कोरोना सङ्क्रमणबाट भरतपुर अस्पतालमा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट भरतपुर अस्पतालमा थप एकको मृत्यु


कोरोना भाइरस सङ्क्रमणबाट चितवनमा शनिबार थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

महिलाको मृत्युएसँगै शनिबार साँझ कोरोना जाँचको रिपोर्ट पोजिटिभ आएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै साँझ मृत्यु भएको हो ।

बताइएअनुसार कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

यस्तै, सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाका कारण नेपालमा हालसम्म १ सय ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।