्छ ? के अग्रजहरूले यही स्थितिका लागि जीवनभर लडेका थिए ? किन एक-अर्कालाई अर्घेलो देख्नुहुन्छ तपाईंहरू ? किन अहम् पाल्नुहुन्छ ? एकफेर अन्तःस्करणदेखि नै घोत्लिने कि ?