अब के गर्ने -भ्रर्त्सना वा प्रशंसा ?

अब के गर्ने -भ्रर्त्सना वा प्रशंसा ?


-प्रकाश के.सी.,
एक अनाम गुर्खा सिपाहींले एक अफगानी मृत ‘वार-लर्ड’को शिर काटेको घटनालाई अहिले मिडियाहरुमा महत्वका साथ टिपिएको छ र त्यसलाई ‘गुर्खा-इतिहास’को सम्वन्धहरुलाई एकआपसमा जोडिँदै छ । यहाँ यी दुर्इ घटनाहरुलाई सामन्जस्यता राख्न सकिने किसिमले हेर्न सकिँदैन भन्न खोजिएको होइन, पक्कै पनि खुकुरी र त्यसलाई प्रयोग गर्ने नेपालीलाई गुर्खा इतिहास र टाउको काटिएको घटनाबाट पृथक राख्न सकिँदैन । त्यसैले भन्ने गरिन्छ, नाम कमाउन वा विश्वास जित्न त्यतिको गाह्रो हुँदैन, जति त्यसलाई कायम राख्दै जानुमा हुन्छ । खुकुरीको प्रयोगले नै गुर्खा नाम विश्वमा प्रसिद्ध भएर रहृयो र सो खुकुरी नै गुर्खा चिन्हाउने निसानको रुपमा रहृयो । अहिले संसारभरमा सञ्चालनमा ल्याइएका सेक्युरिटि कम्पनीहरु जसले नेपालीहरुलाई रोजगारी दिन्छन्, ले पनि उही क्रस खुकुरीकै निसानलाई लोगोस्वरुप प्रयोग गरिरहेका छन् । अतः अवश्य नै खुकुरीको करामतबाट आर्ज्या’को प्रसिद्धिलाई धान्नका लागि कुनै न कुनै रुपमा आम वा गैर गुर्खाहरुबाट वफादारी, बहादुरी, इमान्दारी वा विश्वसनीयताको प्रदर्शनी गरिने गरिएको पक्कै हुन्छ । सानो, ठूलो, अग्लो, होँचो जस्तोसुकै हालातका गुर्खालाई पनि गुर्खा इतिहासको चर्चामा वा सम्झनामा छाती विशालिन थालेको अनुभव साँच्चै नै हुन्छ । अब, यतिखेर, अस्तिभर्खर अफगानिस्तानको हेलमण्ड प्रान्तमा एक गुर्खा सिपाहींले मरिसकेका तालेबानी कमाण्डरको टाउको, प्रमाणको लागि काटेर ल्याएको घटनाको उपरान्त अन्य सहगुर्खाहरुलगायतका अन्यहरुका छातीमा कस्तो किसिमको अनुभूति मडारिएका होलान् ? प्रश्न जायज हो, किनकि, प्रसिद्धिले, चर्चाले, विश्वासले एउटा आधारलाई दह्रोसँग गाडिसकेको हुन्छ, वा बसालिसकेको हुन्छ, त्यसपछि बाँकी रहन्छ त सो पद्धतिलाई निरन्तरता दिने क्रमहरुको क्रमिकताहरु मात्र ।

वास्तवमा, अफगानिस्तान, इराकमा लडाइँको नामहरु, कारणहरु वा वहानाहरु जे र जस्तो भन्ने गरिएको भए पनि त्यसको मूल मर्म भनेको अपमानकै हो । अर्थ अन्यर्थ लाग्ला, तर यहाँ भन्न खोजिएको यो हो कि, मुश्लिमहरुको अपमान वा इस्लामको अपमान नै यी युद्धहरुको मूल मर्म हो । धर्म तथा तिनका विचारहरुले, मानव सभ्यतामा विविध वा प्रकारविशेषका पथहरुको निर्माण गर्दछन् । ती पथहरुले अनुयायीहरुका लागि अर्को आन्तरिक पथभित्र डोर्‍याएर अर्को स्वविशेषको विचार तयार पार्दछ र सँग नै सोसँग अनुवन्धित गराउन खोज्दछ । यो सबैमा समान रुपले लागू हुन्छ, कोही ‘अल्प’ भिज्दछन् भने कोही ‘समूल’ । क्रिश्चिएन, हिन्दू, बौद्ध वा इस्लाम सबै यही परिवृतिबाट गुज्रने एक मानव श्रद्धारुपी सञ्जाल मात्रै हुन् । सबैको एक ‘कडी’ कतै छ र त्यसले नै इतिवृतमा ‘अस्त’ लेख्दछ, योचाहिँ प्रकारविशेषका अनुयायीहरुले बुझ्न नसकेको दिग्दारी हो ।

अर्थात्, जाति तथा प्रजा वा खालका मानवहरुका आफ्ना नितान्त सत्वमाथिको हमलाको उपल्लो सिढिँमा नै लेखिने विध्वंशहरुको निरन्तरता नै हुन् वर्तमान परिप्रेक्ष्यमा अनवरत रहेका लडाइँहरु । ओसामा विन लादेन, सद्दाम हुसेन कारण होइनन्, नियति मात्र हुन् ।

हृदय र दिमागलाई जित्ने प्रयत्नमा लाग्ने विदेशी सेनाहरु अहिले इराक र अफगानिस्तानमा प्रशस्तै रहेको अमेरिका, बेलायतलगायतका देशहरुले मिडियाहरुमा बताउँदैछन् र बीचमा विरोधाभासपूर्ण घटनाहरु घट्दछन्, मानवीय संरचनामा कतिपय घटनाहरुलाई ‘संवेज्ञहीन’ नभनी, ‘संवेज्ञशील’ पनि मनोविज्ञानको दृष्टिमा मानिएको छ तर राजनीतिक दृष्टिकोणमा ती अक्ष्यम्य कार्यहरु हुन् र नियम तथा कानूनको दायरामा तीहरु तत्अनुरुप भोग भोग्न वाध्य हुन्छन् । कुनै पनि हत्या, जायज हुँदैन, चाहे त्यो शत्रुहरुकै किन नहुन् । तर पनि कथाहरुमा, गाथाहरुमा हत्यालाई गौण राखी त्यसलाई सम्पन्न गर्नेहरुका वहादुरीलाई बढावा दिइन्छ । युद्धमा जे पनि जायज भन्ने ‘लोकोक्ति’ मात्र हो, वास्तविकतामा त्यसरी जे पनि लाई जायज बनाउन सकिँदैन । मानवीय दृढ-ईच्छा-शक्तिहरुलाई पाखुरा, वा त्यसबाट विविध हतियार चलाउनेहरुलाई हरेक प्रहारको समयमा सोही मानवीय संवेज्ञको नै प्रयोग आत्मसाक्षी राखी गर्नुपर्ने हुन्छ, यसमा अर्कोथरी जो ती प्यादाहरुलाई सञ्चालन गर्ने काम गर्दछन् हरु भने पाखुराबाहेक सबैलाई तन्दरुस्त राखी त्यसैको सञ्चालन गर्दछन् । अब फेरि कुरा त्यही आउँदछ, -उक्त लडाइको मैदानमा मर्न सक्ने अनि मारिन सक्ने अवस्थामा गएका एक गुर्खाले, शत्रु पक्षको मृत नाइकेको टाउको काटेर ल्याएकोले किन सर्वत्र विवाद वा अपजस वा अप्ठ्यारो बनाएको छ ? उक्त नाइकेको लास ल्याउनू भन्ने उर्दी दिने हाकिमहरुका अगाडि सो नाइकेको शिर ल्याउनूमा के फरक परेको थियो र ! गोली तथा बारुदहरुको पारस्परिक वर्षा भइरहेको उक्त स्थलमा सो नाइकेको टाउकोबाहेकको सबै अङ्ग ध्वस्त भएको हुनसक्थ्यो, वाँकी शरीर सम्हाल्नै नसक्ने हालातमा हुनसक्थ्यो तर लास र टाउको मात्रैको लासमा किन यत्रो ठूलो विवाद आयो त ?

यहाँ त्यही सम्मान र अपमानको प्रसङ्ग नै अगाडि आएको छ । यहाँ ती मुश्लिमहरुका धर्म तथा परम्पराको कुरा गर्न थालिएको छ, यहाँ मृत शरीरको अपमान भएको भनिएको छ, र मुश्लिम परम्परालाई तिरस्कार गरिएको भनिएको छ, त्यो त कालान्तरबाटै भएको हो, कुनै नयाँ होइन, र त्यही अपमानकै जडबाट यावत लामो लडाइहरु भइरहेका छन्, तर पनि अन्य देशका निर्दोष तथा मासुम व्यक्तिहरुलाई कुखुराको घाँटी रेटेको जस्तो गरी हत्या गर्नेहरुका लासको काटिएको टाउकोको बारेमा यत्रो लामो वखेडा किन ?

एकपटक फेरि सिपाहींहरु फगत एक गोटी मात्रै हुने क्रमिकताको निरन्तरता नै हुँदैछ । एक आम सिपाहींको लडाइको मैदानमा सक्रिय रुपमा जाग्ने बहादुरी, लगनशीलत अनि कर्तव्यपरायणताको खिल्ली उडाइँदैछ । गत केही हप्ताअगाडि यस्तै नै गरी, मुश्लिम मूललाई बेइज्जत गरिएको भनी स्थानीय साथी अफगानी सिपाहींबाट मारिएका गुर्खा सिपाहींको मृत्युको बदलामा गरिएको कार्य पनि नमान्ने अधिकारीहरुले अब सो गुर्खालाई कोर्ट मार्शल गर्ने पक्का भएको छ । यसको कारण, राजनीतिक मात्रै हो र त्यसरी सो कर्तव्यपरायण गुर्खा सिपाहींलाई उक्त किसिमको दण्डको वाहक हुन नदिनका लागि सम्वद्ध गुर्खा सिपाहींहरु एकजुट हुन जरुरी छ ।

तर, त्यही सिक्काको अर्को पाटो पनि छ । गुर्खाको विश्वप्रसिद्ध कथाहरु छन्, ती कथाहरुलाई व्याख्या गरेर नथाक्ने अनेकौं समकक्षी विदेशीहरु छन् । विगतमा गुर्खाहरुलाई विशेष रुपमा मारिएका शत्रुहरुको प्रमाण ल्याउनका लागि भनिन्थ्यो, जापानिजहरुका टाउकाहरु बोराभरि लादेर आउने गुर्खा इतिहास अझै सम्वन्धितहरु बताउँदछन् । त्यो क्रमको क्रमिकताको अर्को चरणमा कानहरु ल्याइन थालिए । लडाइका शैली तथा तौरतरिकाहरु फरक अब आएर भएका छन्, ‘हृयुमन राइट्स’का प्रसङ्गहरु एकातिर टड्कारो रुपमा आएका छन् । लडाइको मैदानमा मर्नु र मारिनु जायज तर अतिरिक्त हुनु नाजायज मानिएको छ । त्यो आफ्नो ठाउँमा छ । मानेचाहिँ, गुर्खाहरुका ‘लेगेसी’को हो, जब गुर्खाको प्रसङ्ग आउँछ, तब, स्वतः खुकुरीको आउँछ । पश्चिमेलीहरु भन्छन् -“गुर्खाले बन्दुकलाई भन्दा खुकुरीलाई विश्वास गर्दछन्, गुर्खाले दापबाट खुकुरी निकालेपछि रगत नचखाई वापस राख्दैन”…आदि आदि । त्यो कत्तिको सार्थक हो, आफ्नै ठाउँमा होला वा रहला, तर यहाँ प्रसिद्धिको कुरा छ, र त्यही प्रसिद्धिले गाँसिएको विश्वसनीयताको कुरा छ, अनि त्यसको साथ-साथमा शाश्वत टाँस्सिएको बहादुरीको कुरा छ । गुर्खा, बन्दीहरुलाई वा शत्रुहरुलाई पनि ईज्जत गर्ने जाति हुन्, गुर्खा तबसम्म लड्दैनन्, जबसम्म तिनलाई “ती शत्रु हुन् र तिनलाई मार !” भनिँदैन आदि इत्यादि ‘मिथ’कै रुपमा सर्वत्र भन्ने गरिन्छ । लछिमन गुरुङले हात र गोडा गुमाउँदा पनि तीसौं जापानिजहरुलाई मारेको र बाँकी सयौंलाई भगाएको कथा हरेक गुर्खाहरुले गौरवको रुपमा लिनु पर्ने कथा भएको छ । खुकुरीले छप्काएर शत्रुको मासु खाने गुर्खा जाति हुन् भन्ने हल्लाकै भरमा अर्जेन्टिनी सिपाहींहरु आफ्नो पोस्ट छाडेर भागेको अर्को कथाले कतियौं गुर्खाहरु रमाइलोका साथ हाँस्दछन् होला अझै, तर अब तिनले गुर्खा सिपाहींले मृत शत्रुको टाउको काटेर निसानी लगेको भन्ने कथालाई कसरी लेलान् ? “दे किल हट ब्लड, नट दी कोल्ड ब्लड !” भन्ने गुर्खा इतिहासविदहरुका विश्वासको आधार कसरी खस्केलान् ? संयमशील गुर्खाहरुको एैतिहासिक स्वरुप कसरी हल्लेलान् ? दापबाट निकालिएको खुकुरीले मृत शरीर छप्क्याएको गाथा कस्तो सुनिएला ? यस्ता हजारौं कथाहरुको प्रभाव आगामी पुस्ताका गुर्खा सिपाहींहरुले कसरी भेट्लान् भन्ने अहिले आम गुर्खा चासो हो । एकपक्षमा सो घटना अति नै बर्बर हो, भने अर्को पक्षमा आम र सशक्त हो । सोही गुर्खाली बहादुरीको परम्परालाई थाँती आफूले पनि राखेको मान्यता राखेको हुनु पर्ने सो गुर्खालगायतका आम उत्साहहरुलाई मर्न दिन एकातिर हुँदैन, भने, उक्त कार्यले सिङ्गो गुर्खा इतिहासलाई कलङ्कित पारेको पनि बिर्सनुहुँदैन । यो यस्तो पल हो, जहाँ सम्वन्धित पक्षहरु अति ‘र्‍यासनालाइज्ड’ हुनु जरुरी छ । त्यसैले ‘कन्डेम्ड’ र ‘प्रेइज्ड’ अनि ‘पनिस्ड’ र ‘प्राइज्ड’को बीच बाटोलाई सम्वन्धितहरुले लिन अहिलेको अवस्थामा सापेक्ष रहेको छ ।