‘लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध’ : प्रधानमन्त्री

‘लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध’ : प्रधानमन्त्री


प्रधानमन्त्री प्रचण्ड उद्योगी-व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज (२८ वैशाख) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो ।

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्, देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताउनुभयो ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ती नीति-नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उहाँले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो ।

‘भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

उहाँले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताउनुभयो ।