र पो तीजको दर खाए झैँ हुन्थ्यो !

र पो तीजको दर खाए झैँ हुन्थ्यो !


■ तिलक पौडेल

‘मेरी माया बसेको ठाउँमा, बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’, ‘स्याङ्जा जाने बाटैमा तनौं, छाडी जाने मयालाई के भनौँ’ जस्ता तीजेगीतबाट ‘ट्रेण्डिङ’मा परेका लोकगायक पशुपतिले यसपाली ‘पीर परेरै हो कि न्याउली बनमा करायो, दुईबीसेले छोयो लोर्के जोवन हरायो’ जस्ता गीतहरू युट्यूबमा अपलोड गरिसकेका छन् । गतवर्षसम्म त तीज आउनुभन्दा एक महिना अगाडिदेखि नै औकातानुसारका क्याफे, रेष्ट्रो, बैङ्क्वेटहरूमा तीजको दरखाने कार्यक्रमहरू आयोजना हुन्थे । लुगाफाटा र गरगहना प्रदर्शनको प्रतिस्पर्धा नै हो कि जस्तो हुन्थ्यो । आफ्ना अर्धाङ्गिनीलाई त्यस्ता प्रतियोगिताहरूमा भाग लियाउन सम्बन्धित लोग्नेहरूमा दुराशय मौलाउन विवश हुन्थे । कतिपयले त यस्तै गरी मनाउने चलनलाई स्थापित गर्ने हो भने त चाडहरू समाजमा बेथिति मौलाउने कारकसमेत बन्न पुग्ने भए ! भन्ने प्रतिक्रियासम्म दिएको पाइन्छ । त्यसरी बाहिर गएपछि मनमौजीपाराले वाइनदेखि स्कचसम्मको पियानले उत्तेजित शरीरलाई लाउडस्पीकरको मुटु हल्लाउने उल्लिखित जस्ता गीतहरूको धूनमा नाची टोपल्दाको थकित शरीरसँग घर फर्केकाहरू लोग्नेसँग आफ्नो लवाइखवाइ लर्तरो किसिमको भएको गुनासो गर्दै गृहकलहसम्म निम्तिएको सुन्नमा आउँथ्यो । कतै समाजमा विच्छृङ्खलताले बास माग्दै त हैन भन्ने भान पर्दै थियो ।

हुनपनि वर्षदिनसम्म घरको सुसेधन्दाबाट राहत लिने चेलीहरुको वार्षिक बिदा जस्तो लाग्दथ्यो – तीज पर्व ! आध्यात्मिक आस्थासँग तादात्म्य गराई तीजमा माइत नपठाउने लोग्ने, सासु–ससुरालाई पाप लाग्नेसम्मको त्रास देखाउँदै तीजमा लिन नजाने र घरमा ल्याइसकेर एंचोपैंचो गरेरै भएपनि तीनपहर दर नखुवाउने माइतीलाई समाजले नै अगतिलो मान्ने थिति थियो । छोरा(छोरी ठूला भैसकेपछिका आमाहरु भने कताकति मात्रै मैतालु बन्दथे । अघिल्लो दिन खँदिलो भोजन तीनपहर खाएपछि अपाच्य नहोस् भनी भोलिपल्ट देवाधिदेव महादेवको स्मरणमा श्रीमान् नभएकाले मनचिन्ते श्रीमान् पाउन र बिहे भैसकेकाले श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना स्वरूप निराहार व्रतबस्ने आध्यात्मिक प्रावधानलाई अवैज्ञानिक भन्ने ठाउँ देखिंदैन ।

जोहोस्, सम्भ्रान्ततासँगको शिष्टताले उल्लिखित बमोजिम गर्न हच्कनेमनहरूबीच पनि आफन्त र छरछिमेकहरूलाई घर-घरमा डाकेर स्पीकरमा पशुपति र समकालीनका गीतहरू घन्काएर महिनौँसम्म दरखाने लहर चल्थ्यो । कारबाहीमा पर्नु अगावैसम्म उही बिग्रेका मिठाइँबाट बनाइएको न्यूरोडे गूँदपाकदेखि अजिनोमोतो मात्र नभै कृत्रिम चिनीको चास्नीमा डुबेका डुब्लिकेट दूधेमिठाइँसमेतको बजार यस्ता चाड आएपछि ह्वात्तै गर्माउँथ्यो र जुगाड नगरिदिए लोग्नेले हुतीहाराको संज्ञा भिर्नुपर्थ्यो । घरमा कार नपाल्ने, काम गर्ने सहयोगी राख्न नसक्नेहरूकहाँ त श्रीमतीको दर खुवाउने पालो पर्ने दिन भनेको लोग्नेको कसला काट्ने दिनका रुपमा परिभाषित भैसके जस्तो लाग्दथ्यो । तदुपरान्त टोल–टोलका आमा समूह, क्लब, समाज जस्ता सामाजिक संस्थाहरूले समेत सामूहिक दर खुवाउने कार्यक्रमको आयोजना गर्ने फेसनै भैसकेको थियो । जसमा कतिपय भेटघाट त सामाजिकताको अनुपम भेलाको रुपमा पनि लिन सकिने खालका हुन्थे ।

संयोग यसपाली विगत ६ महिनादेखि कोरोना नामको मानवीय शत्रुले विश्वव्यापी महामारीको रुप लिइरहेछ । मान्छे बाहेकका कसैको रौँसम्म डगाउने हैसियत नभएको शुक्ष्माणु भाइरसले सबैको थोलो धोइदिएको छ । मान्छे मान्छेसँगै डराउनु पर्ने, दुई मीटरको सामाजिक दुरीमा रहनु पर्ने, वातावरण स्वच्छै भएपनि मास्क नलगाई हिँड्नेलाई कारबाही हुने, ‘यी त आफ्नै कार्यालयका सहकर्मी हुन्, यी त मेरा मिल्ने साथी हुन्, यी त आफ्नै इष्टमित्र हुन्, यिनीसँग त किन जोगिनु पर्छ र !’ सम्म भन्न नपाइने जस्ता व्यहोराले नपुगेर कर्फ्यू ‘निषेधाज्ञा’ लगाइएको अवस्थाले यसपटकको तीजको दर घर–घरमै र आफ्नै परिवारमै सीमितिन पुगेकोछ । सधैँ सँगै भएका जहानबीच के नाच्नु, के गाउनु ? निषेधाज्ञाले कीटनाशक औषधि छर्केकै भएपनि हरियो तरकारीसमेत भित्रिन नपाएको बेलामा के मीठो, चोखो बनाएर खानु/खुवाउनु ?

उही कवयित्री दुर्गा न्यौपानेले– ‘मान्छेहरू पापी भए, कली बढ्यो दिन्दिन ।
सत्य धर्म नासिँदैछ, हरेक छिन्छिन ।।
समयले ल्यायो बरै, कोरोनाको कहर ।
मार्नु पऱ्यो सपना र, धेरै रहर ।। भने झैं कली बढेकै हो कि ! सत–धर्म नासिएको ? जे भए पनि तीजका सपना र रहर त मरेकै हुन् । यस्तो बेलामा के दर खुवाइ भयो र !? प्रवेशिँदै गरेको तथाकथित् आधुनिकतामा क्रमभङ्गता भित्रियो – यसपटक !
मेरा आदरणीय दाजू बुद्धिबहादुर क्षेत्रीले चार दशक पहिले –
न दिदी घरमा छन् भाइ भनने, न बैनी दाजू भनी ।
बिना गन्ध फूल फुलेछ वनमा, भने जसो भयो नि ! भनेर तिहारको सन्दर्भमा लेख्नु भएको श्लोक आज मलाई तीजको सन्दर्भमा पनि खड्किन पुग्यो । हुनपनि दाजू–भाइ, दिदी–बैनीको सरोकार भनेको मूलतः चाडबाडको हिसाबले तीज र तिहारमै रहेछ । मेरा बुवाका दाजू–भाइ, दिदी-बैनी कोही थिएनन् । परिणाम वहाँ तीजमा दिदी-बैनी लिन त जानु परेन नै, हामी ठूला भएपछि कतिपय दौंतरीहरू ‘फुपु लिन जाने भैयो, निपर्सी तीजको दरखाने दिन रुच, भोलि त स्कूल नगै फुपुकहाँ जाने हो । पर्सी बेलुकासम्म त फर्कनै पर्ने भयो’ भन्दा पनि मनमा कता–कता, के–के नपुगे जस्तो लाग्दथ्यो । आज यहीं काठ्माडौंमै भएका दिदीबैनीहरूलाई पनि सँगै राखेर परम्परागत दर पनि खान–खुवाउन पाइएन । बरु यसै आलेखमार्फत् सबै दिदीबैनी, फुपुहरुलाई र परिवारजनहरुलाई स्वस्थ एवं सुरक्षित हिसाबले तीज बितोस् भन्ने शुभकामना टक्र्याउन चाहन्छु ।

हुनपनि बा-आमाले ठुला गराका कान्लाको खर र बन्सो तीजलाई घाँस भनेर पालिराख्नु हुन्थ्यो । त्यही साँची राखेको घाँस दरखाने र तीजका दिनलाई भनेर अघिल्ला दिनहरूमै जगेडा काटेर वस्तुभाउलाई अभाव हुन दिइँदैनथ्यो । प्रायस् सबैको घरमा कम्तीमा पनि लैनो, बकेर्नो गरी दुइटा भैंसी हुन्थे । गाईहरू पनि बिहाएका हुन्थे । बुवाले बिहान–बेलुका एकातिर बिँड र अर्कोतिर कडा भएको ठूलो फलाएँ (फलामको) कुँडेभरी दूध अँगेनामा पकाउँदै मानेडाडुले तहऱ्याए (चलाए)को दृष्य अझसम्म आलै छ । राम्रोसँग तहर्एर पकाएको दूधमा बाक्लो तर लाग्दथ्यो । दारको ठेकाको महीको काँठोलाई माझ्न झुस डढाएर मकैको खोइलो (खोयो) बनाएको हुन्थ्यो । बुवाले आँगनको छेउमा लगेर त्यसैको लुँडो बनाई तातोपानीसँगै ठेको माझ्दाको स्याईं–स्याईं आवाज सुन्दा छुट्टै रमाइलो लाग्दथ्यो । त्यस्ता दारका ठेकामा राम्ररी पकाएको दूधलाई दर खाँदालाई भनेर एक दिन अगावै दही जमाइन्थ्यो । त्यसरी जमाएको दहीको तर खान मलाई बहुत रहर लाग्दथ्यो, तर मोहोट्याएर एक डाडु पनि खान सक्दैनथें ।

दरखाने दिनको आज्जसो गाउँमा सबै घरहरूमा दिदि–बैनी, फुपुहरू जम्मा भैसकेका हुन्थे । ‘तीजको रहर आयो बरिलै’, हातको थपरी मारेर घरी एउटा घर, घरी अर्को घरको आँगनमा तीजका गीत गाएर नचरी लगाउँथे । हामीहरू त्यो रमाइलो टिना (टिनु) लाएर हेर्थ्यौं । मन–मन नाचौँ–नाचौँ भएपनि र दिदीहरूले नाच न बाबु ! भने पनि सर्मले उछार दिंदैनथ्यो । रातैराता धोती, चोली लगाएका दिदीबैनीहरूको गीतमा मुरली बजाउँदा ‘बाबुले त कस्तो राम्ररी मुरली बजाम्दा रुचन्’ भन्ने प्रतिक्रिया सुन्दा झन् हौसिई-हौसिई बजाइरहन मन लाग्दथ्यो । बा-आमाहरूले पनि आफ्नो आँगनमा गाउने-नाच्ने गर्दा हेर्ने फुर्सद निकाल्नु हुन्थ्यो । कतिपय आमाहरू त बैँसको सम्झना गर्दै आफ्ना पालाका गीत गाउने–नाच्ने पनि गर्नुहुन्थ्यो । ‘साउकी छोरी सुशीला, घर जान हिँडेकी, उकालीमा भरिया हेर बरिलैु सिलसिलेवार कथा उनिएका गीतहरू गाइन्थे । कतिपय दिदीबैनीले आफ्ना घरतिर घटेका मूलत: दुस्खद घटनाका बारेमा जुराएका गीत सुनाउँदा आमा–बुवाहरू ‘विचरा ! ‘च्व, च्व!’ गरी साहानुभूति प्रकट गर्नुहुन्थ्यो ।

बुवाले दर खाँदाका बिहान गोठको धन्दा सकेपछि मलाई पनि तात्तातो दूध ख्वाएर सानो डोकोमा घाँस ल्याउन साथै लानु हुन्थ्यो । त्यै बेलामा दुई-चार जना दिदीबैनीहरू जम्मा भएर हाम्रै घरमा गीत गाएको सुन्दा चाँडै डोको भरेर घर जान पाए, हेर्न–सुन्न हुन्थ्यो भनी चाँच्चाँडो (चाँडो–चाँडो) घाँस काट्ने गरिन्थ्यो । एकपटकको तीजमा त्यसै गर्न खोज्दा झन् सानो सर्प देखेर अत्तालिएछु र वायाँ हातको कान्छी औंला नराम्ररी काट्यो । झट्टपट्ट बुवाले सलहझारका पात मिचेर, रस घाउमा चुहाइदिनु हुँदा चहऱ्याएको सम्झनाले अहिले पनि आङ सिरिङ्ङ हुन्छ । पछि बुवाले आफूले काटेको घाँसले मेरो डोको भरिदिई मलाई घर जाऊ भनी आफू आउँदा भिरिङ्गी झार पनि खोजेर ल्याउनु भएको सम्झना हुन्छ । हुनपनि त्यो झारलाई पिनेर मसिनो बनाई घाउमा लगाइदिएपछि निको नभै त्यसको पाप्रो उप्किँदैनथ्यो । कति प्रभावकारी थिए, हाम्रो झारबुटी (जडीबुटी) औषधिहरू ! घर आउँदा आमाले झिनुवाको खाजा, बोडी तामाको तरकारी, अदुवाको राग आउने गरी पकाएको घिरौंलाको घोटुवा (पानी नहाली किटको कराहीमा घोटिर पकाएको, त्यो तरकारी मलाई अहिलेसम्म सारै मीठो लाग्दछ), दूधे कर्कलाको अचार, कलेजा परेको दही, बाक्लो हुने गरी पकाइएको गुलियो-गुलियो दूध सहितको दरखानेको पहिलो पहरको खाना तयार पारिसक्नु भएको हुन्थ्यो । कामले भोकाएको भएर पो हो कि ! त्यो खाना सारै मीठो लाग्दथ्यो र सधैं दरखाने आइदिइरहे जस्तो लाग्दथ्यो (बाल मस्तिष्कको कल्पना !) हुन पनि मीठा-मीटा परिकारको तीनपहर दरखाने चलन थियो ।

दिउँसोको खानामा अनदिको चाम्रेरलट्टे र बोडीका बिरिम्ला (भिजाएका बोडीलाई पानी नराखी घ्यूमा भुटेर मरमसला हालेर पकाइएको)को परिकार थपिएको हुन्थ्यो । दूधको तरसँग लट्टे मुछेर खान सारै मन लाग्ने तर मोहोट्याउने हुँदा बोडीका बिरिम्ला र कर्कलाको अचार त कति हो कति खाऊँ जस्तो लाग्दथ्यो । बिहानको खानापछि दिदीबैनीहरू पालैपालो घर–घरमा गाउने–नाच्ने गर्दथे । हामीकहाँ छोरी–चेली नहुँदा आमाले वल्तिर/पल्तिरका दिदीबैनीहरूलाई एकपटक हामीकहाँ पनि आएर गाइदिन भन्नुहुन्थ्यो । सबैजना आएर नाच्दा-गाउँदा सारै रमाइलो हुन्थ्यो ।

साँझखेरि बिहान रहेरबँचेको दूधसहित बेलुकाको दूध मिसाएर चाक्लो मुख भएको ठूलो ढलोटे भड्डु (भाँडो विशेष)मा बुवाले जरपनी (लामा–लामा दाना हुने चामल विशेष) को मसाउरो (खीर) घोटी–घोटी पकाउनु हुन्थ्यो । चिनी नै नहाले पनि गहकिलो गुलियो हुन्थ्यो– खीर ! आमाले आलु र काँक्राको ट्वाक्क पीरो, अमिलो मिलेको अचार तयार पार्नुहुन्थ्यो । बाहिर ‘शिरमा लाउनी शिरफूल, ओछेनमा खसेछ, सौताने नारिदले पाइच बरिलै’, ‘सउचउ त मुखिया निया निसाप गरिदेऊ, सउतैनौ मुखिया मुग्लानको वास’, ‘मागु भने दिदिन, लरू भने सउतिन, लाई बाबा लाई मलाई, सौताने नारिदलेलाई बनीवास’ जस्ता गीत गाएर नचरी लगाएका हुन्थे । भोलिपल्ट भोक नलागोस् भनेर बाह्र/एक बजेतिर मसाउरो खाइन्थ्यो र पो तीजको दर खाए झैं हुन्थ्यो !

‘सके सपारौं, नसके नबिगारौं‘