गण्डकी प्रदेशमा शनिबार (६ भदौ) थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ ।
डा. शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एकहजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् । हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केश छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् । त्यसैगरी भारतबाट १२ हजार ९१५ र तेस्रो मुलुकबाट ६ हजार १९८ गरी जम्मा १९ हजार ११३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।
चितवनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
पुरानो मेडिकल कलेज (भरतपुर, चितवन)मा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।
उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उनको पोजेटिभ आएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको छ । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ ।
प्रतिक्रिया