सीमा-नाकाबाट तस्करीका सामग्री बरामद

सीमा-नाकाबाट तस्करीका सामग्री बरामद


आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको दक्षिण सीमावर्ती भारतसँग जोडिएको नाकाहरूबाट प्रहरीले ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ ।

सीमा प्रहरी चौकी महेसपुरले सीमा नाकामा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको लेडिज कुर्ता–सुरुवालसहितका विभिन्न सामग्री सरावल गाउँपालिका–७ बुलन्दपुरबाट बरामद गरेको हो ।

सीमा प्रहरीचौकी महेशपुरबाट खडिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–२ गोपालपुरबाट पनि लाखौँका हार्डवयर सामग्रीहरू बरामद गरेको जिप्रका पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए ।

प्रहरीद्वारा बरामद सामग्रीलाई आवश्यक कारवाहीको लागि सोमबार (१ असार) नै महेसपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

जिल्लाको दक्षिणी नाकाबाट ठूलो परिमाणमा अवैध सामग्री नेपाल भित्रिने क्रम बढ्न थालेपछि प्रहरीले पनि सक्रियता बढाउन थालेको बुझिएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा खुल्ला र सहज भएकोले बेलाबेलामा यस्ता तस्करीका घटना हुँदै आएको स्रोत बताउँछ ।