पोखराको आकाशमा ‘हट एयर बेलुन’

पोखराको आकाशमा ‘हट एयर बेलुन’


पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट एयर बेलुन अरूभन्दा केही फरक मानिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।

एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्गमिटरको बास्केट जडित छ । बास्केटमा आठजनाले एकैपटक यात्रा गर्न सक्दछन् । होटेल र ट्रेकिङ व्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाई विभागबाट अनुमति लिएर सन् १९९१ मा ‘सनराइज बेलुन’नामक कम्पनीमार्फत नेपालमा यसको व्यावसायिक उडान शुरु गरेका हुन् । पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको बेलुन नेपाल प्रालि पोखराका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृंखलाको दृश्यावलोक गर्न सकिने बाडेको भनाइ छ । वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उड्न सकिने उनले बताए । कम्पनीले प्रतिव्यक्ति २० हजार डलरबराबरको इन्स्योरेन्ससमेत गर्ने गर्छ ।

यस कम्पनीमा अध्यक्ष बाडेसँगै हिमालयन इन्भेष्टमेन्ट प्रालिका तर्फबाट दीपककुमार श्रेष्ठ र सविन महर्जनको चार करोड ५० लाखको संयुक्त लगानी छ । हाल हट एयर बेलुनको व्यावसायिक उडान फेवातालको माथिल्लो भेग पामेबाट हुँदै आएको छ । सूर्योदय मन पराउने बिहानको समयमा उड्न सक्छन् भने सूर्यास्त मन पराउने साँझको समयमा उड्ने गर्छन् । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नुपर्छ भने अन्य देशकाले एक सय बीस डलर तिर्नुपर्ने पोखरा कम्पनीका मार्केटिङ प्रमुख संगीता कायस्थले जानकारी दिइन् । विशेष अवसरमा रिजर्भ गरी प्राइभेट उडान गर्न चाहनेका लागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै फोटो, भिडियोको पेन ड्राइभसहित एक हजार पाँच सय अतिरिक्त शुल्क तोकिएको छ । पत्रकार अमृत भादगाउँले पोखराको सुन्दरतालाई हट एयर बेलुनमा उड्दै फोटो कैद गर्दाको अनुभूति निकै रोमाञ्चक भएको अनुभव सुनाए । उनले भने, ‘पोखरा आफैँ हेरेर नथाकिने शहर हो, यसको सुन्दरतालाई हावामा उडेर चारैतिर एकनास हेर्न पाउनु र सुन्दर तस्बिर लिन पाउनुको मज्जा बेग्लै हुन्छ ।’ बर्थ डे सेलिब्रेसन, एनिभर्सरीलगायत विशेष अवसरमा पनि परिवार र साथीभाइसँग आनन्दले उडेर सेलिब्रेसन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरूको तुलनामा अझ सहज र विशेष रहेको जनाइएको छ ।
जमुना वर्षा शर्मा (रासस)