म कामुक नर्तकी होइन-सम्झना बुढाथोकी

म कामुक नर्तकी होइन-सम्झना बुढाथोकी


सम्झना बुढाथोकीका प्रशंसकहरू उनको बारेमा भन्ने गर्छन्, ‘नाच्नु त सम्झना जसरी नाच्नु । कस्तो लचकता, मादकता र आकर्षण छ उनको नृत्यमा…।’ तर, सम्झना भने अझै आफूलाई नृत्यको विद्यार्थी नै ठान्छिन् । विशेष गरेर लोकगीतका म्युजिक भिडियोहरूमा उनको एकछत्र नै राज चलेको छ । आजसम्म दुई सयभन्दा बढी लोकगीतका म्युजिक भिडियोमा आफ्नै कौशलता प्रस्तुत गरिसकेकी छिन् उनले । अब सम्झना आफू मात्र होइन अरूलाई पनि नृत्यमा पोख्त बनाउन लागिपरेकी छिन् । उनले काठमाडौंको बागबजारमा निकै भव्य स्कुल सञ्चालनमा ल्याएकी छिन् । गु्रप वन क्रियसन एडभाञ्चर प्रा.लि. नामक यो स्कुलमा नृत्य, मोडलिङ, अभिनय, एरोबिक, गायन तथा सङ्गीत र साल्सालगायतका विधाको प्रशिक्षण दिइने कुरा सम्झनाले बताइन् ।
० अब त सम्झनालाई डान्सक्विन भन्दा पनि हुन्छ होला नि ?
– त्यहीचाहिँ नभनौँ । मलाई लाग्छ- नृत्य यस्तो विधा हो जुन विधा कहिल्यै सिकेर सकिँदैन । जति सिक्यो उति निपुण हुँदै जाने विधा हो यो ।
० डान्स स्कुल खोल्ने सोचचाहिँ कसरी आयो नि ?
– यो मेरो पहिलेदेखिकै योजना थियो । आफूले जे जानेको छ त्यही सिकाउने हो अरूलाई । अब यो क्षेत्रबाट अलग हुन पनि सक्दिनँ नि । यही क्षेत्रमा लाग्ने भएपछि यसैसम्बन्धी स्कुल खोलौँ भनेर डान्स स्कुल खोलेकी हुँ ।
० भनेपछि दाम पनि आउँछ होला नि ?
– उद्देश्य त दामकै लागि मात्र होइन । भोलि यहाँबाट सिकेर गएकाहरूले बजारमा राम्रो काम गरे भने हाम्रो पनि त इज्जत रहन्छ नि । काम गर्दै गएपछि दाम त आइहाल्छ नि ।
० भन्नेहरू सम्झनाको नृत्यमा बढी कामुकता छ भन्छन् नि ?
– केलाई कामुकता भन्ने ? म भन्न सक्दिनँ । मैले बढी शो पनि गरेकी हुन्न । गीतअनुसारको हाउभाउ दिँदा त्यस्तो लाग्न सक्छ तर हेर्ने मान्छेले त्यसरी हेरिदिँदा त्यस्तो हुन गएको होला । म ‘कामुक’ नृत्याङ्गना भने होइन । गीतको शब्दअनुसार आफूलाई प्रस्तुत गर्छु,
० सम्झनाले नाम त कमाइन् दामचाहिँ कति कमाइयो नि ?
– म नाम र दामलाई एउटै नजरले हेरि्दनँ । यतिबेला दाम भएकाहरू नामको खोजीमा दौडिरहेका छन् भने उनीहरू जीवनदेखि सन्तुष्ट पनि छैनन्, तर हामी कलाकारहरू सन्तुष्ट छौँ । त्यसैले म भन्छु कि सबैको मायाले बाँचेकी छु राम्रोसँग । दामको कमाइ यति र उति भनेर किन लेखाजोखा गर्ने –
० जीवनमा दुःख लागेको क्षण ?
– कहिलेकाहीँ सञ्चो नभएर डान्स गर्न नपाउँदा ।
० सम्झनाको जीवन के भयो भने निरश हुन्छ होला –
– तँ अब नाच्न पाउँदिनस् । तँलाई बन्देज लगाइयो भनेर मलाई भनियो भने ।
० सम्झनालाई मनपर्ने तीन कुरा –
– मेरो परिवार, मेरो डान्स अनि मेरा दर्शक ।
० सम्झनाको प्रतिस्पर्धी… ?
– म आफैं । म मेरा हरेक प्रस्तुतिलाई आफ्नो प्रतिस्पर्धी ठान्छु । र, एकपछि अर्को राम्रो काम गर्न चाहन्छु ।
० नाच्ने कहिलेसम्म ?
– जहिलेसम्म शरीरले साथ दिइरहन्छ ।
० सम्झनाको पहिचान ?
– म नृत्यकी विद्यार्थी हुँ, नृत्य विधामा केही गरौँ भनेर लागिपरेकी युवती ।
० पारिश्रमिकबाट कत्तिको ठगिन्छ नि –
– ठग्ने र ठगिने त यो क्षेत्रको विशेषता नै हो नि । तर, ठग्नेहरूलाई कहिल्यै पुगेको पनि छैन नि ।

ऋचा यता न उता
बजारमा नचलेपछि, निर्माताहरूले लिन छाडेपछि अनि आफैंले बनाएको चलचित्र पनि पत्तासाफ भएपछि यतिबेला नायिका ऋचा घिमिरेले अझै आफूलाई ठूलो देखाउन एउटा घोषणा गरेकी छिन्, ‘मैले सन्न्यास लिएँ…।’
यता फिल्मी बजारमा भने उनको सन्न्यासको कुनै अर्थ र तुक नै नभएको कुरा बताउँछन् समीकक्षहरू । सिनेमा क्षेत्रमा त ऋचाको त्यसै बजारमा नभएको र उनको उपस्थिति पनि त्यति वजनदार नभएका कारण फिल्मी क्यारियरमा उनको अवस्था त सन्न्यास लिएजस्तै थियो । तर पनि औपचारिक घोषणा भने उनले गरेकी थिइनन् । अब सन्न्यास नै लिएको घोषणा गरेकी ऋचाको आगामी दिन के होला त ? ‘कि उनी विदेश लाग्छिन् कि त परिवारतिरै समय बिताउँछिन्’ यस्तै अनुमान गरिएको छ अहिले । कुनै समय समूह वा कार्यक्रमतिर उपस्थित हुँदा पनि ऋचाको आगमन र उपस्थितिले त्यहाँ राम्रै प्रशंसा बटुल्थ्यो र चर्चा पनि हुन्थ्यो । तर, आज ऋचाको अवस्थामा एक्कासि यसरी गिरावट किन आयो ? सबै अनभिज्ञ छन् । जे होस्, लामो समयसम्म निरन्तर रूपमा कलाकारिता नै भनेर लाग्दै आएकी ऋचाको सुखद जीवनको कामनाबाहेक अरू हामी केही गर्न सक्दैनौँ ।

जीवन र सुमनबीच ‘नो दुश्मनी’
सिनेमाको पर्दामा एक-अर्काका लागि ज्यान दिन पछि नर्सर्ने अनि सुखदुःखमा साथ दिने वाचा पनि गर्छन् नायकहरू । पर्दामा दुई नायक छन् भने उनीहरूबीचको मित्रता त गजबकै देखिन्छ । तर, वास्तविक जीवनमा भने उनीहरूबीच ‘बोलचाल’ त के एकले अर्काको नाम सुन्न र लिन पनि नचाहेको थुपै्र उदाहरण रहेका छन् ।
तर यो मामिलामा भने यतिबेलाका दुई चल्तापर्ुजा नायक जीवन लुइँटेल र सुमन सिंह भने केही फरक रूपमा देखिएका छन् बजारमा । पर्दामा एउटी नायिकाका लागि यी दुईबीच लुछाचुँडी भए तापनि वास्तविक जीवनमा भने यी दुईबीचको व्यवहार भने मिल्ने दाजुभाइको भन्दा फरक छैन । पहिलोपटक यी दुई एकसाथ देखिएका थिए चलचित्र ‘नाइँ नभन्नु ल’ मा । त्यसपछि यी दुई अहिले चलचित्र ब्ल्याकमेलमा देखिँदै छन् भने यी दुईको मित्रतालाई उदाहरण मान्दै निर्माता रोज राणाले आफ्नो सातौँ चलचित्र ‘ग्याङस्टार’मा पनि सुमन र जीवनलाई लिएका छन् ।
सँगै हिँड्ने मात्र होइन आफूलाई अफर आएको चलचित्रमा अर्को नायकको भूमिका छ भने दुवैले एक-अर्काका लागि सिफारिस पनि गरिहाल्छन् र भूमिकाको बारेमा छलफल पनि गर्छन् ।
कुनै सिनेमा खेल्नुपर्‍यो भने एकले अर्कालाई ‘यस्तो फिल्मसँग कुरा भएको छ खेलौँ कि नखेलौँ’ भनेर सरसल्लाह पनि लिने गरेका छन् । तँ यस्तो ड्रेस गर म यस्तो गर्छु,नेर सरसल्लाह पनि गर्ने यी दुईको व्यवहार साँच्चिकै स्वागतयोग्य रहेको कुरा निर्माताहरू बताउन थालेका छन् ।
आपसी सहयोग, सरसल्लाह अनि मित्रताको खडेरी परिरहेको नेपाली चलचित्र बजारमा जीवन र सुमनको यस्तो उपस्थिति साँच्चिकै आपसी दुश्मनीर्, ईष्र्या र डाह गर्ने प्रवृत्ति बोक्नेहरूको निम्ति गतिलो उदाहरण बन्न सक्छ ।-राजन घिमिरे