ऋषिपञ्चमी नुहाउन गएका तीन बालिका वाग्मतीमा बेपत्ता

ऋषिपञ्चमी नुहाउन गएका तीन बालिका वाग्मतीमा बेपत्ता


आरके श्रीवास्तव, रौतहट

रौतहटस्थित बागमती नदीमा नुहाउने क्रममा तीन बालिका बेपता भएका छन् । गढ़ीमाई नगरपालिका धर्मपुरस्थित नदीमा नुहाउन गएका तीन बालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आइतबार (७ भदौ) बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीयवासी महिलालाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रविराज खड्काले जनाए अनुसार ऋषिपञ्चमीका अवसरमा बिहान करिव १० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदानुहाउँदै अचानक बेपत्ता भएका थिए ।

सो घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको छ । बालिकाहरुको खोजतलासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली संलग्न रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीहरुद्वारा खोजि भइरहेको र अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।