रुपन्देहीको गैडहवा गाउँपालिका ३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् ।
बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न पिसीआर परीक्षण हुँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले जानकारी दिएअनुसार कोरोना पोजेटिभ देखिएपछि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल स्थानान्तरण गरिएको थियो ।
उनको मृत्युसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ भने कोरोना सङ्क्रमित ६ सय ७४ छन् ।
प्रतिक्रिया