संविधानसभा र सम्राटका नयाँ लुगा -बद्रीनरसिंह केसी

संविधानसभा र सम्राटका नयाँ लुगा -बद्रीनरसिंह केसी


सत्ताले रमिता देखाइरहेको छ । मङ्सिर १४ को खड्गो टार्न यो रमिता धूमधाम भइरहेको बुझन दिमाग निचोरिरहनु नपर्ला । ‘माननीय ६०१’ ‘घरज्वाइँ’हरूलाई खाइपाइ आएको जाउलो टुट्ला भन्ने चिन्ताले ढुकढुकी चर्काइदिएको छ । संविधानसभा संविधान लेख्ने कतिपय सांसदको विद्यालय पनि हो, जसले गर्दा बल्ल उनीहरू वर्णमालाको ‘कपुरी-क’ पढ्दै छन् ।
गणतन्त्रका कर्णधारहरूका मुखाराबिन्दबाट निस्केको अनमोल वाणी हो कि अपानवायु पड्केर दुर्गन्ध फैलिएको हो, पाठक आफैँ फैसला गर्नुहोस् । गत जेठ १४ गते संविधानसभाको आयु फेरि तीन महिना थप्ने बेलामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एउटा विशेष अन्तर्वार्तामा ‘अबदेखि म जे बोल्छु, त्यो झुटो ठहरिने छैन’ भनीकन बोलेको यो वाक्यांश सम्झौँ, ‘….संविधानसभाको म्याद थप्ने कुरालाई अन्तिमपटक बनाउनैपर्छ । किनभने संविधान निर्माणको क्षेत्रमा शासकीय स्वरूप, राज्यको पुनर्संरचना, निर्वाचन प्रणालीलगायत केही महत्त्वपूर्ण विषयमात्र बाँकी छन् । त्यसमा घनीभूत छलफल गरिनुपर्छ । शान्तिप्रक्रिया त पछिल्लो चरणमा टुङ्गिने आधार तयार भइसकेको हुनाले अब थपिएको म्यादचाहिँ अन्तिम नै हुन्छ’ -कान्तिपुर, जेठ ८, २०६८) । तिनै मान्छे आज भन्दै छन्, ‘संविधानसभाको म्याद अरू ६ महिना थपे शान्ति र संविधानका सम्पूर्ण कार्य पूरा हुनेछन् ।’
सोझो माओवादी उहिले ‘सहिद’ भइसक्यो, बाठो माओवादी आज मन्त्री, प्रधानमन्त्री छ । सोझो माओवादीको गोली डरलाग्दो, बाठो माओवादीको बोली डरलाग्दो भन्छन् भुक्तभोगी सर्वसाधारण । सबभन्दा ‘बाठा माओवादी’ प्रचण्ड ‘डरलाग्दा कुरा’ बोलिरहेका छन्, ‘सशस्त्र द्वन्द्वकालमा हाम्रो सैन्य अप्रेसनलाई प्रभावकारी बनाउन गिरिजाबाबुले सुझाव दिनुहुन्थ्यो, निरङ्कुश राजतन्त्र हटाउनका लागि म उहाँकै सुझावअनुसार आक्रमणका लागि हाम्रो फोर्स प्रयोग गर्थेँ’ -बाबुराम भट्टराई निकटको अङ्ग्रेजी मासिक म्यागजिन ‘ग्रेट वे’को कात्तिक २०६८ मा अन्तर्वार्ता) ।
कम्युनिस्टहरूले गिरिजाबाबुलाई माओवादीका परम्सेनाधिपति नै बनाइसके, काङ्ग्रेसले प्रतिवाद नगरेपछि कसले ‘होइन’ भन्ने ? एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भन्छन्, ‘हामीलाई शान्तिविरोधी हुन् भन्ने पार्न खोजेर गिरिजाबाबुले आफूलाई मात्र शान्तिको हिमायती देखाउन खोजे । आज हामीले त्यसैको उत्तरदान -लिगेसी) बोकेका छौँ र परिणाम भोग्दै छौँ । त्यो बेला क्यान्टोन्मेन्ट खडा गर्नु जरुरी थिएन । माओवादीहरू पनि क्यान्टोनमेन्टमा आउन तयार थिएनन् । गिरिजाबाबुले शाही सेना थर्काउन पनि -क्यान्टोनमेन्ट) चाहिन्छ भने । सेनाबारे त्यस्तो सोच्नु गलत थियो’ -‘नागरिक’ दैनिकमा अन्तर्वार्ता) । बाबुराम भट्टराईका फ्यानहरू भएको पार्टी हो एमाले, जहाँ वामदेव होइन, विद्या भण्डारीले गएको असार २६ गते राजधानीको एउटा भव्य कार्यक्रममा ‘म बाबुरामकी फ्यान हुँ’ भनेकी थिइन् । तर, नेताहरूको समस्या नै यो छ, आफ्नो स्वार्थसिद्धिका लागि ‘सेलेब्रिटी’ र ‘फ्यान’कै बीच एउटाको हातमा चुल्ठो अर्कीका हातमा टुप्पी हुन बेर लाग्दैन ।
कम्युनिस्टलाई मात्र के भन्नु ! नेपाली काङ्ग्रेसका नेताहरूको बोली पनि त्यस्तै छ । गत असोजमा गृहजिल्ला तनहुँ पुगेर एउटा कार्यक्रममा काङ्ग्रेसका उपसभापति र प्रधानमन्त्रीका दाबेदार रामचन्द्र पौडेलले भनिदिए, ‘सबै दल मिलेर माओवादीलाई एक्ल्याउन सकेमात्र शान्तिप्रक्रिया र संविधानलेखनको काम अगाडि बढ्छ ।’ उपाय त्यही थियो भने आज आएर एमालेलाई जिल्याउँदै काङ्ग्रेस र माओवादीको चोचोमोचो मिल्नु र ‘धेरै कुरामा माओवादीसँग सहमति भइसक्यो’ भन्ने ढोल-नगरा ठोक्दै हिँड्नुको के मूल्य छ ? फुटको दिशामा आपसी हानाहानले थिलथिलो भएको माओवादीसँग काङ्ग्रेसको सहमति भनेको के हो ? माओवादीको हितरक्षा ? कि क्यान्टोनमेन्टको व्यवस्थापनमा माओवादीको धरालो बन्ने ? माओवादीभित्रको झगडाको चुरो त्यसका एक नेता ‘किरण’ले गएको फागुन २५ गते भनेको कुरामै आधारित छ, ‘संविधान हाम्रै -माओवादीको) लेख्नुपर्छ, काङ्ग्रेस, एमाले र हिजोका पञ्चहरूसँगै बसेर खिचडी संविधान बनाउने आवश्यकता किन पर्‍यो -‘
नेताहरूका दिनदिनका यस्तै बोली र कामगराइले प्रमाणित गर्दछ, स्वीडिस कथाकार ह्यान्स् एन्डरसनको प्रसिद्ध कथा ‘सम्राटका नयाँ लुगा’का ठगहरू सरकार, संविधानसभा र सत्ताका ग्यालरी, कोठाचोटामा छ्यापछ्याप्ती छन् । मुलुक बर्बाद गर्न आएको संविधानसभाले संविधानका नाममा एउटा निबन्ध देला, तर संविधान दिन सक्दैन । यति मानौँ, गोरु ब्याउला भन्ने बेमनासिब आशा गर्नुहुँदैन ।