सपनीमा भए पनि आउनु न है आमा !

सपनीमा भए पनि आउनु न है आमा !


■ सुन्दर शर्मा

जोसँग सधैं साथमा रहिरहुँ जस्तो लाग्छ, जोविना सिङ्गो संसार अधुरो अनि अपुरो लाग्छ, जसको साथ र आशीर्वादले सधैं केही राम्रो गर्ने उर्जा पैदा हुन्छ अनि जोविना जीवन अकल्पनीय छ, ती महान् ब्यक्ति हुन् आमा !

जिन्दगीको यात्रामा क्षणिक साथहरू भेटिन्छन् तर आमाको जस्तो साथ कोही–कसैबाट पाउन सकिँदैन । त्यस्तै स्नेह र बात्सल्यरूपी ममताले सन्तानलाई प्रोटिन, भिटामिनको काम गर्दछ ।

आमासँग हुर्कंदै गर्दा जीवन र जगतबारे बुझ्दै जान थालेँ मैले । म छोरी भए पनि आमाका हरेक सुख–दुःखमा अभिन्न अङ्गसरि सहभागी भइरहने मौका पाएँ । उमेरको खुट्किलो चढ्दै जाँदा जीवनका भोगाइबारे अझ मिहीन तरिकाले बुझ्न थालेँ । अगाडि बढ्दै जाँदा जस्तोसुकै सङ्घर्ष गर्न पनि पछि पर्नु हुँदैन, त्यसको सामना गर्दै अघि बढ्नु पर्छ भन्ने अमुल्य ज्ञान पनि आमाबाट नै पाएँ । जीवनलाइ रंगहीन बन्न दिनुहुँदैन भन्ने कुरा पनि मैले आमासँगको संगतबाट नै जानेँ । कठिन पीडादायी दुःखमा पनि परिस्थितिसँग जुध्नुपर्छ, हिम्मत हार्नु हुँदैन भन्ने पाठ पनि उहाँबाट नै सिकेँ ।

जिन्दगी सुख–दुःखको रंगमन्च हो । यो रंगमन्चमा हामी कसरी प्रस्तुत हुन्छौँ, त्यसैमा भर पर्छ दुःख–सुख भन्नुहुन्थ्यो मेरी आमा । सुख–दुःख त हामीले जिन्दगीबारे सोच्ने र जिउने तरिकामा भर पर्छ भन्नुहुन्थ्यो उहाँ । आफूले मनमा सकारात्मक सोच राखेर जिउन जानियो भने त्यही जीवन स्वर्ग बन्छ । ‘देखासिखी तथा आडम्बर र नकारात्मक सोच बनाउनतिर लागियो भने क्षणभरमै नरक बन्छ जीवन’ भन्दै सम्झाउनुहुन्थ्यो मेरी आमा । त्यसैले सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु छोरी.., यो सत्य भनाइ कहिले नबिर्सनु, यो सत्य कुरालाई सन्जिबनी बुटीकै रूपमा सधैं ग्रहण गर्नु’ भन्नुहुन्थ्यो ।

मैले पनि जिन्दगीलाई सप्तरङ्गी अर्थात् इन्द्रेणीझैँ बनाउन धैर्यता र मिहिनेतको खाँचो पर्दोरहेछ भन्ने कुरा आमाबाट नै सिकेकी हुँ । जिन्दगी कस्तो बनाउने भन्ने कुरा तिम्रै हातमा छ छोरी भन्नुहुन्थ्यो आमा । हेर त काँडाको बीचमा पनि मीठो मुस्कानसहित गुलाबको फुल फक्रेको । हामीले त्यो गुलाबको फूल टिप्दा काँडा पन्छाउँदै फूल मात्र टिप्छौँ होइन । हो त्यस्तै हो जीवन पनि । राम्रा–नराम्रा कुराहरू जहाँ पनि हुन्छन् । राम्रा र सकारात्मक काम–कुरा ग्रहण गर्ने र नकारात्मक काम–कुरा ग्रहण नगर्ने । यसो गरिहेर त… जीवन आफैं मुस्कुराएको पाउने छौ ।

आज बिहानैदेखि मलाई आमाको सम्झनाले निकै सताउन थाल्यो । मन ब्यग्र बन्दै छ । आमा सम्झँदा मात्र पनि सङ्गीतसहितको मीठो गीत गुन्जिए जस्तो भान हुन थाल्यो । आफैसँग प्रीति गाँसे जस्तो अनुभव हुन थाल्यो । कतैबाट आमाले बोलाए जस्तो भान हुन थाल्यो । आमाका ती चाउरेका हातले मेरो टाउको सुम्सुम्याय जस्तो लाग्न थाल्यो । अनि उतिबेलै मन खुशीले रमाउन थाल्यो । नाचौँ–नाचौँ जस्तो, उडौँ–उडौेँ जस्तो लाग्यो ।

आमा जहिल्यै भन्नुहुन्थ्यो– ‘जिन्दगीमा चाहेको सबै कुरा कहाँ पाइन्छ र ? पाइँदैन ! केही कुरामा सम्झौता गर्न सक्नुपर्छ अनि बन्दछ जिन्दगी रङ्गीन ।’

कति दूरदर्शी हुनुहुँदोरहेछ मेरी आमा । उहाँले सिकाएका सबै कुरा र व्यवहारहरू अहिले समयसापेक्ष भएर उभिएका छन् ।

मेरी आमाको स्वर्गारोहण भएको सात वर्ष बितिसक्यो । अझै पनि उहाँको याद नआउने दिनै छैन भन्दा पनि हुन्छ । दिन मात्र कहाँ हो र घण्टा–घण्टामा उहाँको याद आउँछ ।

विभिन्न सांस्कृतिक रीतिरिवाज, चाडपर्व, जात्रा, महोत्सव आदि कार्यक्रममा उहाँको सम्झना झन् गाढा भएर आउँदोरहेछ ।

छन त माइतीमा दाजु–भाउजू, भाइ–बुहारी, दिदी–बहिनी सबै छन् । सबैले दर्जाअनुसारको माया तथा स्नेह बाँडिरहेका छन् । हामी दाजुभाइ–दिदिबहिनी एकापसमा सौहार्दपूर्ण वातावरण बनाएर बसेका छौँ । तर पनि आमाविनाको माइती कति खल्लो लाग्दोरहेछ । केही गुमाए जस्तो, केही अपुग जस्तो, चरीविनाको गुँड जस्तो, पानीविनाको तलाउ जस्तो, नुनविनाको तरकारी जस्तो । कुनै स्वाद नभएको खल्लो एकदमै खल्लो ।

भाद्र महिना सुरु हुँदै गर्दा मेरो मन निकै चन्चल हुँदै गा’को छ । मनमा हलचल पैदा भा’को छ । मानौँ टाढाबाट कोही आफ्नो मान्छे भेट्न आउँदै छ र कतिबेला उसलाई भेटुँ जस्तो, केही पाएजस्तो, केही नपुगे जस्तो । यस्तै यस्तै कुराले छट्पटी बढेको छ, मन तरङ्गित भएको छ ।

हिजोआज यत्रतत्र सर्वत्र घन्किरहेको तीजगीतको भाकाले मानौँ मलाई पनि माइतीमा आमासँग भेट हुने दिन नजिकिँदै छ भन्ने झुटो स्वप्निल अनुभूति भएको छ । (झुटो.. आमा हनुहन्न) सबै नेपाली दिदी–बहिनीहरू तीज अनि जन्म दिने आमाको कुरा गर्दा मेरो मनले पनि भित्रभित्र कतै आमा खोजिरहे जस्तो लाग्छ । आमासँग एकदिन भए पनि भेट्न पाए कस्तो नियास्रो मेटिने थियो होला भन्ने एक प्रकारको खुल्दुली मनमा उब्जिएको छ ।

आज त झन् बिहानैदेखि मलाई आमाको सम्झनाले निकै सताउन थाल्यो । मन ब्यग्र बन्दै छ । आमा सम्झँदा मात्र पनि सङ्गीतसहितको मीठो गीत गुन्जिए जस्तो भान हुन थाल्यो । आफैसँग प्रीति गाँसे जस्तो अनुभव हुन थाल्यो । कतैबाट आमाले बोलाए जस्तो भान हुन थाल्यो । आमाका ती चाउरेका हातले मेरो टाउको सुम्सुम्याय जस्तो लाग्न थाल्यो । अनि उतिबेलै मन खुशीले रमाउन थाल्यो । नाचौँ–नाचौँ जस्तो, उडौँ–उडौेँ जस्तो लाग्यो । यो सबै मेरो भ्रम हो भन्ने जान्दाजान्दै पनि किन होला मलाई यस्तो अनौठो अनुभव भैराखेको ।

आज सारै नै नियास्रो लागिरहेछ, प्लिज सपनीमा भए पनि आउनु न है आमा ! सुख–दुःखका बात मार्दै नियास्रो मेटाउनु छ । दिदीबहिनी र दाजुभाइका प्रगतिका कुरा सुनाउनु छ । परिवार, आफन्त अनि छरछिमेकीका रमाइला कुरा सुनाउदै नियास्रो मेटाउनु छ । अनगिन्ती रमाइला कुरा सुनाउनु छ आफ्नी आमालाई । त्यसैले त भन्छु सपनीमा भए पनि आइदिनु न है ।

घरनजिकैबाट कुनै वृद्ध महिला हिँडेको देख्दा पनि आफ्नै आमा पो हुन् कि भनी झुक्किँदै ढोका खोल्न पुग्छु । आमाका ती प्रेरणामुलक सुझावहरू घरी–घरी सम्झन मन लाग्छ– ‘खुशी खोज्न बाहिर कतै जानै पर्दैन, स–साना कुरामा आफूवरिपरि खुशी खोज्ने बानी बसायौ भने स्वर्ग त्यहीँ भेटिन्छ ।’ घरी–घरी मेरी आमाले भन्ने गरेको यो कुरा सम्झँदा साँच्चै रहेछ नि भनेर उहाँलाई नै भेटेर यी जम्मै कुराको नालिबेली फेरि सुनाउन मन ला’को छ ।

आज यो मनले जताततै आमा खोजिरहेछ । बगैंचाका फूलहरूमा उहाँको हाँसो खोजिरहेछ । भान्साका यावत कामहरूमा उहाँको ब्यस्तता खोजिरहेछ । बाटो हिँड्ने बटुवाहरूमा उहाँ हिड्ने चाल खोजिरहेछ । चराचुरुङ्गीको चिरबिर बोलीमा उहाँको बोलाओट महसुस गरिरहेछ ।

आज सारै नै नियास्रो लागिरहेछ, प्लिज सपनीमा भए पनि आउनु न है आमा ! सुख–दुःखका बात मार्दै नियास्रो मेटाउनु छ । दिदीबहिनी र दाजुभाइका प्रगतिका कुरा सुनाउनु छ । परिवार, आफन्त अनि छरछिमेकीका रमाइला कुरा सुनाउदै नियास्रो मेटाउनु छ । अनगिन्ती रमाइला कुरा सुनाउनु छ आफ्नी आमालाई । त्यसैले त भन्छु सपनीमा भए पनि आइदिनु न है ।

आफ्नो मात्र कहाँ हो र आमा ! बाढीपीडितका आँसुको वेदना सुनाउनु छ, कोरोना भन्ने भुसुने नयाँ रोगको रामकहानी सुनाउनु छ । पहिरोले पूरै गाउँ नै सोत्तर बनाएको दुःखदायी घटनाको सविस्तार वर्णन गर्नु छ । त्यसैले त म भन्दैछु आमा सपनीमा भए पनि आउनु है धेरै कुरा गर्नुछ । त्यति मात्र कहाँ हो र आमा ! आफ्नै श्रीमतीको हत्या गरी जलाउने महादुष्ट पिसाचलाइ स–सम्मान अदालतले रिहा गरेको नमिठो समाचार सुनाउनु छ । निर्मला हत्याकाण्डका दोषी हत्यारालाई पनि कति सजिलैसँग खासै ठूलो घटना होइन भन्दै छाडिदिएको दुःखद कुरा पनि सुनाउनु छ । कोरोना भन्ने नयाँ महामारी रोगको लागि औषधिजन्य सरसामान किन्दा पनि प्रशस्त भ्रष्टाचार गर्ने ठूला नामधारी द्रब्यपिसाचहरूको पनि कथा सुनाउनु छ । त्यसैले सपनीमा भए पनि आउनु न है आमा धेरै कुरा गर्नु छ ।

सपनीमा भए पनि तिम्रो त्यो चाउरेको बुढो शरीरलाई आफ्नो अङ्गालोमा कसिलोगरी बाँध्नु छ । ती तिम्रा सिथिल काँपेका हात आफ्नो शीरमा राखि अनगिन्ती आशीर्वाद थाप्नु छ । तिम्रो ममतामयी सुगन्ध जुनीभरिको लागि हृदयमा सङ्गालेर राख्नु छ । त्यसैले त भन्दै छु आमा प्लिज सपनीमा भए पनि आइदेउ न है ?! कति कुरा सुनाउनु छ । सुख–दुःख बाँड्नु छ, दुःख–सुख पोख्नु छ, सपनीमा भए पनि आउनु न है आमा प्लिज !!! म पर्खिरहने छु ।