नेपालमा कुल कोरोनासंक्रमित २९,६४५, मृतक संख्या १२६

नेपालमा कुल कोरोनासंक्रमित २९,६४५, मृतक संख्या १२६


बितेको २४ घण्टामा (४ भदौ) नेपालमा थप ७०७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् भने योसहित नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साकी एक महिला तथा दुई पुरुषको पछिल्लो २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु भएको हो ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।