‘एक जना सङ्क्रमित पत्ता लगाउन रु. १,०४,६३० खर्च लाग्ने’ सरकारी दाबी

‘एक जना सङ्क्रमित पत्ता लगाउन रु. १,०४,६३० खर्च लाग्ने’ सरकारी दाबी


नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन रु एक लाख चार हजार ६ सय ३० खर्च भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो दाबी गरेका हुन् ।

प्रवक्ता गौतमकाअनुसार अहिलेसम्म ३० हजार ४ सय ८३ संक्रमित पत्ता लगाइएको र रु. पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको छ ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको प्रवक्ता डा. गौतमको भनाइ छ । यसका लागि (पिसिआर परीक्षण) रु. तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको छ ।

उनले भने– ‘एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । त्यसैले जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।’

प्रवक्ता गौतमले घरबाहिर निस्कनै पऱ्यो भने दुई मिटरको दूरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गरे ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ । यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् ।

डा. गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ छन् । संक्रमित शून्य रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् । संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न आग्रह गर्दै उनले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लागि समस्या झनै थपिने प्रष्ट्याए ।