वन्यजन्तुका लागि निकुञ्जमा पानी पोखरी निर्माण

वन्यजन्तुका लागि निकुञ्जमा पानी पोखरी निर्माण


लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानीपोखरी निर्माण गरिएको छ । खडेरीका कारण निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतमा सतह घटेपछि दुईवटा पानी पोखरी निर्माण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी एवं वन संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीको मर्मत एवं व्यवस्थापन गरिएको जानकारी दिँदै भने- ‘यस वर्ष विगतको तुलनामा निकुञ्जभित्रका ताल तथा पोखरीमा पानीको सतह घटेको छ, हामीले नियमित कार्यक्रमअन्तर्गत दुईवटा नयाँ पोखरी निर्माण गर्नाका साथै पाँचवटा पुराना पोखरी मर्मत गरेका छौँ ।’

वन्यजन्तुलाई पानी खानका लागि समस्या नहोस् भनेर पोखरी अभाव भएका स्थानमा नयाँ पोखरी निर्माण गरिएको भन्दै तिवारीले झारहरू आएर पुरिन लागेका तालको व्यवस्थापन र मर्मत गरिएको जानकारी दिए । वन्यजन्तुका लागि पर्याप्त घाँसेमैदान बनाउन निकुञ्जमा नयाँ घाँसेमैदान निर्माण एवं व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।

तिवारीका अनुसार राष्ट्रिय निकुञ्ज तथा आरक्षण आयोजनाअन्तर्गत तीन सय ७० हेक्टर घाँसेमैदान व्यवस्थापन गरिएको छ । यही परियोजनाबाट एक लाख नौ हजार चार सय वर्गमिटर क्षेत्रफलमा सिमसार क्षेत्र व्यवस्थापन गरिनेछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)बाट समेत निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम भइरहेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार निकुञ्जभित्र कोषबाट करिब तीन सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रूपमा लिइन्छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लाको नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा करिब १० प्रतिशत भूभागमा घाँसेमैदान रहेको छ ।

साना किरा फट्याङ्ग्रा, सरीसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसेमैदान विचरण गर्न, खेल्न, हिँड्डुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, ढड्डी आदि पाइन्छन्, निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो’– तिवारीले बताए ।

निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायत मिचाहा प्रजातिका झारका कारण घाँसेमैदानको क्षेत्रफल साँघुरिँदै गएको तिवारी बताउँछन् । सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसेमैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण घाँसेमैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको निकुञ्ज कार्यालयले जनाएको छ ।