विश्वम्भरका नाममा…

विश्वम्भरका नाममा…


गत शनिबार एक दैनिकमा प्रकाशित पुस्तक-वार्तामा डा. विश्वम्भर प्याकुरेलले भन्नुभएको थियो, ‘मन परेको मान्छेलाई गरिने माया असीमित भएजस्तै मेरो नियति अध्ययन, अध्यापन तथा लेखन भएकाले महिनामा किताब किन्दा कति पैसा खर्च हुन्छ भनेर हिसाब-किताब राख्न छोडेको धेरै भयो ।’ खुव मन परेको थियो यो जवाफ, आइतबार बिहानै फेसबुकको वालमा उहाँको स्वास्थ्यका बारेमा लेखिएको खबरले अचम्मै बनायो । शायद जीवनको नियति अपेक्षा नगरिएका यस्तै कुराहरूमा अल्झिरहेको हुन्छ, डा. प्याकुरेलमाथि असमयमै स्वास्थ्यले दिएको धोखाले धेरैलाई विस्मित तुल्यायो । गत जनवरी महिनामा नयाँदिल्लीमा भएको नेपालसम्बन्धी कार्यक्रममा भाग लिन जाँदा उहाँसँग अनेक प्रकारका कुराकानी गर्ने अवसर मिलेको थियो । मस्तिष्कघात भएको भनेर सुन्नासाथ लेख्ने कुरालाई लिएर उहाँले भनेको कुरा सम्झिएँ, ‘यो जीवनको केही भर छैन अब म एउटा समयचाहिँ लेख्नलाई दिन्छु । साहित्यिक कुरा मनमा फुराउनलाई माहौल चाहिन्छ, वातावरणले निर्धारण गर्छ तर जे भए पनि अब त अलि बढी समय दिने हो ।’ भीमार्जुन आचार्य, सुजीव शाक्य, यो पङ्क्तिकार र डा. प्याकुरेलले तीन दिनको बीचमा के-के मात्र कुरा गर्न भ्याएनौँ भनेर साध्य छैन । विशेषगरी डा. प्याकुरेलका जीवनमा भएका पुराना कुराहरू सुनाउँदा हामी निकै रोमाञ्चित हुँदै सुन्थ्यौँ, डा. साव यी कुराहरूको ‘डकुमेन्टेसन’ हुनुपर्‍यो, हामीलाई सुन्दा यति रमाइलो लागि रा’छ अरूलाई पढ्दा कस्तो होला ? हामीले यसो भन्दा ‘हो अब म लेख्ने’ भन्नुभएको थियो उहाँले । अमेरिकामा विद्यार्थीजीवनमा भएका घटना, गरेका कामहरू, खाने र पिउने कुराका रमाइला प्रसङ्गहरू, नारायणगोपाल, गोपाल योञ्जन, दीप श्रेष्ठदेखि कामकाजको सिलसिलामा पूर्वअधिराजकुमारी प्रेक्षा र रानी ऐर्श्वर्यसम्मका सङ्गत तथा उहाँहरूका आनीबानीका कुराहरू धेरै प्रसङ्गमा भएको थियो । ठाउँ-ठाउँमा हामी यति धेरै हाँसेका थियौँ कि त्यसरी त जीवनमा कमै मात्रामा हाँसिन्छ । जोक, सायरी, कविता, गीत खुवै रमाइलो भएको थियो यात्रा । त्यसो त अनील झा, प्रदीप ज्ञवाली, वर्षमान पुन ‘अनन्त’लगायतका नेताहरूसँग पनि बसाइ एकै ठाउँ थियो तर अनौपचारिक कार्यक्रमहरूमा नेता र व्यावसायिक व्यक्तिहरूको हुल छुट्टएिर हामी एकातिर भएका थियौँ ।
यो देशका वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल अत्यन्त चर्चित गीतकार पनि हुनुहुन्छ । कहाँ रुखो र जटिल लाग्ने अर्थशास्त्र, कहाँ मनका भावनासँग सम्बन्धित गीत र साहित्य, यी दुई अलग विषयहरूबीचको समन्वय उहाँ कसरी गर्नुहुन्थ्यो ? कुन पक्ष बढी हावी हुन्थ्यो जीवनमा ? अर्थशास्त्रलाई व्यावसायिक र साहित्यलाई निजी जीवनसँग तुलना गर्न चाहने उहाँले गीत रचना गर्दाका विशेष परिस्थितिहरू रहेछन्, हरेक गीतका पछाडि कुनै न कुनै घटना परिघटना जोडिएका रहेछन् । तिमीले भनेका सारा देव छोएर… नारायणगोपालले गाउनुभएको यो गीत उहाँले रचना गर्नुभएको अमर र अजर गीत हो, जो शदियौँसम्म उत्तिकै महत्त्वपूर्ण र समसामयिक भइरहनेछ । नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रमबारे सिलसिलेवर रूपले विश्लेषण गर्न रुचाउने डा. प्याकुरेलसँग डा. भीमार्जुन आचार्य र म पालोपाली प्रश्नहरू गर्थ्या, उहाँ बढो रोचक तरिकाले घटनाहरू बताउनुहुन्थ्यो, अन्त्यमा हाम्रो भनाइ उही ‘डकुमेन्टेसन’मा गएर टुङ्गिन्थ्यो । ‘लेख्ने हो’ उहाँ भन्नुहुन्थ्यो । स्वास्थ्यको विषयलाई लिएर पनि लामै कुराकानी भयो, एकपल्ट उहाँको ढाडमा देखिएको समस्यालाई लिएर डा. उपेन्द्र देवकोटाले अब सधैं यस्तै हो, हि्वलचेयरमै जीवन बिताउनुपर्छ भनेपछि बैंककमा उपचार गर्न जाँदा अर्कै कुरा देखिएको र पछि ठीक भएको प्रसङ्गबाट हामीले स्वास्थ्यमा डाक्टरहरूले गर्ने खेलबाडलाई लिएर लामै कुराकानी गरेका थियौँ ।
काठमाडौंबाट नयाँदिल्ली जाँदा तीन घन्टाभन्दा बढी ढिलो भएको फ्लाइटका कारण एयरपोर्टमै लामो गफगाफ भएको थियो, त्यहाँ भने हाम्रो कुराकानीको एक मात्र विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था थियो । मौसमका कारण बिहानै उड्नुपर्ने जहाजहरू दिउँसोसम्म नउड्दा यात्रीहरूको खचाखच थियो । कुन फ्लाइट किन ढिलो भएको हो, अब कतिबेला हुन्छ जस्ता कुराहरूको सूचना कहीँ छैन, ट्वाइलेटको अवस्था त्यस्तै दयनीय, फोहोरले भित्र पस्नै नसकिने । त्यतिका मानिसहरूलाई सुरक्षा जाँचपछि धमाधम जहाज उड्ने ठाउँतिर पठाइँदै थियो जब कि त्यहाँ ती मानिस बस्ने ठाउँसम्म थिएन । बस्ने ठाउँ नभएपछि ‘यतै बस्दै गर्नुस्’ भन्न सकिन्थ्यो । झ्यार-झ्यार गरिरहेको टेलिभिजनको च्यानल परिवर्तन गर्नुस् न भनेर त्यहाँ कार्यरत कर्मचारीलाई भन्दा ‘खै बिग्रिएको छ, घोचोले हान्नुपर्छ’ भने । पर्यटन वर्षलाई लक्षित गरेर ठाउँ-ठाउँमा लेखिएको ‘अब २०११ मा भेटौँला’ भन्ने सन्देशलाई अब त निकाले हुन्छ नि २०११ त भइसक्यो भन्दा मन्त्रीज्यूको आदेशबाट राखिएकोले आदेश नभई निकाल्न नमिल्ने बताइएको थियो । पर्यटकहरूलाई आकर्षित गर्ने महत्त्वपूर्ण स्थान एयरपोर्ट नै हो तर एयरपोर्टको अवस्था झन्झन् दयनीय बन्दै गएको छ । बसपार्कमा बस कुरेझैं गरी ट्वाइलेट पनि जान नपाई एयरपोर्टमा प्लेन कुरिरहेका बेला प्रा.डा. विश्वम्भर प्याकुरेलले भन्नुभएको थियो, ‘अब कहिले मन्त्रीले भित्तामा लेखिएका कुरा हटाऊ भन्लान् र यिनले हटाउलान् त…।’ मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको यसप्रकारको अवस्थाले नरमाइलो लागेको थियो । शृङ्खलाबद्ध भ्रष्टाचारबीच गुज्रिरहेको एयरपोर्टलाई लिएर हामीजस्ता व्यावसायिक व्यक्तिहरूले गर्न सक्ने कुरा पनि त्यही दु:ख प्रकट हो, अरू त यहाँ भनेर या लेखेर हुने नै के हो र ?
नयाँदिल्ली पुगेपछि साँझ घुमघाममा निस्कियौँ, लाजपथ नगर । डा. सावले मेरो किनमेलको कुनै एजेण्डा छैन, हामी कफी खाएर बस्छौँ तपाईंहरू किनमेल गरेर आउनुस् भन्नुभएको थियो, तोकिएको समयमा निर्धारित स्थानमा फकिर्दा त उहाँको हातमा सामान देखियो, भन्नुभो, ‘एउटा कोट किनेँ रेडिमेड ।’ फर्किंदा डिफेन्स कोलनीमा डिनर खाँदै गरेका गफगाफ हाम्रा लागि रमाइला मात्र होइन ऐतिहासिक पनि थिए । भोलिपल्ट विवेकानन्द फाउन्डेशनमा उहाँको प्रस्तुतिपछि ज्वाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक डा. संगीता थपलियालले भनिन्, ‘डा. प्याकुरेलको प्रस्तुति मैले पहिलोपल्ट सुनेकी हुँ, कस्तो राम्रो, नेपालमा यस्ता अर्थशास्त्री पनि छन् नि ?’ त्यतबेला डा. संगीतालाई मैले उहाँ असाध्यै चर्चित गीतकार पनि हो भन्दा उनी छक्क परेकी थिइन् । विषयगत विज्ञका रूपमा विश्वले मानेका डा. प्याकुरेललाई आफ्नै मुलुकले भने जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेको थिएन, ठाउँ नै नदिएपछि उहाँको विज्ञताको फाइदा राष्ट्रले जुन रूपमा लिनुपर्ने हो त्यो पनि लिन सकेको थिएन । आज अकस्मात् उहाँलाई ब्रेनह्यामरेज भएको कुराले स्तब्ध बनाएको छ । अर्थशास्त्रका विज्ञभन्दा बढी मनका मान्छे डा. प्याकुरेलको शीघ्र स्वास्थ्यलाभको कामना ।