भिल्लको देशमा मणि !-बसन्त कुँवर

भिल्लको देशमा मणि !-बसन्त कुँवर


महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको बारेमा नेपाल टेलिभिजनका च्यानलहरूमा चर्चा-परिचर्चा भइरहेका थियो । नेपालका साहित्यकारहरूले उहाँको योगदानको बारेमा जमेर बहस गरिरहेको पङ्क्तिकारले चाख मानेर सुनिरहेको थियो । लक्ष्मीप्रसाद देवकोटाले रुस, चीन, भारतमा पुगेर त्यहीँको भाषामा कविता सुनाउनुभएको कुरा पनि विद्वान्हरूबाट जानकारी पाइयो । देवकोटाको विभिन्न पहलुमा चर्चा-परिचर्चा भइरहेको थियो जसमध्ये उहाँको सम्बन्धमा एक विदेशीले गरेको भनिएको टिप्पणीले पङ्क्तिकारको मन छोयो । कुनै विदेशीले देवकोटाको सम्बन्धमा भनेका रहेछन्, ‘देवकोटा नेपालमा जन्मनु भौगोलिक गल्ती थियो ।’ अर्थात्, देवकोटाजस्ता व्यक्ति नेपालमा जन्मनुहुने थिएन उ देवकोटाका सम्बन्धमा विदेशीद्वारा गरिएको यो टिप्पणीबारे व्याख्या गर्दै टिप्पणीकार भन्दै थिए, ‘यदि उहाँ अरू देशमा जन्मनुभएको भए उहाँको महान् कदर हुने थियो ।’ उहाँको कदर भारतको रवीन्द्रनाथ टैगोर बराबर वा यदि उहाँ पश्चिमी मुलुकमा जन्मनुभएको भए साहित्यमा नोबल पुरस्कार पाउनुहुने थियो जस्ता अभिव्यक्ति टिप्पणीकारबाट सुनियो ।
नेपालमा देवकोटाको जीवन त्यसबखत दुःखमै बित्यो भनिन्छ । वास्तवमै नेपालमा कुनै योग्य व्यक्ति जन्मनु ठीक हो वा गल्ती ? सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालबाट विदेशमा पुगेकाहरूमध्ये रौनियारजस्ता व्यक्तिहरू अमेरिकाको संसद्मा उम्मेदवारी दिँदै छन्, कतिले संसारका प्रख्यात युनिभर्सिटीहरूमा पढाएर नाम कमाएका छन्, कति वैज्ञानिक भएका छन्, नेपालका प्रशासक, सैनिक, प्रहरी, समाजसेवीहरूले बाहिरी दुनियाँमा ठूलो नाम कमाएका छन् । नेपालका व्यापारीहरूले व्यक्तिगत रूपमा बाह्य दुनियाँमा आफ्नो क्षमता देखाएर अरूलाई प्रभावित बनाएका छन् वा विदेशी मुलुकमा नै लगानी गरेर अर्बपति बन्न सफल भएका छन् । तर, यिनै नेपालीको मुलुकभित्र भने कुनै नाम छैन, कुनै कदर छैन र कुनै मूल्य छैन । नेपाललाई उनीहरूप्रति कुनै गर्व पनि छैन । यो मुलुकमा डन र अपराधीजति पनि उनीहरू हाम्रो समाजमा चर्चित छैनन् । यहाँ समाज र प्रेसले पनि राजनीतिक र आपराधिक गरी दुई समूहको मात्र चर्चा-परिचर्चा गरिरहेको देखिन्छ । हुन पनि हो- भिल्लको देशमा मणिको के मूल्य –
मलाई के लाग्छ भने अहिले प्रेस र समाजले माथिका जुन दुई समूहको बढी चर्चा-परिचर्चा गर्ने गर्दछन् वास्तवमा तिनै दुई समूह नेपालका लागि सबैभन्दा बढी उत्पादन दिन असमर्थ र अझ भनाँै भने प्रतिउत्पादक समूह हुन् । यी समूहले संसारमा अरू मुलुकमा प्रभाव छोड्ने भन्ने त कुरै नगरौँ आफ्नै मुलुकमा पनि कुनै योगदान दिन सकिरहेका छैनन् । न तिनले नेपालका उद्योगपतिले झैँ आफूले लगानी गरी राज्यलाई कर तिरेका छन् न कृषकले झैं पसिना काडेर लगानी गरी अन्न उब्जाएका छन्, न श्रमिकले झैं शारीरिक श्रम गरेर उत्पादन गरेका छन् न समाजसेवीको भूमिका निर्वाह गरेका छन्, न पेसाकर्मीले झैं विभिन्न पेसा गरी राज्यलाई कर तिरेका छन् न कर्मचारीले झैं जनतालाई सेवा दिएर दैनिक प्रशासन नै चलाएका छन् । आखिर राजनीतिज्ञ र आपराधिक तत्त्वहरूले यो मुलुकमा दिएको योगदान के हो ? न तिनले राजनीतिक स्थिरता दिन सकेका छन् न सुरक्षा दिन सकेका छन्, न मानवअधिकारको रक्षा गर्न सकेका छन् न देशको सीमाको रक्षा गर्न सकेका छन्, न देशको आर्थिक अवस्थालाई माथि उर्ठाई धर्म-संस्कृतिको जगर्ेना गर्न सकेका छन् न नेपालीको बीचमा आत्मीयता र भाइचाराको भावना बढाउन सकेका छन्, न तिनले कृषि उत्पादन बढाउन सकेका छन् न बाटोघाटो नै बढाउन सकेका छन्, न तिनले बिजुली दिन सकेका छन् न तिनले पानी नै । बरु उनीहरू यस समाजका धमिराझैं भएर मुलुकलाई धराशायी बनाउन सक्रिय रहेका छन् भन्ने मान्यता नै अधिकांश नेपाली जनताको छ । राजनीतिक व्यक्तिहरूले देशलाई सही दिशा दिन मात्र नसकेका होइनन् बल्की समाजलाई जाति र क्षेत्रमा विभाजित गर्दै बाह्य स्वार्थमा परेर देशको अखण्डतामा नै खलल पुर्‍याउन सक्रिय भएको अहिले आरोप लागिरहेको छ । जति पनि ठूला भ्रष्टाचारमा राजनीतिक व्यक्तिहरूकै संलग्नताको चर्चा आइरहेको छ भने आपराधिक तत्त्वले संविधानअनुसार नागरिकको जीउधन र स्वतन्त्रताको रक्षा गर्ने कुरालाई नै चुनौती दिइरहेको अवस्था छ । आपराधिक समूहले कुनै पनि असल काम गरेर खाने-पिउनेहरूलाई चैनसँग बस्न दिएका छैनन् । यसरी नेपाली समाजमा सबैभन्दा असफल र घातक भएका राजनीतिक र आपराधिक समूहहरूले नै आखिर यो मुलुकमा सबैभन्दा बढी चर्चा किन पाइरहेका छन् । विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने अरू नेपालीभन्दा मिडिया र समाजमा बढी यिनै समूहको चर्चा-परिचर्चा किन भइरहेको छ ? राष्ट्र तथा अन्तराष्ट्रमा ख्याति कमाउने कुनै नेपालीको भन्दा बढी कसैको पुन्यतिथिमा माला चढाउन गएको नेताको चर्चा मिडियाले किन बढी गरिरहेको छ ? राष्ट्रिय राजस्वमा करका माध्यमबाट महत्त्वपूर्ण योगदान दिने कुनै नेपाली व्यापारीको भन्दा पनि अपहरण गरी फिरौती माग्ने समूहको चर्चा किन बढी भइरहेको छ ? कारखानामा अहोरात्र काम गरेर वस्तु उत्पादन गर्ने गरिब श्रमिकको भन्दा पनि बढी चर्चा उद्योगमा ताला लगाउन जाने राजनीतिक व्यक्तिको समाजमा किन बढी चर्चा भइरहेको छ ? राष्ट्र तथा अन्तराष्ट्रमा महत्त्वपूर्ण योगदान दिने वैज्ञानिक, कर्मचारी, शिक्षक, पत्रकारहरूको भन्दा बढी चर्चा हाम्रो समाजले किन म्याद थप गर्दै काम नै नगरी भत्ता खान पल्केका सभासद्को चर्चा भइरहेको छ –
यस्ता कुरा देख्दा लक्ष्मीप्रसाद देवकोटाको सम्बन्धमा कुनै विदेशी नागरिकले गरेको टिप्पणी जायज लाग्न थालेको छ । वास्तवमै म के देख्छु भने इमानदार, बहादुर, राष्ट्रभक्त, दक्ष, अनुशासित कहलिएका व्यक्तिहरू यो मुलुकमा कता हराएका छन् कता उ अनि ढुङ्गा हान्ने, अपहरण गर्ने, चन्दा उठाउने जबर्जस्ती उद्योग-व्यवसायमा हिस्सा माग्ने, विरोधी भए त्यसमाथि आक्रमण नै गर्ने, राज्यको स्रोत र साधनलाई दुरुपयोग गर्नेहरूको चाहिँ यो मुलुकमा बोलवाला बढ्दै छ । राजनीतिक वा आपराधिक सङ्गठनमा आबद्व व्यक्तिहरू यो समाजमा पीएचडी गर्ने व्यक्ति वा वैज्ञानिकहरूभन्दा बढी प्रभाव जमाउन सफल भइरहेका छन् । के यो कुनै सभ्य मुलुकको परिचय र विकासको आधार हुन सक्छ ? किमार्थ सक्दैन, तर यस्तै भइरहेको छ ।
त्यसैले हामी नेपालीले एउटा आदर्श नागरिक भनेको को हो ? ती कस्ता हुन्छन् ? र, त्यस्ता व्यक्तिको समाजमा के भूमिका हुन्छ भनेर आफैंले मापदण्ड तय गर्नुपर्ने अवस्था आएको छ । विस्तारै-विस्तारै समाजमा अराजक, अनैतिक व्यक्तिहरूको सफलताले इमानदार र नैतिक व्यक्तिहरू पनि आफ्ना राम्रा र असल भनिएका गुणहरूप्रति प्रश्न उठाउन विवश भइरहेका छन् । आजभोलि नैतिक व्यक्तिहरू पनि आफ्नो असफलताका लागि आफ्नो नैतिककता नै अवरोध भएको अनुभूति र चर्चा गर्न थालेका छन् । कुनै राष्ट्रसेवक आजभोलि यो समाजमा आफूले पैसा दिन नसकेकाले पदोन्नतिमा पछि पर्नुपरेको चर्चा गर्छन् । अलिकति नैतिकता भएका नेताहरू पनि बद्मासी गर्न नसकेकै कारण राजनीति वा पार्टीमा आफू पछाडि परेको गुनासो गर्छन् । पैसा खुवाउन नसकेकोले नै आफूमाथि राज्यले अनावश्यक दुःख दिएको गुनासो व्यापारी वर्गबाट आउँछ । त्यसैले पङ्क्तिकारलाई व्यक्तिगत रूपमा लागिरहेको छ कि यो समाजमा कहीँ न कहीँ केही न केही एउटा गम्भीर त्रुटि भइरहेको छ । त्यो त्रुटि वा गल्ती मानिसको सोचमा छ । यो समाजमा अहिले मानिस जसरी अनैतिक कार्यबाट पनि माथि पुग्न सफल भइरहेका छन् त्यसलाई देखेर धेरै नवयुवक-युवती त्यस्ता व्यक्तिलाई आफ्नो रोल मोडलको रूपमा हेर्न थालिरहेका छन् । यस्तो सोचले हाम्रो समाजलाई अझै आजको भन्दा पहिले असभ्य र अराजक बनाउने निश्चित छ ।
आजभोलि हाम्रो पढाइमा विज्ञान छ, अङ्ग्रेजी छ, हिसाब छ, कम्प्युटर छ तर आदर्श व्यक्ति भनेको के हो त्यो नै छैन । कतिपय धर्ममा सानैदेखि पाठ्यक्रममै आ-आफ्ना धर्मग्रन्थहरू समावेश गरेर आदर्श वा नैतिक व्यक्तिको उदाहरण दिन खोजिएको छ । नेपालमा त्यो पनि छैन । आखिर एउटा नेपाली को जस्तो हुन खोज्ने ? त्यो मोडल नै पाइरहेका छैनन् । एकाथरी इमानदार र देशभक्त छन् जो जिन्दगीभर हातमुख जोर्ने व्यवस्थासमेत गर्न असफल छन् । अर्कोतर्फ बालुवादेखि ढुङ्गासम्म, क्यासिनोदेखि डान्सबारसम्म, ठेक्कादेखि तरकारी बजारसम्म, हवाईजहाज खरिददेखि टैंक खरिदसम्मबाट कमिसन र हप्तावारी खाने मात्र होइन राज्यकै बजेट हिनामिना गर्ने व्यक्तिहरू दिन प्रतिदिन धनी र शक्तिशाली मात्र नभई उनीहरू नै राज्यको महत्त्वपूर्ण पदमा बसेर राष्ट्रविरोधी निर्णयहरू गर्दै समाजमा शिर ठाडो पारेर प्रगति गर्न सफल छन् । त्यसैले आमनेपाली कन्फ्युजमा छन् कि वास्तवमा हामी कोजस्तो हुनुपर्छ त ?
कुनै पनि मुलुक नैतिकता, इमानदारी, राष्ट्रप्रेम र दूरदर्शी नेतृत्वबाटै मात्र माथि जान सक्छ । तर, यो मुलुकमा त्यस्ता व्यक्तिहरू अहिले असफल सावित भइरहेका छन् । समाजले पनि तिनलाई असफल मान्न थालिरहेको परिवेशमा म के भन्छु भने यी इमानदार, नैतिक, राष्ट्रभक्त र दक्ष व्यक्तिहरू नै हरेक मुलुकको विकासका लागि अपरिहार्य व्यक्ति हुन्, तर अहिलेको स्थितिमा यिनको जन्म नेपालमा हुनुचाहिँ भौगोलिक गल्ती नै सावित भएको छ । जसरी नेपालमा देवकोटाको जन्मलाई कुनै विदेशीले भौगोलिक गल्तीको संज्ञा दिएका थिए । के असल व्यक्ति नेपालमा जन्मनु अहिलेका लागि भौगोलिक गल्ती नै हो त ? के यस्ता व्यक्तिलाई मान्छे ठीक र जन्मेको ठाउँ गलत भनेर चिन्नुपर्छ ? नत्रभने असलका भन्दा खराबका चर्चा किन बढी ? असलका भन्दा खराबका सफलता किन बढी ? असलका भन्दा खराबका प्रभाव समाजमा किन बढी ? के असल र इमानदारहरू यसैगरी भिल्लको देशमा मणिको कदर नभएझैँ सधैं मिल्किरहने नै हुन् त ? पङ्क्तिकारको विचारमा ‘असल’ या ‘आदर्श’को परिभाषाका सम्बन्धमा हाम्रो सोचमै कहीँ न कहीँ गल्ती भइरहेको छ । अब असल वा आदर्श कसलाई मान्ने ? हामी कन्फ्युज छौँ ।