कोरोनाका कारण यस वर्षको हिमाल आरोहण स्थगित

कोरोनाका कारण यस वर्षको हिमाल आरोहण स्थगित


कोरोना भाइरसको त्रासका कारण यस वर्षको हिमाल आरोहण स्थगित गरिएको छ । शुक्रबार एक सूचना जारी गरेर सन् २०२० को वसन्त ऋतुका लागि हिमाल आरोहण स्थगित गरिएको पर्यटन विभागले बताएको हो ।

विभागले विभिन्न देशका नागरिकलाई हिमाल आरोहणको लागि पूर्वअनुमति दिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई महामारी घोषित गरेपछि यस वर्षको आरोहण स्थगित गरिएको बताएको छ ।

बिहीबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले पनि हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयमा भनिएको छ, ‘सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ ।’