■ अभय अधिकारी, अनामनगर (काठमाडौं)
‘बाबा, मलाई त देशको चिन्ता लागेको छ । मन पोल्यो, मष्तिस्क पाक्यो, छटपटी बढ्यो, त्यसैले हाजिर भएको छु । देशमा विप्लव आउने भो । बाबा, कुनै उपाय छ कि थाम्ने ?’
‘हेर, मरेको जीव फर्कने सक्तैन । अवतारको कुरा अहिले थाती राख । बोलेको वचन पनि गयो गयो । फेरि आम समस्याको उपचार नहुने हुँदैन । तर मुर्खको औषधी हुँदैन भन्ने जनसंवाद छ । नमान्नु पनि कसरी ?’
‘बाबा पहिलो पंक्तिका सरदार नै परस्पर पौंठेजोरी खेल्दैछन् । कुकुर र बिरालाको लडाई अब हुन छोड्यो । संसद भवनभित्रका श्रेष्ठ मानवमा त्यो लडाईं देखिँदै छ । कुचोद्य गरेर समय बिताउँछन् हाम्रो भविष्य संकटमा प ऱ्यो नि बाबा ।’
‘पहिलो कुरा, जत्रो लोहोटा छ त्यसैअनुसार त्यसमा जल भरिन्छ । मान्छेको चेतनाको तह नाप्ने आधार बनाएर हेर । सबै कुरा खुल्छ ।’
पत्रकार सुन्दै गयो ।
बाबाले सुल्पा टक्टक्याएर भने– ‘त्यो मानव कुन परिवारमा जन्म्यो । आर्थिक स्थिति सामाजिक, भौगोलिक पर्यावरण, शिक्षा, संगत, फेरि जीवनलाई हेर्ने दृष्टिकोण र समसामयिक गतिविधि र समयले तिम्रो मानव या नायकमा के कस्तो प्रभाव पा ऱ्यो त्यो पृष्ठभूमि नबिर्स । र, अझ मूल्यवान कुरा के हो भने कस्तो बंश–बीजबाट त्यो मानव जन्मेको हो संस्कार र परिवेशको पीढिकामा उभ्याएर हेरे सबै कुरा छर्लङ्ग हुन्छ नि !’
बाबाले अद्र्धबिराम राखेर भनेका प्रत्येक शब्दले पत्रकारलाई नायकको इतिहास हेर्न प्रेरित गर्दथ्यो । किन्तु आफ्नो अज्ञान छोपेर उ केवल प्रश्न गर्न उद्यत हुन्थ्यो ।
‘बाबा, स्थिति कहाँबाट बिग्रियो ? कसले बिगाऱ्यो ?’
‘जनताले गलत मान्छेलाई जिताए । त्यहीँबाट बिगार शुरु भो । गलत मान्छेले संसद भरियो । फेरि तिनले पनि गलत मान्छेलाई नेता बनाए । गलत मान्छे नै काका प्रमुख भो । अब यसको प्रतिफल के भो थाहा पायौ ? टुप्पोमा पुगेर फेदमा आफैं बन्चरो हान्न थाल्यो । जनता डरले त्राही–त्राही भए । हुँदा–हुँदा जनतालाई नै आङ छोप्न र एक छाक खान पनि दुर्लभ हुँदै गयो । त्यसैले, कुरा सिधा छ– जनताले नै आफ्नो भविष्य धरापमा पारेका हुन् । यो अवस्था जनता आफैलें ल्याएका हुन् । उनीहरू स्वयम् दोषी छन् ।’
पत्रकारले बुझेर पनि नबुझेजस्तो गरेपछि बाबाले थपे – ‘खराब मान्छेका हातमा खुकुरी दिनु हुने थिएन कि ? नीतिमा पनि उल्लेख छ – खराब सन्तान जन्मनुभन्दा जन्मदै नजन्मनु सबभन्दा राम्रो । जन्मेर मर्नु पनि असलै हो, एकछिन दुःख हुन्छ, तर बाँचेर मुर्ख हुन्छ भने त्योभन्दा अप्रिय र दुर्भाग्य केही हुँदैन । मुर्खले त बाँचुञ्जेल रुवाउँछन्, कष्ट दिन्छन् । तिम्रा काका मुखहरू यसैभित्र पर्छन । यस्ता शण्ढको के कुरा गर्नु ? नाङ्गै देखिने घोडाहरू ।’
‘शण्ढ’ ? पत्रकारले कुरै बुझेन । शब्दकोष हेरेर अर्थ बुझ्ने विचार गऱ्यो ।
‘जनता पनि ‘शण्ढ’ हुन् । आफूसुहाउँदो नेता छाने । बिउ राम्रो भए न बाली असल हुन्छ ! अब सोच, चुनाव प्रक्रिया र मतदान अधिकारका वैकल्पिक मार्ग राख्नै पर्छ । मन नपरे भोट नहाल्ने । कार्यकारीको चुनाव जनताले प्रत्यक्ष गर्न पाउने तर संसदमा पुगेका अञ्जुलीभर शठले छानेर, किनेर बिकेर काका नायक चुन्न नपाउने गरे पछि सब टुङ्गो लाग्छ । संहिता बनाउने र संहिता मिचे फिर्ता बोलाउने प्रत्याह्वान गर्ने र दोस्रो विजेतालाई संसदमा पठाउने नि ! स्थिति त फेर्नै पर्छ ।’
‘बाबा यो त भविष्यको योजना भो । देशमा त अहिले, आजै उपचार चाहिएको छ ।’
‘नायकले देश पनि म, राजनीति पनि म, इतिहास पनि म, संस्कृति पनि म, जीवन पनि म भन्न थाल्यो भने त्यो दुर्योधनको हठ भो । त्यो पूरै पतन हो ।’
पत्रकार सुन्दै रह्यो ।
बाबाले थपे– ‘माकुराले कति ठाउँमा डोरी कसेर आफ्नो जालो बनाएको हुन्छ । त्यसैमा विश्राम र आहार फर्माउँछ । त्यसैले हाम्रो माकुरो जहाँ जहाँ जाल बाँधेर अडिएको छ, त्यो काट्नु पर्छ । काटिदेऊ । तिमी त पत्रकार तिमीले नदेखेको ठाउँ कहाँ होला र ? कि विदेशीसँग डर लाग्छ ?’
‘फेरि ?’
‘आफ्नै दलका नयाँ अनुहारलाई काका नायक बनाऊ । छुल्याई, फटाई, शैतानी र डकैती गर्ने दाउपेच सिकाउँछौ । अनि जत्था मिलाएर लुट र अपराध गर्छौ । राम्रो काम गरौं भन्न सक्तैनौ ! त्यो त ‘शण्ढ’ हुँदै हो, तिमी पनि ‘शण्ढ’ हुने ? तिम्रो स्वार्थ के ? मुलुक ठूलो कि व्यक्तिगत स्वार्थ ? के तिम्रो स्वार्थमा देश पर्दैन ? अन्न खाए झैँ गरेर सोच न !’
पत्रकारले वाणी झिकेन ।
बाबाले थपे ‘न्यायालयलाई आफ्नो प्रभावबाट मुक्त गर । सम्पूर्ण संवैधानिक निकायलाई स्वतन्त्र अस्तित्व देऊ । विदेशबाट युवाशक्ति फर्कंदैछ – रोजगारको व्यवस्था गर । विज्ञसँग बुद्धि माग । सबै कुराको पण्डित हुँ भन्ने शठता नगर । यात्रा पूरा गर्ने बाटो खोज । अरुले धुुरा पसे मैदान हराउँछ ।’
‘आजै बहुमत नबिगार । त्यसका लागि कुनै नयाँ, जोशिलो, विवेकी, नगनाएको ओजस्वी युवालाई नायकको कुर्सी देऊ– ५ वर्ष पूरा भोग । पहिलो असल बाटो यही हो । पुरानालाई दहोरिने मौका दियौ भने सम्झ देश तिमीले नै डुबायौ । विदेशीले खेले, खाए ।’
पत्रकार चुपचाप अझै सुन्दै रह्यो ।
बाबाले भने– ‘नभए अप्रिय, अवाच्छित विकल्पमा जान तिम्रो काकामुख पनि विवश हुनेछ ।’
‘जस्तो ?’ – यस टक वल्ल मुख खोल्यो पत्रकारले ।
नत्र कि संसद विघटन गर्नुपर्ने छ ।
कि आत्महत्या गर्नुपर्ने छ ।
कि आफ्नो हत्या आफैं गराउनुपर्ने छ ।
कि सुकरातको मृत्यु वरण गर्नुपर्ने छ ।
कि देशको झण्डा फेर्नुपर्ने छ ।
कि संविधान भङ्ग वा राजमुकुटको स्वीकार गर्नुपर्ने छ ।
त्यो शण्ढ छ । त्यसैले छिर्के लाउँछ । आँट गरेर अगाडि आउन सक्तैन । होली वाइन खानु भनिदेउ, बुद्धि आउला कि ! नभए जता बग्न सजिलो हुन्छ उतै बग्छ जनसागर ।
हो यो खराब ग्रह हो, तर यसलाई खसाएर आउन चाहनेहरु योभन्दा खराब आउने छन् । त्यसैले बेलैमा शण्ढ साँढेलाई निस्किृय नपारे ध्वंश पार्नेछन् । विधिको बाटो हिंडे शान्ति मिल्छ । बुढालाई रोक, नयाँलाई जोत ।
अदालतलाई स्वतन्त्र राखेर, अपराध भ्रष्टाचार काण्डको छानवीन र दण्डको व्यवस्था गर्न थाले, अर्को अध्याय थालिन्थ्यो किन्तु शण्ढ चरित्र भएका मानवले बरु देश डुबाउँछ, सुधार गर्ने सक्तैन, किनकि ऊसँग स्वस्थ्य चेतना र विवेकको कमी छ । फेरि पनि पोथीप्रिय हुन्छ ।
पत्रकार अझै केही सुन्ने विचारले उत्सुक देखियो ।
निकैबेर विचार गरेर बाबाले यति नै भने ‘जनता सुरक्षा र न्याय चाहन्छन् । यो झण्डाभित्र त्यो सम्भव नभए झण्डा नै फेरि दिनेछन् । न्याय र सुरक्षा दिन सक्ने नेतृत्वको खोजीमा जनता लाग्ने छन् । यो अन्तिम विकल्प हो ।’
कि फेरि सुरुङ मार्ग र धराप योजनाको यात्रा थालिने छ । उम्किने ठाउँ नभएपछि बिरालोले फर्केर प्रत्याक्रमण गर्छ गर्छ । राजा मानसिंहको अति दमनले नै जनतालाई अर्को नेता छान्न बाध्य पारेको होइन र ? अब शक्तिशाली व्यक्ति जन्मन्छ । यो नै आजको समयको माग हो ।’
पत्रकारसँग इतिहास र संस्कृतिको छिप्छिपे ज्ञान पनि थिएन । त्यसैले झिँगाले सारै दुःख दियो भन्ने बाहना बनाएर ऊ बाबाको मुठीबाट निस्कियो ।
बाबाले उच्च स्वरमा भने– ‘जनतालाई कमजोर नठान र सधैं नेताकै पछि लागेर होमिन्छन् भन्ने सोच पनि नराख । मति बेलैमा सुधार । अब अपराधीको शवलाई राष्ट्रिय झण्डा ओढाउन पाइन्न । यस देशका नागरिक राष्ट्रद्रोहीलाई राष्ट्रिय झण्डा ओढाएको अब सहने छैनन् । बुद्धि पुऱ्यएनौ भने यो मुलुक तिम्रा हातबाट जानेछ । जसलाई सावधान गराउनु पर्ने हो । गरिहाल । पछि पश्चात्ताप गर्न नपरोस् ।’
पत्रकार बाबाका कुरा सुन्दै सुन्दै झिंगा उडाएको शैलीमा हिँडेर अलप भयो । बाबाका कुरा सबै सुन्यो या सुनेन उही जानोस् ।
सम्बन्धित सामग्री हेरौँ-
कि देश फेरिन्छ
कस्को लागि देश थाम्ने ? एक पत्रकारको दुःस्वप्न
प्रतिक्रिया