ठगी गर्ने समूहको प्रलोभनमा नपर्न ‘अपराध महाशाखा’को अनुरोध

ठगी गर्ने समूहको प्रलोभनमा नपर्न ‘अपराध महाशाखा’को अनुरोध


विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भन्दै विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले त्यस्ता ठग समूहको प्रलोभनमा नपर्न महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीन धितो राखेर प्रलोभनमा परी पैसा दिएको समेत पाइएको छ ।