पहिरोसँगै ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त

पहिरोसँगै ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त



नारायण ढुङ्गाना,
चितवन

मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक बिहीबार दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।

राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरूले लापरवाही गरिरहेका अन्य चालकहरू नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ ।

ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताउनुभयो । । जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । स्थलगत अवलोकन गर्दा कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ ।

प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठुलो जामको मारमा यात्रुहरू छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य देखिएको थियो ।

नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ ।

पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङ्गको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङ्गलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ ।

पहिरो बुधबार (३ असार) बिहान चार किलोमा ४ः१५ बजे खसेको थियो । साँझ ७ बजे एकतर्फी खुल्यो केही मिनेटमा फेरि बेलुका ७ बजे चार किलोमा पनि खस्यो । त्यसलाई राति १० बजे पन्छाएर सडक एकतर्फीँ नियमित गरिएको थियो । विहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । तर दिउँसो पुन एकतर्फी खुलाइएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा झण्डै ४५ मिटर लामो पहिरो छ । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । अहिले पनि पहिरो पन्छाउन मजदुर खटिएका छन् । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा यात्रु थप मारमा परेका हुन् ।