नेपालमा कोभिड-१९ का कुल संक्रमित ३०,४८३

नेपालमा कोभिड-१९ का कुल संक्रमित ३०,४८३


पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शून्य रहेको मनाङमा देखिए कोरोनासङ्क्रमित

यसै क्रममा कोरोना सङक्रमित शून्य रहेको मनाङ जिल्लामा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबारजारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ ।

विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा उल्लेख छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा सङ«क्रमण पुष्टि भएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यका अनुसार सङ्क्रमित हुनेमा भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेका छन् ।

ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।

ज्ञातव्य छ, गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो । प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए ।