एमसीसी पास गर्न हतारियो सरकार, नेकपाको सचिवालय बैठक बस्दै

एमसीसी पास गर्न हतारियो सरकार, नेकपाको सचिवालय बैठक बस्दै


अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ यतिबेला जल्दोबल्दो बहसको विषय बनेर मुलुकको राजनीति तताइरहेछ । सत्तारुढ दलभित्रै चरम आलोचना खेपिरहेको एमसीसीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट भने भरपुर साथ पाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गराउन यसरी हतारिएका छन् कि त्यत्तिको चिन्ता बरु प्रधानमन्त्री केपी ओलीमा देखिन्न । तथापि, नागरिक तहबाट गरिएको विरोधका बाबजुद जतिसक्दो चाँडो एमसीसी पास गर्न वर्तमान सरकारले पनि कसरत चर्काएको महसुस गरिएको छ ।

यसै सिलसिलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (२७ जेठ) बस्दै छ । एमसीसी परियोजनाबारे पार्टीभित्रै विवाद र बहस जारी रहेको परिवेशमा यसबारे निर्णय गर्नकै लागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।

एमसीसी पारित गर्नुपर्ने या गर्न नहुने भन्ने सम्बन्धमा पार्टीभित्र विवाद चुलिएपछि वर्ष दिनअघि नै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको यो विषय गत हिउँदे अधिवेशनमा समेत पास हुन सकेन । अन्ततः एमसीसीबारे अध्ययन गर्न नेकपाले गत वर्ष माघमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल नै गठन गरेको थियो । एमसीसीको कठोर आलोचक रहेका भीम रावल र एमसीसीको पक्षमा दह्रोसँग उभिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उक्त कार्यदलमा सदस्य रहेका थिए । सो कार्यदलले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने, यसका कतिपय बुँदा नेपालको पक्षमा हुने गरी संशोधन गरेर मात्र पास गर्न सकिने ब्यहोराको प्रतिवेदन दिइसकेको छ ।

एमसीसी सम्झौताको एउटा शर्त ‘नेपालको संससदबाट पारित हुनुपर्ने’ रहेकोले सरकारका लागि यो विषय फलामको च्युरा सावित हुँदै आएको हो । नेपालमा ऊर्जा र सडक परियोजना अघि बढाउनका लागि अमेरिकी सरकारले ५५ अर्ब बराबरको अनुदान दिने एमसीसी परियोजना असार १६ गतेदेखि निर्माण सुरु गर्ने घोषणा गरे पनि संसदबाट अनुमोदन नगर्दा अन्योलमा परेको छ ।

यही अन्योलता चिर्दै ‘जसरी पनि’ संसदबाट एमसीसी प्रस्ताव पास गराउन सरकारले अन्तिम कसरत गरिरहेको बुझिएको छ । एमसीसीकै कारण कैयन मुद्दामा असहमति हुँदाहुँदै पनि सरकारको विरोध गर्नुको साटो प्रमुख प्रतिपक्षी दलका नेता काङ्ग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच विशेष सम्बन्ध गाँसिएको चर्चाले राजनीतिक बजारमा स्थान पाएको छ ।

यसरी प्रतिपक्षीबाट साथ मिले पनि आफ्नै दलभित्रबाट असहयोग भएकोे महसुस गरेका प्रधानमन्त्रीले अन्तरपार्टी सहमति जुटाउन आज सचिवालय बैठक बोलाएका छन् । जेठ महिनाभित्रै संसदबाट पास गराएर एमसीसी परियोजनाको काम अघि बढाउन हतारिएका प्रधानमन्त्री ओलीलाई सचिवालय सदस्यहरुको साथ कति रहला, त्यो भने अझै स्पष्ट भइसकेको छैन ।