अमेरिकी चुनावमा विदेशी हस्तक्षेपको सम्भावना र औचित्य

अमेरिकी चुनावमा विदेशी हस्तक्षेपको सम्भावना र औचित्य


■ दामोदर पौडेल

विदेशी प्रभाव, हस्तक्षेप, चासो र चाहना फरक र कहिले एकअर्कालाई ‘ओभरल्याप’ गर्ने र कहिलेकाहीँ त बुझिने तर ब्यक्त गर्न नसकिने विषय बन्दछन् । अमेरिकाभन्दा सोभियत सङ्घ सैन्य र जासुसीमा अगाडि देखिन्थ्यो । त्यहाँ कम्युुनिष्ट ब्यवस्था ढल्यो, देश नै धेरै टुुक्रामा विभाजित भयो । अमेरिकाले आफ्नो कारणले सोभियत रुस ढलेको ठान्यो, तथापि सोभियत सङ्घमा मिलेका राष्ट्रहरू स्वेच्छिक रूपले एकतामा आएको भन्ने थियो ।

अहिले अमेरिकी राष्ट्रपतिको चुनावको मिति नजिक आइरहँदा रुस, चीन, इरानसमेतले विशेष चासो लिएको र हस्तक्षेपकारी भूमिका निभाउने सम्भावना रहेको प्रचार गरिएको छ । सम्भवत भ्लादमिर पुटिन रुसको राष्ट्रपति हुँदासम्म रुसको हस्तक्षेप रिपब्लिकनहरूको पक्षमा र चीन तथा इरानको हस्तक्षेप डेमेक्रेटहरूको पक्षमा भन्ने अर्थ लाग्ला ।

कुनै पनि देशका नागिरकको अर्को देशको चुनावमा विविध कारणले स्वार्थ गाँसिएको हुन सक्छ । विश्वका धेरै देशका नागरिकहरू भएको देश हो अमेरिका, र त्यहाँको नागरिकता लिएका अरु देशका नागरिकहरूको प्रभाव अनि अमेरिकाको हैसियतले गर्दा विश्वका धेरै देशको स्वार्थ र चाहना अमेरिकी सरकारसँग गाँसिएको हुन्छ । त्यस अवस्थामा बाहिरी देशहरूले आफ्नोे देश र त्यहाँका जनताको हितको बढि रक्षा गर्ने ब्यक्ति र दल अमेरिकी सत्तामा आओस् भन्ने चाहना राख्नु अस्वभाविक हुँदैन । भारतमा हिन्दु कट्टरवादीहरूलाई भाजपा सत्तामा आउनु पर्दछ भन्ने लाग्दछ भने काङ्ग्रेसलाई त चीन र पाकिस्तानले सघाएको आरोप नै आउने गरेको छ । सन् १९९० मा सतहमा आएको चीनको लोकतान्त्रिक आन्दोलन र अहिलेको हङकङको आन्दोलनमा अमेरिकाले भूमिका खेलेकै हो । अझै विज्ञान र प्रविधिको विकास तथा जनताको भावनाको पनि भूमण्डलीकरण भएकोले कुनै एक देशको चुनाव र ठूलो घटना तथा परिदृष्य विश्वका धेरै देशको चाहना वा चासो हुन जान्छ । अमेरिकामा अमुक नेताले चुनाव जितेमा नेपालीले रोजगारी पाउँछन् भने नेपाल र नेपालीले त्यसैको पक्षमा अप्रत्यक्ष रूपले नै भए पनि लविङ गर्नु स्वभाविक हो ।

मानिसहरू राजनीति, कानुन, समाज आदिका विषयमा विद्वानहरूका विचारको आधारमा जटिलता थप्ने गर्दछन् । त्यो होइन । राजनीति स्वार्थको आधारमा चल्छ र कुनै देशको राजनीतिले अर्को देशको स्वार्थमा फरक पर्दछ भने त्यो देशले चासो लिन्छ । जनताले त्यो राम्रोसँग बुझ्नु पर्दछ । भ्रममा परेर मत दिनु हुँदैन । त्यसमा सचेतना अपनाउनु नै पर्दछ । जब बुझेर नै जनताले त्यही निर्णय गर्दछ भने स्वीकार गर्न सक्नु पर्दछ । जनताको चाहनाले टुक्रेका देश जोडिएका छन् र एउटै देश धेरै टुक्रा भएको छ ।

अमेरिकी डेमोक्रेटहरू आफ्लाई लोकतन्त्रका मसिहा मान्छन् । तर, जब डोनाल्ड ट्रम्पले चुनाव जिते डेमोक्रेटहरू वा उनीहरूको नजिककाले ह्वाइट हाउसनजिक चुनावको परिणाममा असन्तुष्टि जनाएर विरोध गरे । लोकतन्त्र मान्नेहरूको अर्थात् अझ बढि नै मानवअधिकार र लोकतन्त्रवादी हौँ भन्नेहरूबाट त्यस्तो कार्य हुनु अमेरिका र लोकतन्त्रको सँगै बेइज्जत गर्नु हो । लोकतन्त्रवादीले आफ्नो जितमा देशको बढि हित देख्छ तर हारमा पनि जित्नेलाई अस्विकार गर्दैन, बरु अर्को चुनावसम्म पर्खन्छ र भन्छ कि मबाटै गल्तीहरू भए । अनि ती गल्ती–कमजोरीलाई सुधार्न थाल्दछ ।

वास्तवमा लोकतन्त्रमा कसैको हार पनि हुँदैन र जित पनि हुँदैन । केवल मानक मात्र कसैले ‘मिट’ गर्छ कसैले गर्दैन । सय जनामा ४५ जनाले योपटक मलाई विश्वास गरे, अर्कोलाई ४० प्रतिसतले गरे र अर्कोलाई १५ प्रतिसतले गरे भने त्यो हिसाबकिताबमा प्रतिसत हो, हार र जित होइन । जनताले चुनाव हार्दैन, त्यसैले १५ प्रतिसत मत दिनेले पनि चुनाव हारेको होइन, दिनेले नहारेपछि पाउनेले पनि हार्दैन । अझै भन्ने हो भने कहिले त ४५ प्रतिसत मत ल्याउनेले सहयोग गरेमा १५ प्रतिसत ल्याउनेले सरकारको नेतृत्व पनि गर्दछ । हारजित त भन्नैपर्दछ तर त्यो कामचलाउ हो ।

अमेरिकाले रुसको विघटन र सरकार नै तहसनहस गर्न भूमिका खेल्न हुने, अरु देशले अमेरिकामा आफ्नो हित स्थापित होस् भन्न पनि नपाउने ? रुसले अफगानिस्तानमा जनाधार नभएको आफैले टिपेर कम्युनिष्ट ब्यवस्था र आफ्ना सेना ल्याउन पाउने, अमेरिकाले प्रतिरोध गर्न नपाउने ? अमेरिकाले सिरियामा मानवअधिकारको नाममा जे पनि गर्न पाउने रुसले त्यहाँका राष्ट्रपतिलाई सहयोग गर्न नपाउने ? नपाउनु पर्ने केही कारण छन् र होलान् । तर ती कार्यभन्दा चुनावमा हुने लवी त धेरै सामान्य हो । जनतालाई नै सजग गरेर गलतलाई रोक्न र मत नदिन भन्न सकिने हुन्छ ।

नेपालका कम्युनिष्ट नेताले नै रुसमा कम्युनिष्ट ब्यवस्था आन्तरिक कारणले अन्त्य भएको, विदेशीले गराएर होइन भनेका छन् । त्यहाँ अरु कसैले कम्युनिष्ट ब्यवस्था अन्त्य गरेको होइन, कम्युनिष्ट पार्टीको तर्फबाट भएका राष्ट्रपतिले नै त्यस्तो अवस्था निम्त्याए । तर जति नराम्रो भए र जति नै गल्ती वा अपराध गरे पनि कम्युनिष्ट एकदलीय ब्यवस्था हटाउन भने जनताले कहिल्यै सकेका छैनन् । बरु ब्यवस्था खतम भएपछि भगवान मानेका नेतालाई चुपीले नै हानेर मारेका छन् । त्यसको उदाहरण चाउचेस्कु हुन् । त्यहाँका जनताले चाउचेस्कुलाई बाबु र उनकी पत्नीलाई आमा मान्थे । जब सत्ता ढल्यो उनीहरूलाई तिनै बाबुआमा मान्नेहरूले राक्षस र राक्षस्नी माने । सडकमा घिसारेर हत्या गरे । यसको कारण बुझौँ ।

अमेरिकी जनताले चुनावमा कम्तीमा पनि शान्तिप्रिय आफ्नो भावनालाई कसरी सुरक्षित गर्ने भन्नेमा ध्यान नदिएमा विश्व आतङ्कवादको चपेटामा छिट्टै पर्न सक्दछ । त्यसैले ट्रम्पले भनेका छन् कि अमेरिका शान्ति चाहन्छ, तर अमेरिकाको शान्तिपूर्ण समाजमा असुरक्षा देख्नेहरूले देश छोड्न सक्दछन् । उनले अमेरिका विश्वको आकर्षण हो तर यहाँ अरु ठाउँको रोग सार्ने होइन बरु आएर शान्तसँग बस्ने हो भन्ने सन्देश दिएका छन् ।

अमेरिकीहरूले डेमोक्रेट पार्टीको तर्फबाट पनि राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छानेका छन् । रिपब्लिकनहरूबाट ट्रम्प नै दोहोरिनेमा उनले उपराष्ट्रपति पनि अहिलेकालाई नै छानेका छन् । अमेरिका आप्रवासीहरूको देश हो । त्यहाँका रेड इण्डियनहरूको संख्या नगन्य भएको छ । त्यसैले त्यहाँको चुनावमा विश्वभरबाट नै चासो राखिन्छ । तर त्यहाँ चुनावमा विदेशीको चाहनाअन्ुसार उम्मेदवार उठाइँदैन, राष्ट्रिय नीतिका आधारमा उठाइन्छ । त्यहाँका दलहरू विदेशीको इच्छाको आधारमा गठन पनि हुँदैनन् । विदेशीको इसारामा दलका नेता र प्रधानमन्त्री राख्ने वा हटाउने कसरत पनि हुँदैन । यी कारणले गर्दा अमेरिकाको चुनावमा विदेशी हस्तक्षेप भएको देखिएको छैन, चासो र चाहना भने देखिएको छ । चासो चाहना जस्ता विषय स्वार्थ जोडिएको ठाउँमा स्वभाविक हो ।

जति नै विदेशीहरू गएर बनेको देश भए पनि करिव २० वर्ष पहिलासम्म पनि त्यो देशमा शान्ति थियो । जातीय द्वेषमा आधारित छिटपुट असंगठित अपराध हुने गर्दथे । बन्दुक लिनसमेत छुट भएकाले ब्यक्तिगत घटनाहरू हुने गर्दथे । तर धार्मिक आधारमा र जातीय आधारमा अपराध र असहमतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालले अपराधिक प्रवेश पाएको थिएन । जब आतङ्कवादी आक्रमणमा परेर ट्वीनटावर ध्वस्त भयो, त्यसपछि अमेरिका पनि विश्वब्यापी आतङ्कको छायामा परेको ठानियो, उ पनि डरमा देखियो । त्यो प्रवासीहरूको देश शान्त थियो तर कुनै कारणले आशान्त भयो । त्यो कारणको खोजी गरेर वा बुझिएको कारणलाई जनसमक्ष प्रष्ट पारेर र यसबाट हुने दुरगामी असरका सम्बन्धमा सोचेर अमेरिकी जनताले निर्णय गर्नुपर्ने बेला पनि आएको छ ।

अमेरिकाले विश्वमा शान्ति र लोकतन्त्रको लागि नेतृत्व गर्ने हो । कतिपय समयमा त्यो देश चुकेको छ । अमेरिकी जनताले चुनावमा कम्तीमा पनि शान्तिप्रिय आफ्नो भावनालाई कसरी सुरक्षित गर्ने भन्नेमा ध्यान नदिएमा विश्व आतङ्कवादको चपेटामा छिट्टै पर्न सक्दछ । त्यसैले ट्रम्पले भनेका छन् कि अमेरिका शान्ति चाहन्छ, तर अमेरिकाको शान्तिपूर्ण समाजमा असुरक्षा देख्नेहरूले देश छोड्न सक्दछन् । उनले अमेरिका विश्वको आकर्षण हो तर यहाँ अरु ठाउँको रोग सार्ने होइन बरु आएर शान्तसँग बस्ने हो भन्ने सन्देश दिएका छन् । उनी सेता अमेरिकीको पक्षमा नभई आतङ्ककको विपक्षमा छन् । अमेरिकाका शान्तिपूर्ण जनताले त्यो बुझेका छन् । शान्ति चाहने सबै जात र धर्मका अमेरिकीले उनलाई मत दिएका हुन् । त्यो अवस्था र आवश्यकताको स्थिति अहिले पनि छ भन्ने धेरै मतदाताले अहिले पनि राम्रोसँग बुुझेका छन् भन्ने देखिएको पनि छ ।

विरोधाभासपूर्ण अवस्था के देखिएको छ भने अमेरिकामा डेमोक्रेटहरू मानवअधिकार र लोकतन्त्रको पक्षमा त छन् तर उनीहरू मानवअधिकार र लोकतन्त्रको विपक्षमा रहनेहरूप्रति पनि उदार छन् । जबकि रिपब्लिकनहरू लोकतन्त्रको पक्षमा उदार छन् तर मानवअधिकार र लोकतन्त्रको विपक्षमा रहने तथा आतङ्कवादीहरूप्रति धेरै अनुदार छन्, र यस मामलामा राष्ट्रपति ट्रम्प झनै प्रखर छन् ।