देशभर संक्रमित संख्या १५९६४, नेपाल वायुसेवा निगमका सात क्रु-मेम्बर पनि संक्रमित

देशभर संक्रमित संख्या १५९६४, नेपाल वायुसेवा निगमका सात क्रु-मेम्बर पनि संक्रमित


नेपालमा सोमबार (२२ असार) थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार अब देशभर कोरोना संक्रमितहरुको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

बताइएअनुसार काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरका १० जना, काठमाडौंका २४ जना र ललितपुरका २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। बागलुङका २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

यसैबीच नेपाल वायुसेवा निगमले आफ्ना सात जना क्रु–मेम्बरलाई कोरोना पुष्टि भएको जानकारी दिएको छ । निगमले थप सात जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको पनि जनाएको छ । आफ्ना कर्मचारीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको उल्लेख गर्दै अझ थप सतर्कता अपनाएर पूर्वनिर्धारित उद्धार उडानहरु यथावत सञ्चालन भइरहने निगमको प्रतिबद्धता छ ।